दोलखाको पर्यटकीय स्थल शैलुङमा शनिबार हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड लाग्यो। शैलुङ डाँडा दोलखाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित छ।
समुन्द्री सतहबाट करिब ३४०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडा धार्मिक स्थलको रूपमा पनि परिचित छ। यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारबर्षे मेला जस्ता चाडमा दर्शनार्थीको भीड लाग्ने गर्छ। यहाँ १०० वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरू छन्।
यी थुम्कामा पर्ने हिउँको मज्जा लिन हरेक वर्ष हिउँप्रेमीको भीड लाग्ने गर्छ।
यतिखेर दोलखाका डाँडा हिउँले ढाकिएका छन्। शैलुङमा हिउँ खेल्न जानेको भीड छ। तर बाटोको समस्याले आन्तरिक तथा बाहय पर्यटकहरु आजित छन्। शैलुङसम्म जाने सडक निर्माण सुरु भएको ४ वर्षभन्दा बढी समय बितेपनि काम अघि बढेको छैन।








