जिम्मेवार तहमा बसेकाहरुले आसेपासेलाई अनुदानको रकम पोसेर वास्तविक तरकारी किसानलाई वेवास्ता गरेको भन्दै समाजवादी पार्टीले त्यसको बिरोध गरेको छ।
उसले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई ज्ञापनपत्र बुझाउँदै अनुदानको रकमबाट के कसरी काम भइरहेको छ त्यसको अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। तरकारी जोन संचालक समितिको विहिबार वसेको बैठकमा समितिमा बसेका सदस्य एवम् पदाधिकारीहरुले प्रत्येक वर्ष आफ्नो वा आफ्ना घर परिवारको सदस्यहरुको नाममा अनुदान कार्यक्रम लिएको तथा एउटै व्यक्ति वा समुहले एक भन्दा बढी कार्यक्रम लिएर जिल्लाका वास्तविक तरकारी किसानलाई अनुदानबाट बंचित गराएकोमा बिरोध गरेका छन्।
समितिका पदाधिकारीले मानोमानी ढंगले अनुदानको पम्पसेट, ट्क्टर आसेपासेलाई दिइएको भन्दै वास्तविक किसानलाई दिलाउनु पर्ने बताए समाजबादीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले। बैठकमा समाजवादीका पार्टीका प्रदेश सदस्य एवम् तरकारी जोन संचालक समितिको सदस्य संदिप कुमार पाण्डेयले अनुदानको रकम के कसरी प्रयोग भइरहेको छ भनेर जानकारी माग्दासमेत बेवास्ता गरिएकोमा आपत्ति जनाए।
जिल्ला प्रशासनले कारवाही नगरेमा समाजवादी पार्टी विभिन्न किसिमको चरणबद्ध आनदोलन गर्ने यादवले बताए। ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले यस विषयमा तत्कालै छानविन गरी दोषीलाई कारवाही गर्ने बताएका छन्। ज्ञापन पत्र बुझाउन जिल्ला अध्यक्ष यादव सहित, पुर्व मन्त्री दान बहादुर चौधरी, प्रकाश यादव, इरफान खान संदिप पाण्डेय लगायतको उपस्थिति रहेको थियो।