कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाको लबनी चौराहामा मास्क नलागाई हिड्नेलाई कारवाही गर्न खोज्दा प्रहरीमाथि हातपात गर्ने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।
गत सोमबार स्थानीयलाई मास्क लगाउन आग्रह गर्दा प्रहरी चौकी लबनीमा कार्यरत ६ जना प्रहरीमाथि हातपात भाएको थियो। हातपातको क्रममा ३ जना गम्भीर घाइते भएका थिए भने ३ जनालाई सामान्य चोट लागेको थियो।
गम्भीर घाइतेमध्ये ३ जनाको थप उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। कोरोना भाईरसको उच्च जोखिम बढेपछि गृह मन्त्रालय र स्थानीय प्रशासनको निर्देशन अनुसार प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान जारी राखेको हो।
प्रहरीमाथि हातपात गरी फरार भएका दुई परिवारका ८ जनामाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको मल्लले बताए। ज्यान मार्ने उद्योगमा १० वर्षसम्म कैद हुन सक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए। घटनापछि उनीहरु फरार उनीहरुको खोजी भइरहेको छ।