रूपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा शनिबार वृक्षरोपण गरेको छ ।
‘ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नारा साथ सरसफाइ र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले दिवसका अवसरमा ६ लेन सडकको भलवारीमा वृक्षरोपण गरेको हो ।
नेपालमा हरेक वर्ष असार १४ गते वृक्षरोपण दिवस मनाउने गरिन्छ । नेपाल सरकारले आगामी आव ०७६/७७ लाई वृक्षरोपण वर्षका रूपमा मनाउने निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकाले दिवसका अवसरमा ६ लेनको ‘ग्रिनरी जोन’मा स्टोनियाका झन्डै २ सय ५० बिरुवा रोपेको हो ।
वृक्षरोपण आरम्भ गर्दै नगर प्रमुख वासुदेव घिमिरेले रोपिएका बिरुवाको भविष्यमा गर्नुपर्ने हेरचाहमा समेतमा सबैको ध्यान पुग्नुपर्ने बताए । तिलोत्तमा नगरपालिकाले गत वर्षबाट वृक्षरोपण सप्ताह आयोजना गर्दै आएको र यो वर्ष साउन १ बाट वृक्षरोपण सप्ताह सञ्चालन हुने उनले जानकारी दिए । नगर प्रमुख घिमिरेले आफ्नो घरआँगन, खाली भू-भाग तथा उपयुक्त स्थानमा फलफूल तथा वनस्पतिका बिरुवा रोप्न नगरका बासिन्दालाई आग्रहसमेत गरे ।
विगत वर्षमा जस्तै यो वर्ष पनि नगरवासीलाई वृक्षरोपण सप्ताहका अवसरमा अनुदानमा बिरुवाहरू उपलब्ध गराइने उनले जनाए । उनले टोल विकास संस्था तथा वडा कार्यालयमा सम्पर्क राखेर अनुदानमा बिरुवाहरू पाइने जानकारी दिए ।
दिवसका अवसरमा सम्पूर्ण नगरबासीलाई कम्तीमा २ बिरुवा रोपी त्यसको हेरचाह गर्न अनुरोध गरेको नगरपालिकाले जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोपौं भन्ने अभियानसमेत सञ्चालन गर्दै आएको छ ।
बेगनबेलियालाई सिटी फ्लावर निर्धारण गरेको तिलोत्तमा नगरपालिकाले ६ लेन सडकमा स्थानीय बासिन्दासँगको सहकार्यमा सघन हरियाली प्रवद्र्धन अभियान चलाएको हो ।