सानो छँदा चाडवाडसँगै खुसी आउँथे। वर्षमा एक पटक पाउने नयाँ कपडाले दिने खुसी। मिठो मसिनो अनि आशिर्वादसँगै एट्याच भएर आउने सुकामोहरको खुसी। तीन गाउँ चहारेर देउसीरे भट्याउँदै जम्मा गरेको पैसाले दिएको खुसी। यी सबै खुसी अझै पनि मनको संग्रहालयमा सुरक्षित नै छन्। उमेर बढ्यो। सोच र पहुँचको दायरा अलिक फराकिलो भयो क्यारे। चाडवाडको महत्व अलि घट्यो। तर, किन आजकल चाडवाडले खुसी दिँदैनन्? किन खाली मन चिमोट्छन् मात्रै? सायद परदेशमा भएर पो हो कि?
देशको हाल बुझ्न अनलाइनहरू खोल्छु। तीजमय भएका छन्। सोसियल नेटवर्कमा त नारीहरू तीज लाइभमै व्यस्त छन्। तर, मेरी दिदी किन तीज लाइभमा आउँदिनन्? किन मेरी आमा रमाउँदै नाच्दिनन्? किन मेरी पत्नी रातो पोशाकका तस्वीर फेसबुकमा अपडेट गर्दिनन्? सायद्, यी चाडवाडले मलाई भन्दा पनि बढी मेरी आमा, दिदी वा पत्नीलाई दुखाएको छ कि?
यो पटक त दिदीलाई चिठी लेखौं जस्तो लाग्यो। तर, के लेख्ने? यो पटक पनि तीजमा तिमीलाई लिन आउन सक्दिन भनेर लेख्ने? माइती टाढा भएर दुखेको मनमा अझै नुनचुक दल्न वियोगको कथा सम्झाउने? कि अर्को वर्षसँगै तीज मनाउन लिन आउने प्रतिवद्धता व्यक्त गर्ने? युरोपरूपी दलदलमा फसेको छु। फुत्तै निस्केर जान सकौला जस्तो लागेको छैन। के झुटो आश्वासन दिनु? त्यसो भए के यत्रो चाडमा पनि माइती भएर चेलीलाई नसम्झनु? मन मानेन। केही त लेखौं जस्तो लाग्यो ।
प्यारी दिदी,
दुई शव्द लेखे। करिव दुईघण्टा चुपचाप खाली कागज हेरेर बिताएँ। त्यही खाली कागजबाट दिदीले मसँग सम्वाद सुरू गरिन्। जुन खाली कागजमा मेरो विगत देखेँ। दिदीसँग बिताएका पलहरू देखेँ। मलाई डोेर्याएर हिड्न सिकाइन्। तोते वोल्न सिकाइन्। सबै विपतबाट जोगाइन्। जब जब मलाई तोते बोली सिकाएकी थिइन, उनीसँग म सधैं सम्वादका लागि हुन्छु भन्ने सोचेकी थिइन् होली। जब मलाई हिँड्न सिकाएकी थिइन्, जिन्दगीका उकाली ओरालीमा सँगसँगै हुने सोचेकी थिइन् होली। पाइला पाइलामा सपना जोडेकी थिइन् होली। तर, आज दिदीका सपना कहाँ होलान्, थाहा छैन।
यो भासमा म मात्रै परेको छैन। दिदी पनि परेकी छिन्। दिदी र आमाले सँगै बसेर तीज नमनाएको पनि धेरै वर्ष भएछ। आमासँग कुरा गरेँ। कुरा गरे पनि के भन्नु। रूने र रूवाउने काम गरेँ। यो पटक त दर पनि पकाइएन, आमाले सुँक्सुकाउँदै भन्नुभयो। मेरो घाँटी अवरूद्ध भयो। बोल्न सकिनँ। परसम्म हेरेँ। आँसुले भरिएका आँखामा आमालाई देखेँ। दिदीलाई देखेँ । पत्नीलाई देखेँ। जो मलाई पर्खिरहेका थिए। आमाले दर पकाउन भिजाएको अनदीको चामल पानी फालेर ओभानो बनाएर राख्नु भएछ। दही काँक्रो बनाउने काँक्रो सिंगै बसेछ। अरू घरमा तीजको रमाइलो आयो वरीलै... बज्दा मेरो घरमा सुनसान भएछ।
अब आमालाई जाँगर छैन। बुुढेसकालले गाँजेको छ, त्यो भन्दा पनि बढी छोराछोरीको यादले। हाँसो त उहाँको अनुहारमा आक्कलझुक्कल पाहुनाझै आउँछन्। चिन्ता र पीडाले सताएको छ आमालाई। किन नहोस् त त्यसो? घरकी एक्ली चेली तीजमा छैन। चेलीबिनाको तीज पनि के तीज? त्यसमाथि दिदी त आमाकी जेठो सन्तान, पहिलो खुसी।
हिसाव गरें। दिदीसँगै बसेर दर नखाएका कति वर्ष बितेछन्? दर त बहाना न हो। दिदीसँगै बसेर खुसी नसाटेको कति भएछ भनेर हिसाव गर्न खोजेको हो। कुनै यस्तो समय थियो, म दिदी लिन भनेर दरको अघिल्लो दिन दिदीको घर पुग्थेँ। दिदीको झोला बोकेर दौडिँदै दिदीभन्दा चाँडो घर आइपुग्थेँ। दिदी आइनपुग्दै दिदीको झोला देखेर नै आमा खुसी हुनुहुन्थ्यो। खोसेर झोला सुम्सुम्याउनु हुन्थ्यो।
भाइ ठूलो हुंँदै जाँदा हरेक दिदीका खुसी भने साना हुँदै जान्छन् क्यार। तीजमा भाइ लिन आउँदैन। तिहारमा भाइटीका लाउन आउंँदैन। दशैंमा माइतीको दायित्व पूरा गर्दैन। त्यस्ता भाइलाई पनि दिदीबहिनीहरू माया वर्षाइरहन्छन्। जब म पनि नाइट बस चढेर काठमाडाैं लागेँ, त्यसै दिनवाट हाम्रो तीजको साथ छुट्यो। दिदी लिन जान छाडेँ। दिदीभन्दा चाँडो दौडिएर झोला बोकेर घर आउन छाडे। केही वर्ष त फोनबाट पनि दायित्व पूरा गरे। त्यो पनि क्रमशः पातलिँदै गयो।
समय बदलियो। हाम्रो घरको आँगन छाडेर जाँदा रूने मेरी दिदी पनि देशै छाडेर विदेशीन आँंट गरिन्। दिदीलाई विमानस्थलमा छाड्दा र स्वागत गर्दा रूने क्रम केही वर्ष चल्यो। फेरि म विदेशिएँ। त्यसपछि त संसार नै अलग अलग।
******
परदेश। यो त अचम्म रहेछ। सबै भएर पनि केही नभएजस्तो। जो जो देखिन्छन्, सबै आफ्ना जस्ता। साथ नदिए पनि साथी जस्ता। आफन्त भएर पनि पराइ जस्ता अनि पराइ पनि आफन्त जस्ता। परदेशले एउटा कुरा भने अवश्य सिकाउँदो रहेछ, एक्लै बाँच्नु, एक्लै रमाउनु अनि एक्लै हाँस्नु। अरूले के भन्ला होइन, आफूले के गर्ने भन्ने सोच्नु।
*******
दिदी,
म कतै एक्लै जान लागेँ भने तिमीले निकै चिन्ता गथ्र्यौ त्यतिबेला। कसरी जाला? के खाला? कहाँ बस्ला? कस्ता साथी भेट्ला? तिम्रा अनेक चिन्ता हुन्थे। जब म युराेप भासिँदै थिएँ, त्यतिबेला पनि तिम्रा यिनै चिन्ता थिए। मैले तिमीलाई शान्त पार्न कति कुरा बुन्नु परेको थियो, मलाई अझै ताजै छ।
यति पर आउँदा पनि मलाई त्यति गाह्रो भएन, जति तिमीले चिन्ता गरेकी थियौ। आफन्तहरू थुप्रै। चिनेजानेका साथीभाइ पनि उत्तिकै। तर, एउटा कुरा भने साँचो रहेछ, आफन्तले घेरिनु र आत्मीयताले बेरिनु फरक रहेछ। साथी बनिदिनु र साथ दिनुमा भिन्नता रहेछ, माया गर्नु र दया देखाउनुमा जस्तै।
परदेशी जीवन त मलाई भन्दा तिमीलाई नै राम्ररी थाहा छ, काम नगरी बस्नै नमिल्ने, एक दिन काम नगरे अर्को दिन पेट भर्नै धौ-धौ। चाडबाड त अलि परका कुरा। गएको दसैले अर्को कुरा सिकायो। मुख्य सहरभन्दा केहीपर मेरो बसाइ। एकजना साथीले बिहानै फोन गरेर भने, आज दसैं मनाऔं है। मैले टीका छैन भनेर टार्न खोजेँ। ड्युटी छ भनेर उम्किन खोजेँ। टाढा छु भनेर पन्छिन खोजेँ। तर, पनि उनले मानेनन्।
टीका लाउनै पर्छ भन्ने छैन। साँझ एक छिनसँगै बसेर खाना खाऔं भनेको नि, उनले मलाई उम्किन नदिने थप उपाय रचे। खोइँ किन हो, म भीडभाडमा रमाउन्नँ। त्यो उनलाई पनि थाहा थियो। अनि थपे, हामी घरपरिवार बाहेक बाहिरको मान्छे कोही हुँदैन। म प्रयास गर्छु, यत्ति भनेर फोन काटेँ। मन अमिलो पार्दै काममा गएँ। निस्किँदा रात छिप्पिसकेको थियो। चाहेर पनि जान सक्ने अवस्था थिएन। चाहेपछि के नै असम्भव हुन्छ र? सहज चाहीँ पक्कै थिएन। सम्पर्क नै नगरी सुतेँ।
पछि थाहा भो, मैले उनको मन नराम्ररी दुखाएको रहेछु। मैले माफी मागे, आफैलाई धिक्कारे। आखिर आत्मीयता भनेको यस्तै होला दिदी, होइन?
*******
म दिदीलाई चिठी लेखिरहेको थिएँ। साँच्चै के लेखिरहेको थिएँ आफैलाई थाहा छैन। आँखाबाट बगेका आँशु कपीमा खसेका थिए। कपी लतपतिएको थियो। आउन लागेको तिहार सम्झिएँ। बितेका तिहार सम्झिएँ।
दिदी,
गएको तिहारमा निधार खाली भयो। काममा थिए। लञ्चको समयमा फेसबुकमा अरूले भाइटीका लगाइरहेका फोटा देखेँ। मन थाम्न सकिनँ। कहालिएर रोएँ। अरूले के सोच्छन् भन्ने पनि हुँदो रहेनछ। दिदी भाइको हात र निधार नजोडिएको सात वर्ष भइसकेको रहेछ। याद छ? सात वर्षअघि आँगनमा लहरै लागेर टीका लगाएको? मामाहरू पनि हाम्रै घर आउनु भएको? अनि दीपाले बाबुहरूलाई टीका लगाइदिएको? त्यसपछिका तिहार त तिहार जस्तै रहेनन्, केबल पात्रोमा लेखिएका तिथि मिति जस्तै रहे।
तीज र तिहारको सम्बन्ध के छ कुन्नी? दिदी र भाइको सम्बन्ध त यो भन्दा धेरै माथि छ नि दिदी है। घरबाट सँगै स्कुल गएको, स्कुलबाट डोर्याउँदै घर ल्याएको अनि, आफूले नखाई मलाई पहिले खाजा खुवाएको मैले बिर्सेको छैन दिदी। आमाले गाली गर्दा पनि तिमीले फकाएर मलाई खाना खुवाएको अझै सम्झिन्छु। त्यतिबेला म कति छुचो थिएँ नि है। म भात खान्नँ भनेर बाहिर निस्कँदा तिमीले फकाएर भात खुवाउथ्याैं, लुगा मैलो भएछ अर्को लगाऊ म धोइदिन्छु भन्थ्यौ, यस्ता कुरा सम्झिँदा पनि मन भारी भएर आउँछ। मलाई खुसी बनाउन तिमीले के नै बाँकी राख्थ्यौ र?
घाँस काट्न जाँदा मेरो डोको तिमीले नै भरिदिन्थ्यौ। आमाको आँखा छल्ने उपाय पनि तिमीले नै सिकाएकी हौ नि। डोकोको पिँधमा बुटाबुटीको हाँगा काटेर हाल्ने अनि माथि अलिकति भुइँ घाँस काटेर छपनी हालेर आउने। आमालाई नदेखाउन पहिले मेरो डोकोको घाँस भैंसीलाई दिने। होइन त? भैंसी नअघाएपछि मात्रै आमाले थाहा पाउनु हुन्थ्यो नि। यसले आज पनि छले छ भनेर आमा रिसाउँदा तिमीले हैन हैन भनेर मेरो बचाउ गरेको झल्झली सम्झिन्छु दिदी।
तिमी हाम्रो घरको जेठो सन्तान। तिम्रो बिहे हुँदा म सानै थिएँ। सानै थिएँ र त दिदीको बिहेमा पनि रमाइलो लागेको थियो। घरभरि मान्छे। भिनाजु पाएको। जेठो सालो म। म मख्ख थिएँ, खुसी थिएँ। तिमीलाई अन्माउँदा आमा डाँको छोडेर रूनु भएको थियो। तर, म भोलि दिदी र भिनाजुसँगै आउँछन् भनेर खुसी भएको थिएँ। आमाले त विस्तारै मन बुझाउनु भयो। तर, मेरो आँशु भोलिपल्ट मात्रै आयो दिदी। किन थाहा छ? स्कुल जाने बेला मेरो झोला मिलाइदिने कोही भएन, स्कुलबाट फर्केपछि मेरो झोला राखिदिने कोही भएन। बिहान त जसो तसो झोला भिरेर स्कुल गएँ, जब छुट्टी भएर घर फर्केँ, घर सुनसान थियो, मेरो झोला झुण्ड्याइदिने कोही थिएन, मेरो लुगा मिलाइदिने कोही थिएन। जब झोला राख्न आँटीमा गएँ, आफूलाई एक्लै पाएँ, बल्ल तिमी भिनाजुकोमा गएको चाल पाएँ।
डोली अन्माउँदा तिमी डाँको छोडेर रोएकी थियौ। किन रोएको दिदी? भनेर सोध्दा तिमीले कुनै जवाफ दिइनौ, बरू अँगालोमा राखेर माया गर्यौ, केही बोलिनौ। मैले आमालाई पनि सोधेँ, दिदी किन रोएको भनेर। तर, आमा पनि रोइरहनु भयो। म अकमक्क परेँ। जन्मेको, हुर्केको र बढेको घर छाडेर पराइ घर जानुपर्दा तिमी रोएकी रहिछौं अनि छोरीलाई पराइ घर पठाउनु पर्दाको पीडाले आमा रूनु भएको रहेछ। यस्तो कुरा बुझ्ने भएको भए म पनि त रूने रहेछु नि।
मलाई घरिघरि यस्तो लाग्छ, दिदीभाइ, दाजुबहिनी टाढा हुनेहरूलाई त तीज र तिहार नआएकै राम्रो। सँगै हुँदा मात्रै आएपनि त हुने नि। पात्रोमा लेखिदिएको भरमा सबैले मनाउनै पर्छ भन्ने हुन्छ र? तर, चलेको चलन, समाजको रिति हामीले बदल्न नसक्ने रहेछौं। दिदी आज व्रत बस्दै गर्दा भगवानसँग एउटा कुरा माग्न चाहीँ नबिर्सनु है। आउने तीजमा आमाले पकाएको दर खाएर नाच्ने अनि तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको माला लगाउने वर माग्नु है दिदी। मेरो विन्ती।
******
रोकिँदै लेख्दै गरेर दिदीको लागि एउटा चिठी तयार गरेँ। हुलाक गएँ। यो चिठी पठाएर दिदीलाई पनि के रूवाउनु जस्तो पनि लाग्यो। खुसी त दिन सकेको छैन। के आँशु दिनु? बसिसकेका खाटाहरू उप्काएर के घाऊ बल्झाउनु? चिठी लिएरै फर्किएँ।