रामेछापको मन्थलीस्थित सामुदायिक आँखा केन्द्र आँखा नदेख्नेहरुका लागि साहरा बनेको छ।
मान्छे जन्मेपछि संसार देखाउने अभिन्न अंग आँखा हो। तर, आफ्नै असावधानी वा अन्य कुनै कारणले धेरै मानिसले आँखाको ज्योति गुमाएर जीवनभर अन्धकारमै जीवन बितइरहेका छन्। सामुदायिक आँखा केन्द्र मन्थली अन्धकारमा बस्न बाध्य सर्वसाधारणको साहरा बन्दै गएको छ।
सदरमुकाम मन्थलीमा सन् २००१ मा स्थापना भएको केन्द्रमा बालकदेखि बृद्धसम्मको उपचार हुँदै आएको छ। वर्षौंदेखि आफूजस्ता आँखा नदेख्ने सर्वसाधारणलाई आँखा अस्पतालले गाउँमै गएर खोजी–खोजी सदरमुकाम ल्याएर शल्यक्रियामार्फत आँखा देख्ने बनाएपछि रोगी यमबहादुर रोका कम्ति खुसी छैनन्।
समाजसेवी तथा वरिष्ठ साहित्यकार स्व. जगदीश घिमिरेको विशेष पहलमा स्थापना भएको आँखा केन्द्रले दुई दशकको दौरनमा करिब एक लाख आँखाका रोगीको उपचार गरेको रामेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख बासुदेव अधिकारी बताउँछन्। विभिन्न दातृ निकायबाट चल्दै आएको आँखा केन्द्रले सर्वसाधारणलाई कम शुल्कमा दिँदै आएको सेवालाई निरन्तरता दिन भने चुनौती थपिँदै गएकाले स्थानीय सरकारले ध्यान दिनु पर्ने पनि प्रमुख अधिकारीले बताए।
रामेछाप लगायत छिमेकी जिल्लाका सर्वसाधारणको आँखाको साहरा बन्दै गएको यो केन्द्रमा भौतिक तथा अन्य सेवा सुविधा थप्न सके आँखाका रोगीहरुले अझ प्रभावकारी सेवा पाउने छन्। जिल्लाको एकमात्र यो आँखा केन्द्रले विभिन्न स्थानीय संघ संस्थासँगको समन्वयमा गाँउ घरमा निःशुल्क आँखा शिविरसमेत सञ्चालन गर्दै आएको छ।