कपिलवस्तु जिल्लामा बन्यजन्तुको चोरी शिकारी बढे संगै पछिल्लो तीन महिना यता ६ वटा निलगाई मृत भेटिएका छन्। बन्दाबन्दी शुरू भएपछि संरक्षित वन वन्यजन्तुको शिकार गर्ने क्रम बढेसँगै निलगाई मृत अबस्थामा भेटिएका हुन्।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं ९ शिवभारी गाउँको खेतमा पछिल्लो समय एक निलगाई मृत भेटिएको थियो। योसंगै मृत निलगाईको संख्या ६ पुगेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ।
२०७६ फागुन १३ गते महाराजगञ्ज नगरपालिका वडा नं ५ पण्डितडिहवामा एक निलगाई, चैत ३ गते महाराजगञ्ज नगरपालिका वडा नं ७ कुशहवामा अर्को एक मृत निलगाई फेला परेको थियो। त्यस्तै चैत १५ गते शिवराज नगरपालिका ७ गडगौडामा एक मृत निलगाई फेला परेको थियो।
यसैवीच, नयाँ बर्ष शुरु भएपछि वैशाख ९ गते महाराजगञ्ज नगरपालिका वडा नं ७ कुशहवामा एक , वैशाख १५ गते कृष्णनगर नगरपालिका वडा नं ८ लोहरौलामा एक निलगाई मृत भेटिएको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन अधिकृत दुर्गा बहादुर कार्कीले जानकारी दिए।
कपिलवस्तुको वनका कर्मचारीले सुरुको अवस्थामा सरकारले लागु गरेको लकडाउनको निर्देशनको पालना गर्दा वन तस्करहरु सक्रिय भएकोले वन्यजन्तु र काठ चोरी निकास बढेको हो। वन क्षेत्रमा वन रक्षक र प्रहरी परिचालन गरिएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका वन अधिकृत एजाज अन्सारीले बताए। मृत भेटिएका निलगाईलाई गौतमबुद्ध डिभिजन वन कार्यालय नजिकै खडल खनी गाडीएको वन अधिकृत अन्सारीले उल्लेख गरे।
बन्दाबन्दीमा वन कर्मचारी बहिरा ननिस्किएपछि शिकार गर्नेहरुले मौका छोपेर वन्यजन्तुको शिकार गरेका हुन्।वन्यजन्तु चोरी सिकाई गरेको प्रमाणित भए वन्य जन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वाही हुनेछ। कसैको कसुर प्रमाणित भए ६ महिनादेखि १५ बर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना गर्ने वन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ।