रामेछापको मन्थली नगरपालिका वडा नम्बर १४ का अध्यक्ष भरतसिंह वाइबाले आफूले पाउने तलब भत्ता यसै वर्षदेखि वडाका जेष्ठ नागरिक, सुत्केरी र विद्यार्थीलाई दिने घोषणा गरेका छन्।
सुत्केरीका लागि ३ हजार र विद्यार्थीका लागि मासिक ३ सयका दरले दिने उपलब्ध गराउने वडाध्यक्ष वाइवाले बताए। सुत्केरी महिला तथा नवजात शिशुको स्याहार र खुराकका लागि परिवारलाई सहज होस् भनेर आफूले पाउने तलब भत्ताबाट सुत्केरी भत्ता दिन लागिएकोे उनले बताए।
यसैगरी, सबै खाले विद्यार्थीलाई पढाइमा सहज होस् र बालबालिका पढ्नका लागि विद्यालयसम्म आउन् भनेर शैक्षिक भत्ता दिने तयारी भएको वाइबाले बताए। उनले शारीरिक अशक्त दुई जनालाई आफ्नो पारिश्रमिकबाट मासिक १ हजार ५ सय दिने पनि घोषणा गरेका छन्।
शासक बन्न निर्वाचित भएको नभई जनताको सेवा गर्न आएकाले आफूले सकेसम्म नागरिकको भलाइमा काम गर्ने उनले बताए।
यसअघि उनले वडा कार्यालय बनाउन चार लाख रुपैयाँमा जग्गा किनेका थिए। उनले यसअघिको तलबबाट वडाभित्र महादेवको मन्दिर बनाउन ७१ हजार रुपैयाँ दिएका थिए। वाइवा स्थानीय तहको निर्वाचनमा राप्रपाबाट चुनाव जित्ने एक मात्र वडाध्यक्ष हुन्।