जिल्लाको हुलाकी राजमार्ग तौलिहवा–बहादुरगंज सडक निर्माण गर्दा १ सय ७५ घर विस्थापित हुने भएका छन् । सडक निर्माण गर्दा सडकमा घरबार परि बिस्थापित हुनु पर्ने नागरिकलाई क्षतिपुर्ति दिनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो ।
सडक बिस्तारका क्रममा माहाराजगंज नगरपालिका भित्रकै करिब १ सय ७५ बढि घर परिवार सडकमा घर पर्दा बिस्थापित हुनु पर्ने अवस्था रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । हाल हुलाकी राजमार्ग आयोजनाले तौलिहवा–बहादुरगंज सडक निर्माणको कार्य अगाडी बढाउनुका साथै केन्द्रबाट दायाँ र बायाँ गरि १५÷१५ मिटर सडक खाली गर्न सार्वजनिक सुचना जारी गरेको छ ।
स्थानियले बुझाएको ज्ञापनपत्रको बोधार्थ प्रदेश ५ का मुख्यमन्त्री, हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिंङ्गे र माहाराजगंज नगर कार्यपालिकालाई पठाइएको छ । ज्ञापनपत्रमा आफुहरु बिकास बिरोधी नभएको उल्लेख गर्दै नगरपालिकाको वडा नम्बर २ को बरगदा गाँउको दक्षिणबाट बाईपास सडक निकाल्न वा साविककै सडकलाई बिस्तार गर्दा ६९ परिवार उठिबास हुनु पर्ने भएकाले उचित क्षतिपुर्ति वा मुआब्जा उपलब्ध गराईदिन माग गरिएको छ ।
हालकै चलनचल्तीको सडकबाटै पिच बाटो बनाउदाँ ६९ घर मुलीको ८५ घरधुरी र एक मदरसा समेत सडकमा पर्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा सम्मानित सर्वोच्च अदालतले बिगतका समयमा सडक बिस्तारका क्रममा घरबार बिहिन भएका स्थानियलाई मुआब्जा उपलब्ध गराउन दिएको परमादेशका नजिरहरु समेत समावेश गरिएको छ । आफूले नागरिकका माग सम्बन्धित स्थानमा प्रेषित गर्ने प्रजिअ श्रेष्ठले प्रतिबद्धता जनाए ।
ज्ञापनपत्र बुझाउन आएकी वडा नम्बर २ बरगदा कि वुन्ना जोल्हाले बर्षौ देखि दुखः झेल्दै आएका आफुहरुलाई हुलाकी निर्माण हुदाँ खुसी लागे पनि सडक बिस्तारका क्रममा घरबार बिहिन हुनु पर्दा दुखः लागेको बताईन । उनले भनिन “हुलाकी बाटो पनि बनोस अनि हामी घरबार बिहिन पनि हुन नपरोस” ।
माहाराजगंज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मोहम्मद हुसेनले आफुहरु बिकास होस भन्ने पक्षमै रहेको बताए । आफुहरुले सडक बिस्तारको कार्यलाई पुर्व रुपमा सहयोग गर्ने स्पष्ट पार्दै घरबार बिहिन हुने नागरिकलाई राज्यले बैकल्पिक व्यवस्था, मुआब्जा वा क्षतिपुर्ति दिनु पर्ने माग सहित ज्ञापनपत्र दिईएको उनले बताए ।
बिगतमा कतै ८ मिटर त कतै १२ मिटरमा घर बनाउदाँ कहि कतैबाट रोक छेक नभएकै कारण अहिले वडा नम्बर २ को बरगदा गाँउमा मात्रै ६९ घरमुलीका ८० घर र १ मदरसा सडक बिस्तारमा पर्ने जानकारी दिए । “हामी बिकासका बाधक हुनै सक्दैनौ । तर नागरिकलाई समेत बिस्थापित नहुन दिन क्षतिपुर्ति वा मुआब्जा दिन आवश्यक छ, वडा अध्यक्ष हुसेनले भने ।'
नगर प्रमुख अब्दुल कलाम खाँले सडक निर्माण र बिस्तारका क्रममा माहाराजगंज नगरपालिकाको वडा नम्बर २ को बरगदा र गैडहवा तथा वडा नम्बर ४ को राजपुरको करिब १ सय ७५ बढि घरधुरी बिस्थापित हुने अवस्था रहेको बताए । उनले बाटोमा घर परि बिस्थापित हुनु पर्ने परिवारलाई राज्यबाट बैकल्पि व्यवस्था वा क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने माग गरे ।
“बिकास कार्यमा साझा सहमति र नागरिकको मागमा ऐक्यबद्धताका लागी ज्ञापनपत्र बुझाउन नगरबासी सगै आएको छु ।” नगर प्रमुख खाँले भने । “हाल सम्मका प्रतिपादित नजिरका आधारमा बाटोमा घरबार परि बिस्थापित हुने नागरिकलाई राज्यले आवश्यक क्षतिपुर्ति उपलब्ध गराउनु पर्छ भन्ने हाम्रो मान्यता हो । ” उनले बताए ।