प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटार काठमाण्डौं अन्र्तगत शितभण्डार निर्माण गर्ने कार्यको जिम्मेवारी पाएको मायादेवी एग्रो फर्म प्रा.लि.का संचालकहरु रकम लिएर फरार रहेको भन्ने समाचार प्रति प्रा.लि.का संचालकहरुले आपत्ति जनाएका छन् ।
प्रा.लि.ले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रा.लि.का अध्यक्ष काशीराम घिमिरेले केही संचार माध्ययममा प्रा.लि.का संचालकहरुले २ करोड २० लाख रुपैया पेश्की लिई फरार रहेको भन्ने समाचार प्रति आफ्नो गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । आफूहरु निरन्तर रुपमा परियोजनाको केन्द्रीय कार्यालयको सम्पर्कमा रहेको र कार्य प्रारम्भका प्रारम्भिक प्रक्रियाहरु पूरा गर्न तर्फ लागिरहेको अध्यक्ष घिमिरेले बताए ।
प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजनासंग गत वर्षको चैत्र २१ गते संझौता भई प्रा.लि.ले गत साउन महिनामा परियोजनाबाट पहिलो किस्ता स्वरुप पेश्की १ करोड ९३ लाख रुपैया लिएको र काम अघि बढिरहेको अवस्थामा संचालकहरु पेश्की लिएर फरार भन्ने समाचार प्रकाशित हुनु निकै दुखद अवस्था रहेको अध्यक्ष घिमिरेले बताए । हामीले २ करोड रुपैयाको बैक ग्यारेन्टी दिएर १ करोड ९३ लाख रुपैया पेश्की लिएका हौं, अध्यक्ष घिमिरेले भने, “आफ्नो श्री सम्पत्ति सवै बैंकमा राखेर राज्यलाई वैंक ग्यारेन्टी बुझाएर पेश्की रकम लिएका हौं, प्रक्रियागत रुपमा केही प्रतिवेदन आउन बांकी रहेका कारण काम केही समय मात्रै ढिलो भएको हो ।” हामी रकम लिएर फरार भएका होईनौं, अध्यक्ष घिमिरेले भने ।
कपिललवस्तु नगरपालिका वडा नं. ६ मा निर्माण गर्न लागिएको शित भण्डार कार्यको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको र त्यस लगत्तै निर्माण कार्य शुरु हुने प्रा.लि.का संचालक अनिल क्षेत्रीले बताए । संझौता अनुसार प्रा.लि.को स्वलगानी १४ करोड ८४ लाख ४४ हजार ५ सय ५७ पैसा ७० र नेपाल सरकारको अनुदान ९ करोड ६८ लाख रुपैया गरी जम्मा कुल २४ करोड ५२ लाख ४४ हजार ५ सय ५७ मा सुविधा सम्पन्न आधुनिक शित भण्डारको निर्माण हुने बताईएको छ । सरकारसंगको संझौता भए अनुसार हामीले २०७७ सालको चैत्र २० गते कुनै पनि हालतमा निर्माण कार्य सम्पन्न गरी शित भण्डारणको सेवा प्रवाह गर्ने अध्यक्ष घिमिरेले दावी गरे ।
शित भण्डार संचालनमा आए पछि कपिलवस्तु जिल्ला र आसपासका छिमेकी जिल्लाका कृषकहरुलाई हरियो तरकारी र फलफुल भण्डारणका लागि निकै सहज हुने कपिलवस्तु नगरपालिका वडा नं. ६ का अगुवा कृषक उमेश पाण्डेयले बताए ।