नेपाली कांग्रेसको बिगत हेर्ने हो भने बीपी कोइरालाको पालामा सभापतिमा मात्र निर्वाचन हुने व्यबस्था थियो। केन्द्रीय कार्य समितिका पदाधिकारीदेखि सबै सदस्यहरु मनोनित गर्ने चलन थियो। त्यसको धेरै बर्षपछि झापाको कलबलगुडीमा भएको आठौं महाधिबेशनमा पनि सहमतिबाटै सभापतिको मात्र निर्वाचन भयो, पदाधिकारी र सदस्यहरु मनोनयन गरियो। सभापतिसहित पाँचवटै विकास क्षेत्रबाट एक एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यबस्था काठमाडौंमा सम्पन्न नवौं महाधिबेशनमा भएको हो।
कांग्रेसको स्थापना कालदेखि अहिलेसम्मको यात्राका क्रममा विधानलाई मात्र हेर्ने हो भने पनि नेपालमा मात्र होइन, दक्षिण एसिया र अन्य मुलुकमा पनि निर्वाचन प्रणालीलाई आन्तरिक लोकतन्त्रको प्रमुख आधार मान्ने हो भने नेपाली कांग्रेसमात्र एउटा यस्तो राजनीतिक दल हो जसको वडा तहबाट निर्बाचित हुँदै आएका प्रतिनिधिले केन्द्रीय नेतृत्व चयन गर्दछन्। कुनै पनि देशमा लोकतन्त्र छ कि छैन भनेर हेर्दा त्याहाँका सार्बभौम जनताले निर्वाचन प्रणालीमार्फत आफ्ना प्रतिनिधि चयन गरेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ। निर्बाचन प्रणालीमार्फत चयन गरिएको छ भने लोकतन्त्र छ होइन भने लोकतन्त्र छैन भन्ने मान्यता राखिन्छ।
त्यस्तै, कुनै पनि दलमा आन्तरिक लोकतन्त्र छ कि छैन भन्ने बिषय त्यसभित्र निर्वाचन प्रणाली छ कि छैन भन्ने कुराले निर्धारण गर्दछ। लोकतन्त्र भनेको सिद्धान्तमात्र होइन, प्रकृया पनि हो। प्रकृया छैन भने त्यो प्रजातन्त्र निरर्थक हुन्छ। त्यसकारण निर्वाचन प्रणालीलाई त्यो अर्थमा अध्ययन गर्यौ भने मलाई लाग्छ नेपालमा कांग्रेसमात्र एउटा यस्तो दल हो जसको सबै तहमा मतपेटिका थापेर मतदान गरेर प्रतिनिधि छनौट गरिन्छ। अहिले हामी १४ औं महाधिवेशनको तयारीमा छौं। त्यसका लागि महासमिति बैठकबाट विधान संशोधन गरी राज्य पुनर्संरचनालाई देशको संविधान अनुसार जसरी कार्यान्वयनमा ल्याइएको छ त्यसैगरी कांग्रेसको तल्लो तहसम्मबाट निर्वाचन प्रणालीमार्फत प्रतिनिधि चयन हुने व्यबस्था मिलाएका छौं। कांग्रेस सांसद राधेश्याम अधिकारी संयोजक रहनु भएको निर्वाचन समितिले ६ हजार ७४३ वडाका लागि मतदाता नामावली प्रकाशित गरेपछि मात्र हाम्रो निर्वाचन प्रकृया शुरु हुन्छ।
निर्वाचन प्रणालीका दुर्गुण पनि नभएका होइनन्। देशमा निर्वाचन हुँदा दलीय आधारमा हुन्छ। पार्टी नेतृत्वका लागि जति जना प्रतिस्पर्धामा उत्रन्छन्, त्यस अनुसार समूह बन्छ। र त्यसले गुटको निरन्तरता कायम रहन्छ। आजको दिनमा निर्वाचन प्रणालीजन्य दुष्परिणाम र गुटबन्दी बेहोर्न बाध्य छौं हामी। त्यसलाई कसरी व्यबस्थापन गर्ने र कसरी न्यूनिकरण गर्ने भन्ने नै अहिलेको मुख्य सवाल हो।
निर्वाचन प्रणालीमात्र होइन, नीति र नेताका बिषयमा पनि बहस आएका छन्। मेरो मनमा पनि कहिलेकाँही प्रश्न उठ्छ नीति मानव निर्मित हुन्छ कि मानव नीति निर्मित हुन्छ? कुनै पनि संस्थाको प्रमुख हुनु मात्र पर्याप्त हुदैन, नेतृत्वमा हुनुपर्ने गुण र क्षमता प्रमुख बिषय हो। किनकि नेतृत्व क्षमता भएन भने व्यापारिक संस्था छ भने मुनाफा आर्जन हुँदैन। सामाजिक संस्था छ भने सामाजिक सेवा दिन सक्दैन। राजनीतिक संस्था छ भने राजनीतिक लक्ष्य र उद्धेश्य पूरा गर्न सक्दैन।
कुनै संस्थाको प्रमुखमा आफ्नो संस्थाको लक्ष्य र उद्धेश्य कस्तो बनाउने भनेर कल्पना गर्न सक्ने क्षमता हुनुपर्छ। कल्पना अनुसारको नीति बनाउन नसके लक्ष्य र उद्धेश्य हासिल हुन सक्दैन । त्यसकारण नीति र नेतृत्व एकअर्कासँग जोडिएका बिषय हुन्। यसमा कांग्रेसका धेरै कमिकमजोरी भएका छन्। तर इतिहासलाई तुलना गरेर हेर्ने हो भने हामी धेरै अगाडि बढेका छौं। जसरी धेरै अगाडि बढेका छौं, त्यसैगरी कमजोरी पनि बढेका छन्। ती कमिकमजोरीको व्यबस्थापन गर्नु आजको प्रमुख चुनौती हो।
परिवर्तनका एजेण्डा
राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका तीनवटा अपरिवर्तनीय आदर्श हुन्। तीनवटै सिद्धान्त, आदर्श र दर्शनको पहिलो शर्त र पहिलो तत्व भनेकै जनता हो। यसैगरी अन्तिम शर्त र अन्तिम लक्ष्य पनि जनता नै हो। राष्ट्रियताको आधार जनता हो र राष्ट्रियता संबद्र्धन गर्ने उद्धेश्य पनि जनताकै लागि हो। लोकतन्त्रको आधार जनता हो। लोकतन्त्रको अन्तिम तत्व पनि जनता हो। समाजवादको पहिलो सर्त र अन्तिम लक्ष्य पनि जनता नै हो, जनताको समृद्धि हो। सबैको केन्द्रीय पात्र जनता नै हुन्।
२०४६ को परिबर्तनको स्वामित्व सबैले ग्रहण नगरेका कारण नयाँ प्रणाली आवश्यक भएको हो। २०६२, ०६३ को परिवर्तनपछि संविधान सभाले नयाँ संविधान बनायो। राज्यको पुनर्संरचनासँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली शुरु भएको छ।
राजनीतिक व्यबस्थासँगै संविधानको मूल बिशेषता हेर्दा मूलतः पाँचवटा परिबर्तन भएको छ, राजतन्त्रको ठाउँमा गणतन्त्र, एकात्मक राज्य संरचनाको ठाउँमा संघीय राज्य संरचना, नेताहरुको उदारतामा रहेको समाबेशितालाई संविधानमै व्यबस्था गरिएको छ। एकै किसिमको प्रत्यक्ष निर्वाचन प्रणालीमा समानुपातिक निर्बाचन प्रणाली थपेर मिश्रित निर्वाचन र हिन्दू राज्यको ठाउँमा धर्म निरपेक्ष राज्य। धर्मनिरपेक्षताका बारेमा पनि कतिपयमा भ्रम छ। धर्म निरपेक्षताको पहिलो र अन्तिम शर्त भनेको धार्मिक स्वतन्त्रता हो।
परिबर्तनका लागि हिजोका दिनमा बन्दुकको बाटो प्रयोग गरिएको थियो। कांग्रेस, एमाले र माओवादीले पनि बन्दुक प्रयोग गरे। आजका दिनमा गोइत, ज्वाला सिंह, बिप्लब सबैले कुनै न कुनै रुपमा हिंसाको बाटो प्रयोग गरिरहेकै छन्। नेपालमा भएका परिबर्तनको तुलनात्मक अध्ययन गर्दा अहिंसा र शान्तिबाट आएको परिबर्तन टिकाउ हुन्छ भन्ने हाम्रो बिश्वास छ। र त्यस्तो परिवर्तन उपलब्धीमूलक पनि हुन्छ। परिबर्तनपछिको प्रणाली संचालन पनि शान्तिकै बाटोबाट हुनु पर्दछ।
यति ठूलो परिबर्तनपछि पनि कांग्रेस र अन्य लोकतान्त्रिक शक्तिहरुमा द्धिबिधा देखिएको छ। खासगरी संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताबारे अन्यौल छ। राजनीतिक प्रणाली, समाबेशिता,राष्टियता,आरक्षण, भाषा, समाजवाद, सुरक्षा प्रणाली आदिबारे प्रष्ट हुनु पर्दछ।
अहिले पनि कांग्रेसका कतिपय साथीहरु बीपीको कुरा छाडेर माओवादीको पछाडि लाग्दा कांग्रेसको यो गति भएको हो भन्नु हुन्छ। त्यसो हो भने हाम्रो नेतृत्वमा भएको परिबर्तन हाम्रो लागि ठीक थिएन भने हामी किन गर्व गर्छौं त हामीले ल्याएको परिबर्तन भनेर? हामीले भुल्न नहुने कुरा के हो भने कम्युनिष्ट बाहुल्यता भएको पहिलो संविधान सभाले नयाँ संविधान जारी गर्न सकेन। दोस्रो संविधान सभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेपछि प्रतिकूल राजनीतिक बिचारधाराका बाबजुद कांग्रेसका तत्काली सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेको हो। त्यसकारण आजका दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हाम्रो नेतृत्वको सरकारले जारी गरेको हो भनेर हामी गर्व गरिरहेका छौं।
तल्लो तहका कार्यकर्तामात्र होइन, कांग्रेसकै उपल्लो तहका कतिपय नेताहरु पनि यसबारे अझै प्रष्ट हुनुहुन्न। यो प्रणाली हामीले लतारिएर ल्याएको भनेर जनताको बीचमा भन्यौं भने लतारिनेको पछाडि किन लाग्ने भनेर जनताले प्रश्न गर्दैनन्? अनि त्यो बेला कांग्रेसको पछाडि किन आउँछन् मान्छे? स्पष्टसँग भन्न सक्नुपर्छ, हामीले ल्याएको गणतन्त्र जनताका लागि हो। हामीले ल्याएको संघीयता जनताका लागि हो। समाबेशिता जनताको लागि हो। मिश्रित निर्वाचन प्रणाली जनताका लागि हो । धर्म निरपेक्षता जनताका लागि हो। हामीले ल्याएका यी सबै परिबर्तनको आधार राष्ट्रियता, लोकतन्त्र र समाजबादी सिद्धान्त नै हो। कि त भन्न सक्नुपर्छ यो प्रणाली ठीक छैन भनेर। म त भन्छु यो प्रणाली ठीक छ। परिमार्जन गर्दै, सुदृढ गर्दै जानुपर्छ।
परिबर्तनसँगै संविधान जारी भएपछि राजनीतिक काम सबै सकियो भन्ने हामीलाई लागेको थियो। तर त्यस्तो होइन रहेछ। अहिले पनि प्रदेशहरुले अधिकार पाएका छैनन्। संविधानमै उल्लेख भएका अनुसूचिको प्रावधानले जुन संरचनाको माग गर्दछ, त्यो निर्माणका लागि अग्रसर भएर कानुन बनाउनु पर्नेमा संघीय सरकार र राजनीतिक दलहरु उदासिन भएका छन्। केन्द्रीकृत शासन व्यबस्था कायम गर्न कम्युुनिष्टहरु लागेका छन्। त्यसका बिरुद्ध कांग्रेसले नेतृत्वदायी भूमिका निर्बाह गर्नुपर्दछ। प्रजातन्त्रबादीहरु के कुरामा प्रष्ट हुनु पर्दछ भने कम्युनिष्टहरु जनबादी केन्द्रीयतामा बिश्वास गर्दछन्। जनताको जनबादमा बिश्वास गर्दछन्। उनीहरु लोकतन्त्रबादी होइनन्। संघीय प्रणालीमा पनि बिश्वास गर्दैनन्। उनीहरुबाट यसको संरक्षण हुनै सक्दैन।
संविधान जारी भएपछिको निर्वाचनमा जनताले कांग्रेसलाई मत दिएन। संविधान जारी गर्न र चुनाव गराउनमै हाम्रो ध्यान केन्द्रित भयो। चुनाव नगरे संविधान असफल हुन्छ भन्ने चिन्ताले गर्दा हाम्रो ध्यान चुनाव कसरी गराउने भन्नेमै केन्द्रित भयो। तानाशाही संविधान नबनोस् भन्नेमा केन्द्रित भयौं। चुनाव कसरी जित्ने भनेर गृहकार्य गर्न सकेनौं। यसका साथै गुटबन्दी र साथीहरुको महत्वकांक्षा व्यबस्थापन गर्न सकेनौं।
आजको प्रमुख चिन्ता र सरोकार भनेकै संघीय लोकतान्त्रिक शासन प्रणाली र संविधानको रक्षा हामीले गर्ने कि नगर्ने भन्ने नै हो। अनेकौं कमिकमजोरीका बाबजुद निर्माण भएको घरको रक्षा गरौं। घर टिकाउन सक्यौ भने झ्याल ढोका थप्ने र रंगरोगनको काम पछि गरौंला। घर नै भत्कियो भने के मा सिंगारपटार गर्ने? आजको दिनमा संविधान र राजनीतिक प्रणालीमाथि अहिलेको सरकार र सत्ताधारी दलबाट खतरा छ। साथै परम्परागत शक्ति र दक्षिणपन्थीहरुबाट पनि उत्तिकै खतरा छ। त्यसकारण कांग्रेस नै एकमात्र लोकतान्त्रिक पार्टी भएकोले परिबर्तनको रक्षा गर्ने मूल जिम्मेवारी पनि कांग्रेसकै हो। आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनु सरकार बनाउनका लागि मात्र नभई परिवर्तनलाई जोगाउनका लागि पनि हो भन्ने कुरा मतदातालाई बुझाउन सक्नु पर्दछ।
त्यसैले कांग्रेसको १४ औं महाधिवेशनलाई अढाई बर्षपछि हुने राष्टिय निर्बाचनसँग जोडेर हेर्नु पर्दछ। त्यसाका लागि कांग्रेसलाई बैचारिक रुपमा प्रष्ट र साँगठनिक रुपमा सुदृढ गर्नु पर्दछ। नेपाली कांग्रेसभित्र र देशभित्र पनि बैचारिक आधारमा एकताको आवश्यकता छ। त्यस्तो एकता व्यक्ति नभई बिचार केन्द्रित हुनु पर्दछ। नेतृत्वको चयन सर्बसम्मतिबाट हुन सक्दा एकता र बिश्वासको सन्देश सर्बत्र प्रबाहित हुन्छ।
(सवल कांग्रेसका लागि आन्तरिक लोकतन्त्रः सिद्धान्त र व्यवहार विषयमा प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबार आयोजना गरेको जुम कन्फरेन्समा व्यक्त बिचार)