रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलन आज हुँदैछ।
सम्मेलनको तयारी पुरा भएको नगरपालिकाले जानकारी दिएको छ। काठमाडौं बाहिर हुन लागेको पहिलो लगानी सम्मेलनमा करिब ५० अर्ब लगानी भित्र्याउने उद्देश्य रहेको छ। कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा बिहीबार विहान सम्मेलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन्।
सम्मेलनलाई पूर्व प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री युवराज खतिवडा, संघीय सांसदहरु घनश्याम भुसाल, विष्णु पौडेल, बालकृष्ण खांण लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको नगरपालिकाका प्रबत्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो। यस्तै कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीले सहभागिता जनाउँने छन्।
सम्मेलनमा कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतिका समूहगत छलफल हुने छ। सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पांच सय जना लगानीकर्ता सहभागी हुने गरी तयारी भएको तिलोत्तमा नगरपालिकाले जानकारी दिएको छ।
सम्मेलनमा प्रस्ताव गरिएका २२ परियोजनामध्ये कम्तिमा १० परियोजनामा सम्झौता हुने निश्चित भइसकेको आयोजकले बताएको छ। सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०–४० वर्षसम्म लिजमा जमिन उपलब्ध गराउने भएपछि लगानीकर्ताहरु आकर्षित र उत्साहित बनेका हुन्। नगरपालिकाले जग्गा भाडा प्रतिकट्ठा पाँच हजार रुपैयां मात्र तोकेको छ।
२२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो। नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ। यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने छ। पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने नगरपालिकाको बैठकले निर्णय गरेको छ।
यस्तै, पाँच सय बढीलाई रोजगारी दिने परियोजनालाई नगरपालिकाले १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिनेछ। कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, मत्स्यपालन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरलगायत परियोजनालाई स्थापनाको सात वर्षसम्म व्यवसायिक कर र नक्शा पासमा ५० प्रतिशत छुट दिइने नीति लिइएको छ।