रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा मिर्गौलाको निःशुल्क डायलिसिस सेवा सुरु गरिएको छ।
बुधबारदेखि ५ वटा मेसिनमार्फत सो सेवा सुरु गरिएको अस्पताल सञ्चालन समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिए। सो अस्पताललाई चँुजी फाउण्डेसन मलेसियाले उपचारका लागि आवश्यक उपकरण अनुदानमा दिएको थियो।
केन्द्रीय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा अस्पतालले मन्थली मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा आरम्भ गरेको छ। रामेछापमा एकसय पचास भन्दा बढी मिर्गौला रोगी छन्।
रामेछापसहित सोलुखुम्बु, ओखलढुंगा, दोलखा, सिन्धुली, महोत्तरीलगायतका जिल्लाका विरामीलाई पनि उपचारको लागि मन्थली पायक पर्ने घिमिरले जानकारी दिए।
अस्पताल हातामा पुजापाठ गरी शुरु गरिएको उपचार केन्द्रमा एक पटकमा ५ जना विरामीको डायलिसिस गर्न सकिन्छ। एकजना विरामीको उपचारमा ४ घण्टा लाग्ने भएकोले एक दिनमा १५ जना विरामीको उपचार हुने घिमिरेले बताए।
अस्पताल तामाकोसी सहकारी अस्पताल मन्थलीस्थित मन्थली बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा सञ्चालित छ।
यसबाट धेरै मृगौला रोगीले सहजै सेवा पाउने सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले बताए।