प्रदेश २ को नामाकरण र स्थायी राजधानीबारे सुझाव संकलन गर्न गठित सम्वाद तथा सुझाव आयोगले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज पत्रकार सम्मेलन गरी आयोग अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएका हुन् ।
आयोगले प्रदेशका आठवटै जिल्लाका सदरमुकाम पुगेर स्थानीय जनप्रनिधि, प्रदेशसभा सांसद, नागरिक समाज, संघसंस्था तथा पत्रकारसँग छलफल तथा सम्वाद गरी प्रतिवेदन तयार गरेको हो ।
आयोग गठन भएको ४५ दिनभित्र प्रतिवेदन तयार पारी प्रदेश सरकारलाई बुझाउनुपर्ने समयसिमा दिइएको भएपनि समय पर्याप्त नभएको भन्दै म्याद थप गरी ६ महिनापछि मात्र प्रतिवेदन बुझाएको हो । प्रदेशभरि जम्मा आठ सय जनाको सुझाव संकलन गरी आयोगले ६४ पानाको प्रतिवेदन तयार पारेको हो । तर अयोगको प्रतिवेदनमा भने बहुसंख्यकले राजधानी र नामाकरणको विषयमा राखेको मत गोप्य राखिएको छ । मुख्यमन्त्री राउतलाई प्रतिवेदन बुझाउँदै आयोग संयोजक झाले प्रदेश सरकारले प्रजातान्त्रिक विधि अपनाएर स्थायी राजधानी र नामाकरणको विषयमा जनताको जनभावना समेट्ने प्रयास गरेको बताए ।
मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदनमाथि मन्त्रिपरिषदमा छलफल गरि नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेश सभामा लैजानै बताए । उनले प्रदेश नामाकरण र राजधानीको विषयमा अब चाँडै नै प्रकृया अगाडि बढाइने बताए ।
प्रतिवेदनबाट आएका कुराहरु जनताको मत रहेकाले यसले प्रदेशको राजधानी र नामाकरणको विषयमा निष्कर्ष निकाल्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । प्रदेशको नाम, राजधानी र भाषा टुंगो लगाउन २०७५ कात्तिक ११ गते प्रदेश २ मन्त्रिपरिषद बैठकबाट डा.हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन भएको थियो ।