विश्वभर कोरोनाको त्रास फैलिरहदा त्यसलाई मध्यनजर गरी जिल्ला अदालत कपिलबस्तुले सर्बोच्च अदालतको निर्णय अनुसार जिल्ला करागारबाट ९ जना कैदी बन्दीलाई रिहा भएका छन्।
सर्वोच्च अदालतको गत चैत ७ गतेको निर्णय अनुसार जिल्ला अदालतको आदेशपछि उनीहरुलाई रिहा गरिएको कारागारका जेलर राकेश पाण्डेयले बताए। कैदी बन्दीको निबेदन र जिल्ला न्यायाधीशको आदेश अनुसार उनीहरुलाई रिहा गरिएको जेलर पाण्डेयले बताए।
मुलुकी फौजदारी संहिता कार्यविधि २०७४ को दफा १ सय ५५ अनुसार एक बर्षसम्म कैद बाँकी रहेका कैदी बन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायाधीशको ईजलासबाट छाड्ने ब्यवस्था मिलाउन सर्वोच्चले निर्देशनात्मक बिज्ञप्ती जारी गरेको थियो।
रिहा गरिएका कैदी बन्दीमध्ये आगलागिका ४, लुटपाट कुटपिटका २, बाहुविवाहका २ र सवारी ज्यान उद्योगका १ जन छन्। दुई ब्लकमा २३० जनाको क्षमता रहेको कारागारमा अहिले ३८५ कैदीबन्दी छन्।
एकै ठाउँमा धेरै मानिस हँुदा कोरोना फैलन सक्ने भएकाले कारागारमा सचेतना कार्यक्रम समेत चलाईएको जेलर पाण्डेयले बताए। कोरोना भाइरस फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारागार ब्यवस्था बिभागको परिपत्र अनुसार कैदीबन्दीका आफन्तहरुलाई भेटन दिने कार्यक्रम समेत हाललाई रोकिएको छ।