मानिसको जीवनको सबैभन्दा ठूलो उपलब्धि नै खुसी हो । सबै आफ्नो जिन्दगी खुसीमै जीउन चाहन्छन् । जहाँ तिनीहरु सधैं खुसी रहन सकून् र कुनै दुःख, चिन्ताले नछोओस् । तर, सबैको जिन्दगीमा तनाव र दुःख त हुन्छ नै अब सोच्नु यो छ कि यी सबैलाई टाढा गरी खुसी जीवन कसरी जिउने ? खुसी जीवन सबैले चाहन्छ । यद्यपि सबैले आफ्नो जीवनलाई खुसी तुल्याउन भने सक्दैन ।
सफल जीवन पनि खुसीको एउटा अंश हो । यही खुसी प्राप्त गर्ने नाममा हामी जीवनलाई कसरी सफल बनाउने भन्नेमै जुटिरहेका हुन्छौं । कसरी सफलता प्राप्त गर्ने ? भन्ने प्रश्नले हामीलाई सधैं पछ्याइरहेको हुन्छ । सफलता पाउन, जीवन खुसी तुल्याउन त्यहीअनुरुपको लगाव, श्रम आवश्यक हुन्छ । सफलताका लागि लक्ष्य बनाउनुपर्छ साथै सार्थक प्रयास पनि ।
हामी हरेक दिन नयाँ योजना बनाउँछौं । जीवनमा के गर्ने, कसरी सफलता पाउनेमै घोत्लिन्छौं । यद्यपि सोचेअनुरुप हुँदैन ।
सफलताका लागि हरेक महिना कम्तिमा एउटा राम्रो बानीको विकास गरौं । कुनै कुलत छ भने छाडौं, अल्छीपन छ भने त्यागौं । बिहान अबेरसम्म सुत्ने बानी छ भने चाँडै उठ्ने अभ्यास गरौं । फलफूल सेवनमा जोड दिऔं । क्रमशः आफूमा यस्तो सुधार ल्याउनुहोस् कि, जसले तपाईंको जीवनलाई उत्कृष्ट तुल्याउन सक्छ, यानि खुसी ।
तपाईंले पहिले पनि सुनिसकेको कागको कथा पुनर्ताजगीका लागि प्रस्तुत गरेका छौं ।
एउटा काग जुन आफ्नो जीवनदेखि दुःखी थियो । कागलाई लाग्थ्यो कि ईश्वरले उसलाई केही पनि दिएनन् । न रुप न राम्रो आवाज । उसलाई आफ्नो रुप, आवाज राम्रो होस् भन्ने सधैं लागिरहन्थ्यो । अरुको जीवन खुसी देख्थ्यो । तर आफ्नो जीवनमा खुसी हुने कुरै नभएको मान्थ्यो । यही क्रममा उसले कोइलीतर्फ विचार गर्दै सोच्यो उसको आवाज कति राम्रो छ सायद ऊ निकै खुसी होला भन्ने सोच्यो । वास्तविक सोध्ने सोध्ने मनसायले कोइली सामु गयो र भन्यो- ‘तिम्रो यति मीठो आवाजबाट त निकै खुसी छौ होला नि ?’ त्यसपछि कोइलीले भन्यो बरु बकुल्लासँग राम्रो गला र रुप छ । सायद ऊ मभन्दा धेरै खुसी होला । मेरो त गला मात्रै त हो नि रुप राम्रो छैन । काग बकुल्लासँग गयो र भन्यो- ‘ईश्वरले तिमीलाई रुप र गला राम्रो दिएका छन् । तिम्रो जीवनमा त खुसी होला हैन ?’ त्यसपछि बकुल्लाले भन्यो मेरो के राम्रो रुप छ र । सबै सेतो मात्रै त हो नि बरु मभन्दा त सुगा राम्रो छ । रुप राम्रो, विभिन्न रङको आवाज पनि मीठो । त्यसपछि कागले सोच्यो कुरा त ठीक हो । अनि सुगासँग गएर सोध्यो- तिम्रो आवाज मीठो, रङ थरीथरीको रुप पनि राम्रो त्यसैलै तिमी आफ्नो जीवनदेखि त खुसी हौला हैन ? सुगाले सोच्दै जवाफ दियो, सायद मभन्दा धेरै खुसी त मयूर होला । कागले भन्यो, ‘कसरी ?’ मलाई त ईश्वरले केवल २ वटा मात्रै त रङ दिएका छन् । मयूरलाई कैयौं गुणा धेरै रङ दिएका छन्, स्वर पनि मीठो दिएका छन्, नाचेको पनि बिछट्टै राम्रो । उसको नाच हेर्नकै लागि मानिस लालयितसमेत हुन्छन् । मयूरसँग त मानिसले पनि सेल्फी खिच्छन्, माया गर्छन् । त्यही भएर मभन्दा मयूर आफ्नो जीवनबाट धेरै खुसी होला । त्यसपछि काग मयूरसँग जान्छ र भन्छ- ‘मित्र मलाई लाग्छ कि तिमी आफ्नो जीवनमा सबैभन्दा धेरै खुसी छौं ।’ किनकि तिमीलाई हेर्नै मानिस आतुर हुन्छन् । माया पनि गर्छन् । तिमीले नाचेको हेर्नैका लागि लामो समयसम्म पर्खेर बस्छन् । त्यसपछि मयूरले गहन जवाफ दियो । मलाई लाग्छ कि मभन्दा धेरै खुसी त काग छ । त्यसपछि कागले चित खायो । अरे म त खुसी नै छैन आफ्नो जीवनदेखि । म खुसी नभएरै यही पत्ता लगाउन पो आएको, एकछिन काग सोचमग्न भयो । कागले मयूरलाई भन्यो- ‘कसरी ?’ कागको जवाफमा मयूरले भन्यो, ‘आजसम्म म जति चिडियाखानामा पुगेको छु कहीं पनि कागलाई कैद गरेको देखेको छैन ।’ त्यसपछि कागलाई महसुस भयो, मेरो जीवनमा रङरुप, मीठो आवाज नहुनु यो सानो कुरा हो । तर मेरो खुसी भनेको म अहिलेसम्म कहीं पनि पिँजडामा कैद भएको छैन या हुनुपरेको छैन ।
तसर्थ हामी प्रायः अर्काको सुख, सम्पत्तिलाई देखेर सायद ऊ खुसी होला भन्ने सोच्छौं । तर, आफ्नो जीवनमा ईश्वरले के-के कुराको गुण दिएका छन्, क्षमता के दिएका छन् । पहिचान गर्न जरुरी छ । यही पहिचान गर्न हामीले सक्यौं भने आफूलाई जीवनभर खुसी राख्न सक्छौं । यो पक्का हो । त्यसैले खुसीका लागि अर्कोसँग तुलना गर्नु राम्रो होइन । आफ्नै गुण पहिचान गर्नु बुद्धिमत्ता ठानिन्छ । आफ्नो जीवनमा राम्रा रहेका कुरा मात्र देख्नुलाई खुसी र सार्थक मान्न सकिन्छ । जीवनको कमीलाई नभएर खुबीलाई ध्यान दिनु आवश्यक देखिन्छ ।
खुसी जीवनका लागि केही कुराको अवलम्बन भने अवश्य गर्नुपर्ने हुन्छ ।
जसका लागि यी उपाय अपनाउन सकिन्छ ।
- सबैका लागि सद्भावना राख्ने ।
- सधैं संयम रहने, चरित्र राम्रो बनाउने अर्थात् सुधारमा ध्यान दिने ।
- अरुको भलाइका लागि प्रयत्नशील रहने ।
- अनावश्यक धेरै नबोल्ने आवश्यक परेको ठाउँमा मात्र बोल्ने ।
- पैसा कमाउनैका लागि अरुको अहित हुने काम नगर्ने ।
- समय र परिस्थितिअनुसार चल्ने । नडराई समस्या समाधानको उपाय खोज्ने ।
- निहित व्यक्तिगत खुसीका लागि अरुको मन नदुखाउने ।
- त्यागको भावना राख्ने ।
- कसैले आफ्नाबारे नराम्रो कुरा गरे प्रतिकारभन्दा मौन रही समाधानतर्फ अघि बढ्नु उत्तम हुन्छ । यसको मतलब समयअनुसार चल्नु आवश्यक छ ।
- सधैं कर्तव्यपालना गर्ने ।
- जस्तो दुःख पनि मुस्कुराउँदै सामधानको प्रयास गर्ने ।
- सधैं सोच्ने कि ‘आज म आफूले आफैंलाई के खुसी दिन सक्छु ?’
- दैनिक ४ किमि पैदल हिँड्ने बानी लगाउने ।
- बिहानको समयमा आफूलाई मन लागेको कुरा मात्र गर्ने । त्यसले दिनको सुरुवात राम्रो हुन्छ ।