मोबाइलमा म्यासेजको नोटिफिकेसन बज्यो।
सूर्य अस्ताउन लाग्दाको पश्चिमी आकाशभन्दा रातो भयो रमिताको मुहार। म्यासेजको आवाज कसैले सुनेकी भनेर दायाँबायाँ हेरि। कसैलाई देखिनँ। आश्वास्त भईँ। मोबाइललाई हतार हतार साइलेन्टमा हाली। कसैका आँखा नपरुन् भनेर लुकाई।
मनमा छटपटी भयो। म्यासेजमा के लेखेको होला भन्ने साेंची। तर, मोबाइल खोलेर म्यासेज पढ्न भने सकिन। मनमा ताप बढ्यो। आकासमा चन्द्रमा आएर अलिकति शीतल दिएपनि हुन्थ्यो नि झैं भयो। चन्द्रमाको आगमनको कुनै संकेत छैन। पूर्वी आकाश बादलले ढाकेको छ।
आफूलाई अलि व्यस्त राख्न सन्ध्या जगाउन थाली। साँझ घरको मन्दिरमा दियो बाल्नुलाई सन्ध्या जगाउने उसको बुझाइ छ। उसलाई बाबा आमाले सानैमा पाँच वर्षको हुँदा सन्ध्या जगाउन सिकाएका थिए।
जब सन्ध्या जगाउन उसले सिकी। उज्यालोको महत्व पनि बुझी। म पनि यस्तै उज्यालो हुनेछु–मनमनै प्रण गर्थी। उज्यालो हुने प्रण गरेर अगाडि बढ्दा बढ्दै एकाएक आउने यस्ता म्यासेजहरुले उसलाई अत्याउने गरेका थिए। मनभरि अँध्यारो छरिदिन्थे।
यस्ता कुरामा म अल्झिन्न–मनले दृढता व्यक्त गर्थी। आँखाहरु ती म्यासेज पढ्न हतारिन्थे। जीऊमा एक किसिमको काउकुति हुन्थ्यो। किन मनको बसमा छैनन् आँखाहरु? किन मनभन्दा चाँडो हतारिन्छ शरीर? उत्तर थिएनन् ऊसँग। मोबाइल कोठामा लुकाएर भान्सामा गई। बाबा खाना तयार भयो। उसले भान्छाबाटै बाबा आमालाई खाना खान बोलाई। म्यासेजबाट भाग्न खोजेपनि ऊ सबैलाई खाना खुवाएर सुत्न गएपछि म्यासेज पढ्न चाहन्थी। भान्साबाट निस्कँदा आमाबुवा बैठक कोठामा टिभी हेर्दै हुनुहुन्थ्यो।
म सुत्न गए है, डिस्टर्व नगर्नू, बिहानै कलेज छ। ऊ बैठक कोठाबाट बाहिरी। सुत्नका लागि डिस्टर्व नगर्नू भनेकी भने होइन। म्यासेज पढेको समयमा अरु नआइदेऊन् भन्ने चाहेकी हो। ऊ म्यासेज पढेर आफ्नो बदलिएको अनुहार अरुले नदेखुन् भन्ने चाहन्थी। कोठामा पस्नासाथ ढोका ढप्क्याएर चुकुल लगाई। मोबाइल निकाली। फेरि पनि आश्वस्त हुन चुकुलमा आँखा पुर्याई। बल्ल मोबाइलको स्क्रीन अन गरी। वाफरे ६ वटा म्यासेज आइसकेका रहेछन्।
ती म्यासेज पढ्न डराउँछे। तर, पनि आइदिउन् जस्तो लाग्छ। आफ्नो शरीर हेर्छे कुनै खास लाग्दैन। तर, ती म्यासेजहरुमा जसरी शरीरको यौवनको यस्तो वर्णन गरिएको हुन्छ, उसलाई काउकुति लाग्छ। शरीर यसैयसै रोमाञ्चित हुन्छ। आफ्नै शरीरमा हातहरु सल्बलाउन वाध्य बनाउँछ। तृप्त हुन्छे। त्यसैले त उसको शरीर मनको वसमा छैन कि जस्तो लाग्छ।
*********
लक्ष्य एकातिर छ। तर, शरीर किन अर्को गतिमा बग्दैछ?
आफैंलाई प्रश्न गर्छे। जवाफ खोज्नुभन्दा पनि आँखाहरु म्यासेज पढ्न हतारिन्छन्। जीवनमा उसले धेरै कुराहरु बाबाआमाबाट सिकी। तर, यस्ता केही बानी उसले आफैँ सिकी र रमाउन थाली।
म्यासेज पढ्नु अगाडि झ्यालबाट बाहिर चिहाई। मौसम विस्तारै चिसिँदै छ। तर, मोबाइल देख्नासाथ उसको शरीर पूरै तात्दै जान्छ। म्यासेज आउन थालेदेखि ऊ मोबाइललाई पनि पूर्ण मान्छेजस्तो देख्न थालेकी छे। घरी मोबाइलसँग लजाउँछे त घरी मोबाइलसँग रोमाञ्चित भएर सन्तुष्ट हुन्छे।
कलेजमा भेटिएको केटो। आजकल मनमा भेटिन्छ। सपनामा भेटिन्छ। शरीर वसमा नभएर हातहरु सल्बलाउँदा कल्पनामा भेटिन्छ। ओहो जताततै भेटिन थालेको छ। एउटै कक्षामा पढ्दो रहेछ। नजर परेको थिएन। रमिता कक्षामा प्रोफेसरको नोट टिपी रहेकी थिई। एक्कासी उसको पिठ्युँमा कसैको हात सल्बलायो। रिसले पछाडि फर्की। रविको हात थियो।
गाली गर्न लागेकी थिई। उसको ओठमा औंला लगेर चुप लाग्न संकेत गर्यो। रगत लागेको औंला देखायो, जहाँ एउटा मरेको उडुस थियो। लाजले पानीपानी भई। घरमा उडुस परेको थाहा थिएन। उसको ढाडमा हिंडेको उडुस हतार हतार टिपेर मारिदिएछ। मनमनै धन्यवाद दिई। सार्वजनिक बेइजतबाट जोगाएकोमा।
त्यो दिन बेलुका टेक्स्ट आयो।
प्यारी उडुसवाली,
हरेक दिन एउटा उडुस लिएर आऊ ल। कमसे कम उडुस मार्दा तिमीलाई छुन त पाउँछु। तिमीलाई छुन पाए भने त दिन नै उल्लासमय हुन्छ। तिमीलाई छोएका हातहरुलाई चुमेर आज निदाउँछु। सी यू टुमरो।
तिम्रो उडुस मार्न मन पराउने केटो।
म्यासेज पढेर सुरुसुरुमा रिस उठ्यो। फेरि पढी। अलि रमाइलो लाग्यो। झन् झन् पढी। झन् रमाइलो भयो। अब त्यो मौका पाउँदैनौं, घरमा अघि नै बुबालाई विष हान्न लगाए।
जवाफ दिई।
मेरो दुर्भाग्य–रविले रुँदै गरेको इमोजी पठायो।
रवि भोलिपल्ट कक्षामा देखिएन। फेस गर्नु नपर्दा सजिलो जस्तो भयो। फेरि आँखाहरुले भने पटक-पटक खोजिरहे।
पढाइ चल्दै थियो। अचानक मेचहरु काप्न थाले। विस्तारै विल्डिङ नै काप्यो। भुँइचालो भन्दै सबै दौडिए। ऊ सानीसानी थिई। सबै दौडिँदा ढली। अरुले कुल्चिन थाले। ओहो, अकस्मात ऊ आयो। ऊमाथि पूरै सुत्यो र कुइनाले भुँइमा टेकेर जोगायो। पहलमान रहेछ।
बेलुका टेक्स्ट गर्यो।
प्यारी भुँइचालोवाली
यो भुँइचालो सधै आइदेओस् र म तिम्रो शरीरमाथि सधैं पर्न पाऊँ। आज भुँइचालोले किचिएर त्यहीँ मरेको भएपनि मलार्इ जीवनसँग कुनै गुनासो हुने थिएन। सदासदाका लागि सधैं सँगै हुने थिए। भन न किन तिम्रो साथ यति प्यारो लाग्छ, किन तिम्रो शरीर यति धेरै तातो तातो लाग्छ? म जब तिम्रो शरीर छुन्छु नि, ओहो पग्लिन्छु पूरै। अहिले पनि पग्लिरहेछु। तिमीलाई कस्तो हुँदैछ?
केटाको जातै खराब। शरीरसँग मात्रै सरोकार छ।
रमिताले एङ्ग्री इमोजीसहित लेखी।
पहिला मन देखिँदैन, त्यही शरीर देखिन्छ त के गरौं? तिमी यति सुन्दर छ्यौ, पहिला सुन्दरता नै देखिन्छ। जे भन भुँइचालोवाली, तिम्रो सुन्दरताले मेरो जीवनमा भुँइचालो ल्याइदियो।
कक्षामा कहिले बोलचाल गरेनन्। केवल टेक्स्टमा। कक्षामा दुबैजना छुपेरुस्तम्। तर, माया हलहली बढ्दै थियो। दुबैलाई आभास भयो।
सम्झनाका तरेलीमा हराएर बल्ल म्यासेज हेरी।
प्यारी मेरो ढुकढुकीवाली
भोलि बिदा छ, कलेजमा त देख्न पाउँदिन। के गरौं?
रमिता इमान्दार भई।
लेखी–हो मलाइ पनि आजकल भेट्न मन लाग्छ। देख्न मन लाग्छ। तिमीलाई जस्तै मलार्इ पनि छुन मन लाग्छ। सधैं सधैं तिम्रै हुन मन लाग्छ। किन?
ओ मेरी ढुकढुकीवाली, भोलि गोदावरी जाऊँ।
तुरुन्तै उसले प्रस्ताव गर्यो।
जीवनमा पहिलोपल्ट एउटा केटाले उसलाई डेटिङको प्रस्ताव गरेको थियो। डेटिङका रमाइला पलहरुलाई कल्पना गरी। हातहरु फेरि एकैछिन शरीरमा सल्बलाए। हातहरुलाई मनले नियन्त्रण गरे।
लेखी–म सोझै तिम्रो मनमा आउन चाहन्छु, घरमा भित्रिन चाहन्छु। पार्कहरुमा होइन।
जवाफले ऊ तिल्मिलायो। बाहना बनायो।
म परीक्षामात्रै लिँदै थिए।
कस्तो परीक्षा?
तिमी कस्ती केटी हौं भनेर जाँच्दै थिए।
रिजल्ट के आयो त?
पास भयौं।
जवाफले अलिकति सान्त्वना दियो।
दिन बित्दै गए।
एकदिन चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी गरिरहँदा रमिताले अर्को हात्तीमा उसलाई देखी। हात हल्लाई। केटोको त पूरै मन नै हल्लियो।
मेरी दिलकी रानी आज कहाँबाट यता?
केटोले टेक्स्ट लेख्यो।
साथीको विवाहमा चितवन आएकी थिएँ। एकैछिन जंगल सफारी पूरा गरेर जानु पर्यो भन्ने साेचेँ।
एक्लै?
एक्लै।
रमिता सफारी पूरा गरेर फर्किंदा रवि पर्खिरहेको थियो।
केहीबेरसँगै कफी खाए। रमाइलो महसुस गरे।
केही अप्ठेरो मान्दै रविले सोध्यो–आज यतै बसाैं न हुन्न?
म पनि त्यही दिनको प्रतीक्षामा छु, तिमी डोली लिएर आऊ। म बेहुली भएर पर्खन्छु। तिमी सुहागरातको पलङ सजाऊ। म लजाउँछु। तिमी घुम्टो उठाऊ। म अझ सर्माउँछु। हुन्न? रमिताले भनी–म सानैदेखि त्यो कल्पना गर्छु। त्यो वातावरण बनाउन पहिला।
आज पनि तिमी पास भयौं। केटोले मनमा गाँठो बाँधेर भन्यो–अब पढाइ सक्न केही समय बाँकी छ, त्यसपछि सबै कुरा तिमीले भनेझैं हुनेछ।
दुबै बिदा भए।
रमिताले एक पटक फेरि विगत सम्झी। पटक-पटक परीक्षा लियो, नतिजा पनि मेरै पक्षमा दियो। स्कुलदेखि कजेलसम्म कहिल्यै दोस्रो नभएकी मलाई परीक्षामा पनि उसले आफूभन्दा माथि नै राख्यो। तर, जहाँ भेट्यो त्यँही किन परीक्षा लिइरहन्छ? साँच्चै माया गर्नेले यसरी परीक्षा लिइरहन्छन् र? शंका गरौं नजिता आफूले राख्दैन। नगरौं, खुद्रा पसलमा पाइने सामान जस्तो गर्छ। किन?
धेरै बेर सोची। चिनेका केही साथीसंगी र आफन्तजनहरुको प्रेम कहानी पल्टाई। कतिपयका त मुना मदन जस्तै थिए। तर, कतिपय सीता र रावणको जस्तो पनि त थियो। जुटेका टुटेका। जुट्नै गाह्रो। जुटेपछि टुट्न गाह्रो। जब टुट्छ, जोडिन झनै गाह्रो। अर्को एउटा घटना सम्झी। स्कुल पढ्दाकै साथीको। लोभ देखाएर गरेको प्रेमको। लोभिएर गरेको प्रेमको। लोभले विलाप पनि त निम्त्याइदियो नि। प्रेम त लोभ, लाभ र विलाप भन्दा पर छ नि। मनमनै गुथी। समयको खेल। कसैले जित्छ, कसैले हार्छ।
अचानक रमिता कलेज जान छाडी। निकै दिनसम्म रविको टेक्स्टको जवाफ पनि फर्काइन।
केटोले लेख्यो–दिल तड्पाउनेवाली
किन कलेज आउन छाड्यौ? किन रिप्लाई गर्न छाड्यौ? मैले सबै कुरा तयारी पूरा गरेँ। मेरो जीवनमा कहिले आउने?
रमिताले टेक्स्ट हेरी र लेखी।
तिमी फेल भयौं। मेरो मनमा सधैं काउकुति मात्रै लगायौं। तर, कहिल्यै सन्तुष्टि दिएनौं। म सुहागरातको बेडमा बसेर जवाफ लेख्दैछु। अब कहिले टेक्स्ट नगर ल।
तिमीलाई तड्पाउनेवाली।
असोज २०७५।