कपिलबस्तु जिल्लाको कपिलवस्तु नगरपालिका क्षेत्रलाई फुसको घर रहित नगर बनाउने नगर प्रमुख किरण सिंहले घोषणा गरेका छन्।
अभियानको शुरुवात गर्दै कपिलवस्तु नगरपालिका १ का फुसको घर भएका सर्वसाधारणलाई नगर प्रमुख सिंहले निशुल्क जस्ता पाता वितरण गरे।
फुसको छानो विस्थापित गर्ने अभियान अन्र्तगत वडा नम्बर १ मा ३० घरधुरीलाई जस्ता पाता वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्यले बताए।
यो अभियानको लागि गत वर्ष ६० लाख बजेट छुट्टयाइएको थियो। सोही रकमबाट जस्ता पाता खरिद गरिएको हो। सोही प्रयोजनका लागि चालु आर्थिक वर्षमा १ करोड छुट्याइएको नगर प्रमुख सिंहले जानकारी दिए। निर्वाचनका बेला जनतामाझ गरेका प्रतिवद्धता पूरा गर्ने अभियानमा आफु जुटिरहेको नगर प्रमुख सिंहले बताए।
जस्ता पाता वितरण गर्नको लागि वडा नम्बर १ मा ३० घरधुरी, वडा नं. २ मा ८१ घरधुरी, वडा नं. ३ मा १ सय ९१ घरधुरी, वडा नं. ४ मा २ सय ५ घरधुरी, वडा नं. ५ मा ८२ घरधुरी, वडा नं. ६ मा १ सय ४६ घरधुरी, वडा नं. ७ मा ९८ घरधुरी, वडा नं. ८ मा ७५ घरधुरी, वडा नं. ९ मा १ सय ७३ धर धुरी, वडा नं. १० मा ८५ घरधुरी, वडा नं. ११ मा १ सय ६२ घरधुरी र वडा नं. १२ मा १ सय १७ घरधुरी छनोट गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा अध्यक्ष रुद्र प्रसाद गैरेले बताए। जस्ता पाता वितरण कार्यक्रममा वडा अध्यक्ष शिव प्रसाद पाण्डे लगायतको उपस्थिति थियो।