प्रवासी नेपालीको कुम्भ भेला अर्थात् गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सम्मेलन हुन अब करिब डेढ महिना बाँकी छ । अक्टोबर तेस्रो साता काठमाडौंमा हुने सम्मेलनले आगामी २ वर्षका लागि नेतृत्वसमेत चयन गर्नेछ । राष्ट्रिय समन्वय परिषदको अधिवेशन धमाधम भइरहेका छन् । संघको नेतृत्व लिन चाहनेहरूले आफ्नो दौडधूप पनि बढाइरहेका छन् । आगामी सम्मेलनबाट संघको नेतृत्व लिन चाहेकामध्ये एक हुन्, लन्डन निवासी कुल आचार्य । पर्वतका आचार्य यतिबेला विश्व भ्रमणमा छन् । संस्थाको आदर्श र उद्देश्यलाई नै आफ्नो प्रमुख एजेन्डा भएको बताउने आचार्यले सम्मेलनअघि केही निश्चित एजेन्डाहरू पनि सार्वजनिक गर्ने बताए । अध्यक्षका आकांक्षी आचार्यले पोर्चुगलको राजधानी लिस्बनमा पत्रकार नारायण अर्यालसँग आप्mनो यात्रा र योजनाबारे भलाकुसारी गरेका छन् ।
अचेल कुल आचार्य जमिनभन्दा आकाशमा बढी समय बिताउँछ भन्ने चर्चा चलेको छ नि ?
गत साता त्यस्तै परेको थियो । दश दिनमा ११ फ्लाइट लिएको थिएँ । साइप्रसदेखि माल्टा हुँदै दुईपटक लन्डन टेके । त्यसपछि अमेरिकाका विभिन्न सहर हुँदै क्यानाडा, आयरल्यान्ड हुँदै लन्डन फर्कें । लन्डनमा नेपाली मेला थियो । त्यहाँको मेला सकेर पोर्चुगलका नेपालीहरूलाई भेट्न यहाँ आएको छु ।
के यसलाई चुनावी दौडधूप मान्दा हुन्छ ?
पहिलो कुरा त जिम्मेवारीका रूपमा लिन्छु म यसलाई । गैरआवासीय नेपाली संघ अभियान हो । यो अभियानमा सबै एनसीसीहरूको एजीएम सफलतापूर्वक सम्पन्न गर्नु र सबै नेपालीको भावनालाई सम्मान गर्नु तथा राम्रोसँग चुनाव गराउनु पदीय जिम्मेवारी पनि हो । निरन्तर १२ वर्षदेखि कमिटीमा बसेर काम गरेको छु । त्यसैले पनि आउँदो अधिवेशनमा म अगाडि बढ्ने विचार गरेको हुनाले सँगसँगै यो पनि जोडिन्छ ।
नेतृत्व नै लिने भनेपछि तपाईंसँग के–कस्ता एजेन्डा छन् ?
२ वर्षमा हाम्रो नेतृत्व परिवर्तन हुन्छ । हामीले सकभर व्यक्तिको भन्दा संस्थाको एजेन्डा बनाउनुपर्छ भन्ने मान्यता राख्छु । मैले सधैं यही भन्ने गरेको छु । दोस्रो कुरा अवश्य पनि लिडरसिपमा भिजन हुनुपर्छ र भिजनअनुसार नयाँ आइडिया ल्याउनुपर्छ । मैले यहीअनुसार योजना पनि बनाएको छु । मैले के सोंचेको छु भने जब सबै एनसीसीहरूको एजीएमहरू सकिन्छन्, त्यसपछि आफ्नो घोषणापत्रसहित आउने योजना बनाएको छु । पचासौं लाख नेपालीको धरोहर बनेको संस्थालाई नेतृत्व दिन बिनाभिजन, बिनाप्लान आउने जमर्को पक्कै पनि गरेको छैन । मेरा भिजन र एजेन्डा छिट्टै तपाईंहरूले पाउनु हुनेछ । यद्यपि मैले जे गर्दै आइरहेको छु, नागरिकताका कुराहरू, सम्पत्तिका कुराहरू, नेपाल सरकारसँग गर्ने लबिङका कुराहरू, कानुन बन्दै गर्दा कानुनमा व्यवस्था गर्नुपर्ने कुराहरू, हाम्रा आप्mना प्रोजेक्टहरू जस्तै, भवन, लाप्राक, शंखमूल पार्क किन नहोस् यी सबै मेरो एजेन्डामा पर्छन् । त्यस्तै, डायस्पोराका नेपालीहरूलाई नेपालसँग कसरी जोड्न सकिन्छ भन्ने कुरा, नेपालमा लगानी गर्ने विषयमा तथा संसारभर रहेका नेपालीको बौद्धिक क्षमतालाई नेपालसँग कसरी जोड्न सकिन्छ र बनाएको पुजीँलाई नेपालमा कसरी लैजान सकिन्छ भन्ने मेरा मुख्य एजेन्डा हुनेछन् ।
विदेशिएका नेपालीहरूले तपाईंसँग के अपेक्षा गर्ने ?
हाम्रो नारा नै बाई नेपाली, फर नेपाली भन्ने छ । हामी यहीअनुसार एक–अर्कालाई सम्मान गर्दै डायस्पोरालाई बलियो बनाउने भन्ने कुरामा मलाई विश्वास गर्दा हुन्छ, मैले अहिलेसम्म गरेका काम हेर्दा हुन्छ । दोस्रो कुरा यसलाई बलियो बनाउँदै गर्दा हामी त नेपाली मन, नेपाली पन भएर संसारभर घुमिरहेका छौं । त्यहीअनुसार काम गरिरहेका छौं । यसलाई नेपालसँग जोड्न म सधैं तल्लिन छु । मैले अहिलेसम्म यही नै गरिरहेको छु ।
यो एकल प्रयासले त सम्भव नहोला नि ?
यो सफल पार्न सबै क्षेत्र, वर्ग, विचारलाई समेटेर लैजाने प्रयास गर्छौं । यद्यपि पद थोरै छन्, इच्छा राख्ने सबैलाई नपुग्न सक्छ । दुई–दुई वर्षमा परिवर्तन गर्दै गयौं भने सबैलाई पुग्न पनि सक्छ । भावनालाई समेटेर सबैले काम गर्ने वातावरण बनाएर हामीले अगाडि लिएर जान्छौं ।
यसको अर्थ समूह (टिम) निर्माण भइसकेको छैन ?
टिम निर्माण भइसकेको छैन । सामान्य कुराकानी भइरहेको छ, सक्षम टिम बनाउने प्रयास जारी छ ।
गैरआवासीय नागरिकताको मुद्दा कहाँ पुग्यो ?
यो मुद्दा अहिले संसदको राज्य व्यवस्था समितिमा विचाराधीन छ । छलफल भइरहेको छ । संसदमा छलफल हुँदै गर्दा संशोधनका लागि हामीले केही प्रस्ताव पनि गरेका छौं । संविधानले व्यवस्था गरेअनुसार गैरआवासीय नागरिकता दिनैपर्छ, दिनुहुन्छ पनि । तर पनि सहज रूपमा जस्तै तीन पुस्ता मात्रै नभनियोस्, भाषा बोल्नैपर्ने अप्ठ्यारो नपारियोस्, यद्यपि नेपाली हो भन्ने पहिचान गरेपछि विनाझन्झट दिइयोस् भन्ने हाम्रो माग हो । केहीअघि मात्रै युरोपियन क्षेत्रीय बैठकमा कानुनमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ ।
मैले यसैमा जोड्न चाहेँ, विदेशमा दोस्रो पुस्ता अगाडि आइसक्यो । यही प्रावधान कायम रह्यो भने चौथो पुस्ता पुग्दा त सबै सकिएला नि ?
मेरो मुख्य एजेन्डा नै यही हो । तीन पुस्ता मात्रैको गैरआवासीय नागरिकता हो भने त्यसको अर्थ रहँदैन । म ४७ वर्ष भएँ, मेरा नाति–नातिनी भइसके । भोलि म ७० वर्ष हुँदा मेरा पनाति हुन्छन् । त्यतिबेला उसले लगानी गर्ने बाटो बन्द हुन्छ । यस कारणले पनि यस्तो नगरिदिनुस् भन्ने अनुरोध गरेका छौं, सरकार सकारात्मक छ ।
गैरआवासीय नेपाली संघलाई धनीहरूको क्लब भो भन्ने आम गुनासो छ । श्रमिक तहमा पुग्न सकेन भन्ने पनि छ । यसलाई सम्बोधन गर्ने उपाय के छ ?
पक्कै पनि केही आरोप आउने गरेको हामीले पनि सुनेका छौं । यो धनीहरूको संस्था भन्नुभन्दा पनि धनी बनाउने संस्थाका रूपमा बुझ्नुपर्छ । पक्कै पनि गैरआवासीय नेपाली संघ धन हुनेहरूको मात्रै होइन, मन हुनेहरूको पनि संस्था हो । मन हुनेले पनि यसको नेतृत्व गर्न पाउनुपर्छ , मन हुनेलाई पनि सम्मान गर्नुपर्छ ।
नेतृत्वमा प्रायः धनी वर्ग पुग्ने र श्रमिक वर्ग मतदाता मात्रै हुने गरेका छन् । यो दुई खाले वर्गले तपाईंहरूको कार्यशैली र क्षमतामा केही फरक परेको छैन ?
संसारभर उत्साही भएर सबै सहभागी भइरहनु भएको छ । निर्वाचन र मतदानमा सहभागी हुनु भएको छ । यसकारणले यो संस्थामा धनीहरू मात्रै रमाइरहेका छैनन्, धन हुने र नहुने तथा मन हुनेहरू पनि सँगसँगै रमाउने वातावरण बनेको छ । तर, यत्ति मात्रै के हो भने खाडल नबनोस् भन्ने नै हो । संस्थामा अर्को स्रोत छैन । आप्mनै स्रोतमा हिँड्न सक्ने र ठाउँ–ठाउँमा पुग्न सक्ने पक्कै हुनुपर्छ । योसँगै मन र भावना हुनेहरू नेतृत्वबाट बाहिर हुनुपर्छ भन्ने कुरा पटक्कै होइन । संस्थालाई आत्मनिर्भर बनाउन अहिले केही काम गर्नुपर्ने छ । जस्तै फाउन्डेसन बनाएर केही काम गर्ने योजना बनाएका छौं, भिजन २०–२० को एउटा योजना छ, यसमा संस्थालाई आत्मनिर्भर बनाउने थुप्रै योजना छ । यसलाई अंगीकार गर्दै संस्थालाई मजबुद बनाउन सके भोलिका दिनमा धन हुनेले मात्रै होइन, मन हुनेले पनि सहजै संस्थाको नेतृत्व लिन सक्छन् ।
यो गैरराजनीतिक संस्था होइन त ?
हो, यो गैरराजनीतिक संस्था हो ।
किन बेला–बेलामा राजनीतिक आवरण देखिन्छ त ?
मलाई यही अचम्म लाग्छ । मैले भन्ने पनि गरेको छु । कहिले–काहीँ मलाई पनि आरोप आउने गर्छ । मेरो इतिहास हेर्नुस्, मैले राजनीति गरेको ठाउँ लिएर आउनुस् भन्ने गर्छु । मैले १२ वर्ष संघमा बसेर काम गरेँ । म के भन्छु भने साथीहरूले कहिलेकाहीँ आप्mनो अनुकूलता भयो भने राजनीति नहुने, प्रतिकूल भयो भने राजनीति गर्यो भनेर अफवाह फैलाउने काम गर्नु हुन्छ । सच्चा भावले काम गरौं, अगाडि बढौं भन्न अनुरोध गर्न चाहन्छु । अहिले एनसीसी एजीएमहरूमा पनि जानेर, नजानेर राजनीतिक रङहरू देखिएको छ । यसलाई रोक्न नेतृत्वहरूले सजग भएर हेर्नुपर्ने आवश्यकता छ । तर पनि हामी राजनीतिक प्राणी हौं । राजनीतिक चेतना भएकैले आवरण नओढीकन काम गर्न सक्ने हुनुपर्छ ।
जारी एनसीसीहरूको अधिवेशनलाई कसरी हेर्नुभएको छ ?
उत्साहित छु । सबै उत्साहित हुनुहुन्छ । माल्टामा भर्खरै अधिवेशन भयो । यो कान्छो एनआरएन हो । म पनि पुगेँ त्यहाँ । त्यहाँ दुई प्यानलमा उम्मेदवारी दिनुभयो । अनि मैले तपाईं कान्छो एनआरएन हो, अहिले चुनाव नगरिदिनुस्, दुई प्यानलका काम गर्न चाहनेहरू मिल्नुस् भनेर अथक प्रयास गरेँ । सहमति पनि भयो । यसलाई उत्साहकै रूपमा लिनुपर्छ । तर, चुनाव हुँदैमा गलत भयो भनेर बुझ्नु हुदैन ।
अहिले हामी युरोप छौं । कुल आचार्य युरोपमै कमजोर छ भन्ने चर्चा चलेको छ । के यो सत्य हो ?
त्यो त भोलिको रिजल्टले देखाउँछ । मलाई लाग्छ, युरोप मेरो क्षेत्र हो, मेरो घर हो । मैले यहीँ बसेर काम गरेको छु । सबैलाई थाहा छ । मलाई लाग्छ, सबैले माया गर्नुहुन्छ । उहाँहरूको मायाले म बलियो छु जस्तो लाग्छ । मेरोविरुद्ध कसैले अफवाह फैलाएको हुन सक्छ ।
फेरि एकपटक राजनीतिकै प्रसंग जोडौं । युरोपका विभिन्न देशमा जारी एनसीसीहरूको अधिवेशनमा राजनीतिक प्यानलकै रूपमा चुनाव भइरहेको छ नि ? के यो जायज हो ?
चुनाव हुनु नराम्रो होइन । तर, राजनीतिक दलीय रूपमा हुनु चाहिँ सहज होइन । नेपालदेखि यहाँसम्मका राजनीतिक नेतृत्वले पनि यसमा ध्यान दिनु जरुरी छ । हामीजस्ता अभियन्ताले पनि ध्यान पुर्याउनुपर्छ ।
अहिले त्यस्तो केही प्रोजेक्ट छ नेपालमा लगानीका लागि तपाईमार्फत ?
मैले नेपाल सरकार र सरोकारवालाहरूसँगको कुराकानीमा भन्ने गरेको छु कि सबैभन्दा पहिले नेपाली डायस्पोराको अवस्था बुझ्नु जरुरी छ । पहिलो पुस्ताले विदेशमा आर्जन गरेको सम्पत्ति कुन हिसाबले नेपालमा लगानी गर्न सक्छ भन्ने कुरा सरकारले स्पष्ट पार्नुपर्छ । कानुन परिमार्जन गर्नुपर्ने हुन्छ । व्यावसायिक रूपमा दक्ष नेपालीहरूले पनि नेपालमा केही गर्न चाहन्छन्, तर, उनीहरूले सबै लगानी गर्न सक्दैनन् । त्यसलाई पनि एकीकृत गरी संसारभरका नेपालीको अपनत्व हुने गरी सरकारले योजना बनाउनुपर्छ । जस्तै विदेशमा बैंकमा राखेको पैसाको ब्याज आउँदैन । नेपालमा त बैंकमा राखेको पैसाको पनि ब्याज आउँछ नि । विदेशी बैंकमा रहेको नेपालीहरूको पैसा स्वदेश फर्काउन सहजीकरण गर्नुपर्छ । दोस्रो कुरो डायस्पोरासँग भएको पुजीँको अध्ययन गरी अगाडि बढ्नुपर्छ । सरकारसँग अहिले १० अर्बको लगानीको विषयमा सम्झौता गरेका छौं । यसमा साना–ठूला सबैले लगानी गर्न सकून् । लगानी गर्न थुप्रै इच्छुक छन् । हामीले राम्रो योजना बनाउन सक्यौं भने पक्कै पनि लगानीका अन्य विषयहरू पनि खुल्नेछन् । यसका लागि हामीले सरकारलाई पनि अनुरोध गरेका छौं ।
अब एक शब्दमा जवाफ दिनुस् है ::
लन्डन कि काठमाडौं ?
काठमाडौं
लगानी कि संकलन ?
लगानी
संस्था कि व्यक्ति ?
संस्था
साहु कि समाजसेवी ?
समाजसेवी
देश कि विदेश ?
देश
नारा कि व्यवहार ?
व्यवहार
अहिले हामी पोर्चुगलको राजधानी लिस्बनमा छौं । यहाँका नेपालीलाई के सन्देश दिन चाहनुहुन्छ ?
सर्वप्रथम त यो अवसर दिनुभयो, यसका लागि धन्यवाद दिन चाहन्छु । पोर्चुगल युरोपमा यूकेपछि सबै भन्दा बढी नेपाली रहेको देश हो । आप्रवासीका विषयमा पनि पटक–पटक समस्या हुने गरेको छ । म यहाँ धेरैपटक आएको छु । मैले बुझेको छु । यहाँका नेपालीले भोग्नुपरेको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघले काम गर्नुपर्छ । त्यस्तै, प्रारम्भिक चरण पार गरी व्यापार व्यवसाय सुरु गरेका नेपालीहरू पनि कैयौं हुनुहुन्छ । म उहाँहरूलाई अनुरोध गर्छु कि एक नेपालीले अर्को नेपालीलाई सहयोग गरौं । हामी जसरी दुःख पायौं, आगामी पुस्ताले त्यति दुःख नपाउन् भन्नेमा सचेत रहन म पोर्चुगलवासी सबै नेपालीहरूलाई अनुरोध गर्दछु । हामी जसरी दुःख पाएर विदेशिन बाध्य भयौं । अब आगामी पुस्ताले त्यस्तो दुःख नपाउन्, मेरो अनुरोध छ ।