झुठो बिबरण पेश गरी एकजना भारतीयलाई नेपाली नागरिकता दिलाउन खोजेपछि बिहिबार अपरान्ह जिल्ला प्रहरी कार्यालय पर्साको खोरमा पठाइएका मदन गुप्ता उर्फ रुन्चेलाई प्रहरीले केहीबेरमै छाडिदिएको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा पौडेलाई अपशब्द प्रयोग गरेपछि रुन्चेलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो। जिल्ला प्रशासन कार्यालयका अधिकृत सदनकुमार कर्णसंग झगडा गरेपछि सहायक प्रजिअ शर्माले सम्झाउन बुझाउन खोज्दा रुन्चेले अपशब्द प्रयोग गरेका थिए।
सहायक प्रजिअ शर्माले सहनै नसक्ने दुब्र्यबहार गरेपछि मदनलाई प्रहरीकोमा थुन्न पठाएको बताए। तर केहीबेरमै जिल्ला प्रहरी कार्यालय पर्साले प्रशासनसंग कुनै छलफल नै नगरी रिहा गरेकोमा प्रजिअ शर्माले आश्चर्य व्यक्त गरे। छाड्नुअघि आफूसंग सामान्य सोधपुछ समेत नगरिएको उनको भनाई छ।
गुप्ता आफै भारतीय नागरिक हुन्। उनी भारत बिहार आदापुर बिसुनपुरवा निबासी हुन् । झुठो बिबवण पेश गरेर बारा जिल्लाबाट उनले एक दशकअघि नेपाली नागरिकता लिएका थिए।
नेपाली नागरिकताको प्रमाणपत्र लिएको एक दशकभित्र अबैध धन्दा गरेर बीरगञ्ज र काठमाडौंमा उनले करोडौंको घरघडेरी जोडेका छन्। प्रहरीलाई महिनावारी बुझाएर लाइन चलाउने भएकोले प्रहरीसंगको आर्थिक लेनदेनका कारण उनी प्रहरीबाट केही बेरमै छुट्न सफल भएका हुन्।