कपिलबस्तुमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कपिलबस्तुमा कोरोनाका कारण उच्च जोखिममा रहेकोले सो को मध्यनजर गरी पुनः आज (आइतबार) राति १२ बजे देखि भदौ ७ गते राति १२ बजे सम्म एक साताका लागि थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दृर्घ नारायण पौडेलले बताए ।
यस अघि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
बैठकले अत्यावश्यक बाहेकका सबै खाले व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको हो । ‘बैठकले अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबाहन र राजमार्ग भएर गुड्ने सवारी साधनहरु (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेकका यस जिल्ला भित्र गुड्ने सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।
त्यसै गरी सबै किसिमका व्यापार, व्यवसाय बन्द गर्ने, उद्योग धन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्युनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न सक्ने, सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजे देखि १० बजेसम्मको समय छुट्याइएको प्रजिअ पौडेलले बताए ।
प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तु सबैभन्दा धेरै कोरोना संक्रमित रहेको जिल्ला हो । कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ९ सय ४५ रहेको छ ।
जिल्लामा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ । जो कपिलबस्तु नगरपालिका वडा नं. २ का ४२ वर्षिय पुरुष र मायादेवी गाँउपालिका वडा नं. ७ का ४० वर्षिय पुरुष रहेका छन् ।