विद्युत चुहावट नियन्त्रणका लागि गएका प्राधिकरणका कर्मचारीमाथि हातपात गर्नेहरुलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले निर्देशन दिएका छन्।
कार्बाहीको माग गर्दै नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख जयकुमार यादवको नेतत्ृवमा प्रशासन कार्यालयमा पुगेका प्रतिनिधिमण्डलका सामु प्रजिअ श्रेष्ठले प्रहरी उपरीक्षक दीपशमसेर जबरा र प्रहरी नायब उपरीक्षक सुनिल मल्ललाई घटनामा संलग्नहरुलाई तत्कालै पक्राउ गर्न निर्देशन दिएका हुन्। माहोम्मद युसुफ खा र याकुफ खाको अगुवाईमा बुधबार कर्मचारीमाथि हातपात भएको थियो।
प्रहरी नायब उपरीक्षक मल्लले घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको बताए। कार्यालय प्रमुख यादवले दोषी उपर कारबाही नभएसम्म ब्ल्याक आउट जारी रहने बताए।
बुधवार राति बिद्युतका कर्मचारीमाथि कुटपीट गरिएपछि कपिलस्तुको सुद्धोदन गाउँपालिका– १ छपियामा ब्यालक आउट गरिएको थियो।