के तपाईं नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ ? यदि तपाईंको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ ।
तर तपाईंको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाईंको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणकर्ताहरूको उक्त प्रतिवेदन युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’मार्फत सार्वजनिक भएको हो ।
अध्ययनका लेखक तथा कोरियाली विश्वविद्यालयका डा. जोङ द्वितीय चोईले मादक पदार्थ सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरी अध्ययन गरिएको जानकारी दिए । मादक पदार्थ थोरै-थोरै नियमित सेवन गर्नेभन्दा कहिले-कहिले धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनबाट थाहा भएको उनले बताए ।
उनले अनियमित सेवनबाट मुटुमा धेरै असर गरेर मुटुसम्बन्धी समस्या बढी सिर्जना गर्ने गरेको पनि बताए । उनका अनुसार अनियमितताले मुटुको धड्कन बढ्ने, नाडीको रफ्तारलाई बढाउने वा अनियमित बनाउने, स्याँ-स्याँ हुने, धेरै थकाई लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या उनीहरूमा देखिने गरेको छ ।
मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कुल मात्रा वा मादक पदार्थ सेवनको कुल संख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दाबीसाथ भन्न भने अझै नसकिने विश्लेषण पनि छ ।
अध्ययनकर्ताहरुले यो सर्वेक्षणमा ९७ लाख ७६ हजार ९ सय ५६ जनालाई सहभागी गराइएको जानकारी दिएका छन् । सन् २००९ देखि सुरु भएको अध्ययन सन् २०१७ सम्म चलेको थियो । -रासस