आजदेखि दसैं सुरु भइसकेको छ । घटस्थापनासँगै दसैंको विधिवत सुरुवात भएको मानिन्छ । पहिले सरकारी कार्यालयहरु पनि ५ देखि १० दिनसम्म बिदा रहन्थे । अहिले बिदा घटेर ३/४ दिनमा खुम्चिएको छ । निजी कार्यालयहरुमा पनि ४ दिनजति बिदा दिइन्छ । शिक्षालयहरु भने छटसम्मै बिदा भएका छन् । विशेषगरी दसैं-तिहार अनि छठ पर्वमा लामो बिदा हुने गर्छ । बिदाभएपछि कार्यालय जानुपर्दैन । २/४ दिन भए पनि ढुक्कसँग पारिवारिक माहोलमा बस्न पाइन्छ । यही बिदामा हामीले दिनभर यत्तिकै बस्नुभन्दा पनि केही रचनात्मक काम गरे फाइदा हुन सक्छ । आउनुहोस् हामी यही बिदालाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर केही टिप्स लिएर आएका छौं ।
बिदामा मदिरा खाने, जुवातास खेल्ने, मनोरञ्जनमै बिताउने गर्नुभन्दा त्यसलाई रचनात्मक काममा लगाउनु बुद्धिमानी मानिन्छ । यसर्थ हामी पनि बिदालाई सदुपयोग गर्नसकिने केही विषय प्रस्तुत गरेका छौं ।
- किताब पढ्ने या लेख्ने काम भए लेख्ने
बिदामा केही काम छैन भनेर समय बिताउनुभन्दा पनि आफूलाई मनपरेको पुस्तक अध्ययन गर्न सकिन्छ । केही लेख्न सकिन्छ । कवि साहित्यकारहरुका लागि त झन् बिदा हुनु भनेको अवसर पनि हो । बिदामै विभिन्न कुरा लेखेर संग्रहसमेत गर्न सकिन्छ । लेखकहरुले पुस्तक सक्ने समय पनि हुन सक्छ । विद्यार्थीका लागि आफूले पढ्नुपर्नेसँगै लेख्ने काम पनि यही मौकामा गर्न सक्छन् । अझ थेसिस (शोधपत्र) लेख्न बाँकी रहेकाले पनि यही बिदाको समयलाई सदुपयोग गर्न सक्छन् । पढ्न र लेख्न चाहनेलाई विदा ठूलो अवसर मान्न सकिन्छ । यही माचोमा प्रकाशकहरुले पनि नयाँ-नयाँ पुस्तकहरु बजारमा ल्याउने गरेको अवस्था पनि छ ।
- घुम्न जाने
उसो त मानिस बेफुर्सदी प्राणी हो । बिदा अर्थात् फुर्सदलाई रचनात्मक बनाउन या सम्झनायोग्य बनाउन हामीले घुमघाम गर्न पनि सक्छौं । घुम्न कहाँ जाने ? प्रश्न टड्कारो छ । अब घरबाट टाढा बसेकाहरु आफ्नै पुर्ख्यौली घर, मामाघर, ससुराली, कुनै पर्यटकीय गन्तव्य या आफूले जान चाहेर पनि समयले गर्दा जान नपाएको ठाउँमा जान सकिन्छ । जसले आन्तरिक पर्यटन प्रवर्द्धन हुनुका साथै नयाँ ठाउँबारे जानकारीसमेत पाउन सकिन्छ । यस्तै विभिन्न धार्मिक स्थलहरु पनि घुम्नजाने स्थान बन्न सक्छन् । नयाँ ठाउँ र परिवेशमा जाँदा त्यहाँको अवस्था, संस्कृति, रहनसहनसमेत थाहा हुन सक्छ ।
- योजना बनाउने
बिदाको समयमा हामीले केही नौला योजना बनाउन सक्छौं । जसले जीवनयापन, व्यक्तित्व स्तर उकास्न निकै मद्दत पुर्याउँछ । केही अपूरा काम, केही गर्ने पर्ने योजना बनाउन बिदालाई सदुपयोग गर्न सक्छौं । यही बिदाको समयमा केही सरसल्लाह लिन पनि सक्छौं । जसले आफूले बनाएको योजना कार्यान्वयन गर्न सघाउँछ ।
- आफन्तजन र साथीसँग भेटघाट गर्ने
बिदाको मौकामा भेट्न नपाएका साथीहरु, आफन्तजन तथा व्यावसायिक व्यक्तित्वसँग भेटघाट गरी आगामी योजनासमेत बनाउन सकिन्छ । यत्तिकै बरालिएर बिदाको समय गुजार्नुभन्दा पनि भेटघाट, सरसल्लाहमा सहभागी बने बिदा रचनात्मक हुन सक्छ ।
- किनमेल
हो ! बिदाको अवसरमा व्यापारीहरुले विभिन्न सामानमा छुटको अफर दिइरहेका हुन्छन् । यो मौकामा परिवारसहित केही किनमेल पनि गर्न सक्नुहुन्छ । परिवारसँगै किनमेल गर्दा सबैलाई चाहिने आवश्यक वस्तु घरमा भित्र्याउन सहज हुन्छ भने । खुसी पनि त सँगै पाउन सकिन्छ । मानवजीवनमा सबैभन्दा ठूलो कुरा खुसी नै हो । खुसी पाउन परिवारसँग किनमेलमा सँगै जान सकिन्छ । अफरका कारण केही रकम पनि जोगिन्छ भने यस्ता चाडबाडको मौकामा व्यवसायीहरुले नयाँ-नयाँ सामानहरु पनि भित्र्याउने भएकाले नयाँ सामानको उपभोक्तासमेत हुन पाइन्छ । यसर्थ बिदामा सपरिवार किनमेलका लागि बजार जान सकिन्छ । यसमा बुझ्नुपर्ने कुरा के छ भने आफूसँग भएको स्रोत र आम्दानीले मात्र किनमेल गर्नु राम्रो हुन्छ । यद्यपि उधारोमा, आवश्यकताभन्दा बढी सामान किनमेल गर्नु भनेको आफ्नै लागि घातकसिद्ध हुन सक्छ ।
- पार्टटाइम काम गर्ने
अब बिदाको दिनमा खाली बस्नुभन्दा आफूले जानेको काम भए पार्टटाइम गर्नु दोहोरो फाइदा हुन सक्छ । एक त पार्टटाइम काम घरमै बसी-बसी गर्ने सक्यो भने केही रकम आम्दानी पनि हुन सक्छ । अर्को कुरा मानिस काममै व्यस्त रहन पनि सक्छ । व्यस्त मानिस स्वस्थ पनि हुन्छ । खुसी नहुने त झन् कुरै भएन । तसर्थ बिदामा केही काम नगरी बस्नुभन्दा घरमै गर्नसकिने, आफूले जानेको काम गर्दा फाइदा नै हुन्छ । जस्तो पुस्तक सम्पादन, इन्टरनेटमा गर्न सकिने केही काम, हाते सीप भए त्यसलाई पनि उपभोग गर्न सकिन्छ ।
- मुभी हेर्ने, नाटक हेर्ने
मोबाइलमा गेम खेल्नु, मुभी हेर्न जानु, नाटक हेरेर मनोरञ्जन गरी बिदालाई बिदा गर्न सकिन्छ । यद्यपि मुभी तथा नाटक जुन पायो त्यो हेर्नुभन्दा पनि ऐतिहासिक, कसैको बायोपिक, या कुनै विशेष हेर्दा शिक्षाप्रद बन्न सक्छ । जसले जीवनका पछिल्ला समयमा पनि यसले केही योगदान गर्न सकोस् । साथीहरू बटुलेर तास खेल्ने, मदिरा सेवन गर्ने, गफलगाएर बस्नुभन्दा राम्रो शिक्षाप्रद फिल्मले केही हदसम्म भए पनि दिमागलाई ताजगी बनाउन सहयोगी बन्न सक्छ ।
- खेतीपाती यानि कृषि कर्म
बिदाको सदुपयोगका लागि कृषिकर्म पनि महत्त्वपूर्ण मानिन्छ । सहरमा बस्नेहरु वा थोरै जमिन भएकाहरुले त्यसमा तरकारी, फलफूलका बिरुवा लगाउन सक्छ । पशुपालन भए त्यसको हेरचाहमा सघाउ पुर्याउन सकिन्छ । जमिन नभएकाले गमलामै भए पनि केही न केही लगाउन सक्छ । फलफूलका बिरुवा लगाउन सकिन्छ । यसर्थ खाली बस्नुभन्दा पनि खेतीपातीमा अलिअलि हात चलाए आफैंले उब्जाएको खान पाइन्छ । यसबाट फाइदा पनि लिन सकिन्छ । यसर्थ बिदा भयो भन्दैमा यत्तिकै बस्नुभन्दा केही न केही गरेर बसे हामीलाई नै फाइदा हुने हो ।