मन बेचैन छ। पाइसकेर पनि गुमाए जस्तो। हेरिरहुँ लाग्दालाग्दै छोपिए जस्तो, छुन खोज्दा खोज्दै बिलाए जस्तो। सम्झेर पनि बिर्से जस्तो। नचाहँदा नचाहँदै स्खलित भएजस्तो। यस्तै यस्तै।
किन यस्तो हुन्छ? मनले प्रश्नै प्रश्नको सगरमाथा ठड्याउँछ। तर, जवाफ दिँदैन। मन नै परीक्षामा असफल भयो। जवाफ कोसँग छ भन्ने उसलाई थाहा छ। तर, सोध्ने आँट छैन। हावाभन्दा चाँडो उड्छ। पानीभन्दा चाँडो बग्छ। आकाशभन्दा अग्लिन्छ। सागरभन्दा गहिरिन्छ। चाहेर पनि भेट्न सकिँदैन। यति शक्तिशाली मन किन असफल हुन्छ? जवाफ खोज्दा फेरि प्रश्न नै आउँछन्। सबै प्रश्नहरुको कारखाना मन नै रहेछ क्यार। निरास भएर उडेको मन फर्कने आश गर्छे। आफैंलाई बिर्सेर मन त कति उड्यो उड्यो। धन्य फर्किन्छ र मात्रै ऊ सम्हालिन्छे।
उडिरहने मनले पुण्य गरिरहेछ कि पाप? मनलाई निहाली। मायाले सुम्सुम्याइँ। यो मनले कसैलाई मन पराएर उड्छ। कसैलाई आफूमा समेट्न उड्छ। मन त आत्मा हो नि। मन पनि पापी हुन्छ र? सुम्सुम्याउँदै गरेको मनले अलिअलि जवाफ दियो। मन मायाका लागि उड्छ। माया आत्मा कदापि पापी हुँदैन। पापी त आत्मालाई चिथोर्न खोज्नेहरु हुन्। आत्मालाई रुवाउने पो पापी हुन्। आत्मा नचिन्ने र आत्माको नाममा परात्मालाई झुक्याउने पो पापी हुन्।
......
कल्पनामा उडान भर्नु साह्रै रोमाञ्चक। कल्पनामा हराइरहँदा पनि रमाइलै हुन्छ। मन नै रंगमञ्च झै हुन्छ। हरेक पात्रहरु मकैका फुल उठेझैँ आउँछन्। प्रश्न उत्तर, सवाल जवाफ, भलाकुसारी अनि छलफल, सबै मनभित्रै हुन्छ। मुखले त मनले सोचेको कुरा भन्ने त हो, अह्राउने त मन नै हो नि। मन छ र त यी सबै कुरा सम्भव छ, मन नै भएन भने?
आखिर यस्तो किन हुन्छ? फेरि आफैलाई प्रश्न गर्छे ऊ। होइन, केही न केही त अवश्य भएको छ। के भएको छ त? फेरि जवाफ छैन। मनमा प्रश्नको मात्रै ओइरो लाग्छ। जवाफ त मरुभूमिमा हरियाली खोजे जस्तो। उजाड पाखामा जंगल सोचे जस्तो। काकाकुल बस्तीमा कलकल पानीको मुहान ठाने जस्तो।
साँच्चै हो त? होइन। प्रश्न र उत्तर एकसाथ। मन पवित्र भए कल्पना पनि पवित्र हुन्छ। पवित्र कामनाले सफलतामा पु¥याउँछ। अहिलेसम्म भएका कुरामा कसैले खोट लगाउन नसकेको किन त? यसैले त हो नि।
रमिता ..... बाहिरबाट कसैले बोलायो।
सबेरै कसले बोलायो? कसको आवाज हो यो? ठम्याउन मुस्किल भो। पलङबाट ओर्ली। नाइट गाउनमै थिई। आफैंलाई हेरी। आफूलाई अलि अपूर्ण अपूर्ण ठानी। कम्मरको डोरीको गाँठो फुस्किएको थियो। घुमाएर बाँधी। झ्यालको पर्दा उघारी। उज्यालो धर्तीतिर झर्दैथियो। सुस्तरी, सुस्तरी। सूर्यको किरणले हिमशिखरलाई चुम्न थालिसकेको थियो।
सूर्यले हिमशिखरलाई चुम्दा उसलाई काउकुति महसुस गरी। कुनै प्रिय पलको स्मरण गरी। अंगालो त एउटै हो तर, किन कहिले कति प्रिय हुन्छ र कहिले किन अभिषाप हुन्छ? त्यही घाम त हो, कहिले कति न्यानो हुन्छ, कहिले कति डढाउँछ? उफ् फेरि प्रश्न आए मनभरि।
आँखा तन्काई। चकमन्न छ। आवाज भिन्नै थियो। त्यो आवाज मिठो लाग्यो। फेरि बोलाइदिओस् जस्तो लाग्यो। तर त्यहाँ कोही थिएन। शायद, उसको मनको एउटा चाहनाले मात्रै बोलाएको थियो। मनले कोही आइदिओस् भन्ने चाहेको थियो। दिलको ढोका ढक्ढकाओस्। प्रश्न नै प्रश्न गर्ने मनमा राज गरोस्। मनले यस्तै चाहेको थियो।
......
झ्यालबाट फर्की। सोफामा बसी। मन थप बेचैन भयो। एक घुट्की पानी पिई। मनमा थियो प्यास, मेटिएन। मनलाई चैनमा ल्याउन सजिलै सकिएला र? यस्तो भएको पहिलो पटक होइन। तर, आज हदभन्दा बढी भो। अघि राति। सबै मस्त निदाउँदा ऊ जागै थिई। जोडबलले निदाउने प्रयास गरी। अंकहरुलाई उल्टो गनी। काम गरेन। अनि केही रोमाञ्चक पललाई सम्झी।
अकस्मात्, कसैले हात सुम्सुम्यायो। गाला चिमोट्यो, ओठमा छोयो। जीऊ पूरै सल्बलाउन थाल्यो। धन्न ननिदाई पर्खिएछु भन्ने लाग्यो। तर, झल्यास्स भई। धत्, तन्द्रामा रहेछु। चाँडै व्यूझिएकोमा आफैलाई धिक्कारी। हातहरुलाई आफ्नै शरीरमा सल्बलाई। तर, अघि तन्द्राको जस्तो आनन्द आएन । छोडिदिई।
......
राति सपनामा आएको मान्छेले नै बोलाएको होला बिहान बिहानै। मनमा त्यो आकृतिलाई बसाई। त्यो आवाजलाई कानमा सजाई। एकैछिन रमाई।
पुराना यादहरुलाई खोतलखातल गरी। छोटा संवादहरुलाई मनको अर्काइभबाट निकालेर पढी। ती याद र संवाद अझै ताजै रहेछन्। संवाद पनि के भन्नु र? बोली सुन्न पाएकै होइन। केबल मोबाइल टेक्स्ट न हो। खोई कसरी चिनजान भयो, थाहा छैन। नदेखिकनै चिनजान। भेटेकै छैन, मनमा बास। अचम्म छ। उसका एक दुई टेक्स्टले मेरो मन छोयो। सायद माया भन्ने चीज यही रहेछ, आफैंलाई बुझ्ने प्रयास गरी।
जति संवाद भए ती सबै मोबाइलमा अझै सुरक्षित छन्। मेसेज खोल्नासाथ पहिलो नम्बरमा उसैको मेसेज छ। त्यसपछि आएका हजारौं मेसेज उसले मेटाइसकी। तर, पनि उसको मेसेज उसका लागि यति प्रिय छ कि, आफैंलाई भन्दा बढी माया लाग्छ, उसलाई।
कहिलेकाहीँ हजारौं शब्द र पुस्तकको ठेलीले पनि मान्छेको मन जित्न सक्दैन। तर, उसको केही शब्दले मन जित्यो। तिनै शब्दहरुले माया र आशा जगायो, अनि कल्पनामा डुबायो। फोन कल त भएकै छैन। जति कुरा भयो सबै टेक्स्टमा। आवाज कस्तो छ भन्ने पनि थाहा छैन। बोलीको लवज कस्तो छ भन्ने त परको कुरा। केबल मोबाइलमा नम्बर सेभ छ।
आज त साह्रै भो, एक कल गरुँ? होइन होइन। मैले कल गर्दा अर्थ झनै नराम्रो लाग्न सक्छ। हाम्रो कुरा त टेक्स्टबाटै सुरु भएको हो, टेक्स्ट नै गर्छु। उसको टेक्स्ट नआई मैले पठाउँदा पनि राम्रो हुँदैन। फेरि पछिल्लो टेक्स्टको जवाफ पनि त मसँग छैन, मनमनै गन्थन गरी।
....
मोबाइलमा फेसबुक लगइन् गरी। उस्कै प्रोफाइल खोजी। पोस्टहरु नियाली। तिनै पुरानामात्रै छन्, दुई महिना अघिका। पहिले दैनिकजसो स्टाटस र फोटो पोस्ट गर्नेले दुई महिनादेखि केही पोष्ट गरेको छैन। किन? ऊ लामो समयदेखि अनलाइन छैन। कुनै पोस्ट गरेको पनि छैन। मेसेज गरेको पनि छैन। समग्रमा सम्पर्कमा नै छैन। पक्कै केही गडबडी भएको हुनुपर्छ।
मलाई यसरी आशा जगाएर, मायाले पोतेर ऊ कहाँ भाग्यो? मेरो निराश मनमा उसैले आशा जगायो, माया के हो थाहा नै थिएन, सिकायो। यति धेरै कुरा सिकाएर ऊ कहाँ भाग्यो? के अब उसले मलाई धोका के हो? त्यो पनि सिकाउन लागेको हो? पीडा के हो? त्यो पनि भोगाउन लागेको हो? भन्छन् नि, बचाउन नसक्नेले नजन्माएकै राम्रो। उसले माया जन्माएर किन मार्न खोज्दै छ? उसैको फेसबुक हेर्दै छ रमिता।
उसका सबै पोस्टहरु फेरि नियाली। फोटोहरु जुम गरी गरी हेरी। उसको बेग्लै संसार थियो, छ। सायद ऊ त्यही संसारमा रमाउँदै छ होला। त्यो संसारको रमाइलोमा कमी आउँछ कि भनेर यो संसारबाट भाग्न खोजेको होला। आखिर त्यसो नै हो भने पनि भने भैहाल्थ्यो नि। भाग्ने त नामर्द हुन्। मर्दले त भन्छन् अनि चित्त बुझाउँछन् नि होइन?
...
फेसबुक हेर्दाहेर्दै उसको मन अमिलो भयो। कता कता चह¥याए जस्तो भो फेरि मोबाइल टेक्स्टमा आई। हेरी। उसको म्यासेज थियो माफ गर्नुहोला, मानसिक अवस्था ठीक नभएकाले निकै लामो समय अस्पतालमा बसेर अलि ठीक भएपछि हिजो मात्रै पत्नीले लिएर घर फर्काएकी छिन्। स्वास्थ्यले साथ दिएमा नियमित सम्पर्कमा रहनेछु।
असोज २०७५।