नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि प्रजातन्त्र खतरामा रहेको बताएका छन्।
रामेछापको साविक पुरानागाउँ गाविसमा आज आयोजित शहिद टिकाराज आरणको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले वर्तमान कम्युनिष्ट सरकारले वहुमतका नाममा एक पछि अर्काे गर्दै नागरिकको प्रजातान्त्रिक अधिकार खोस्दै गएकाले प्रजातन्त्रको संरक्षणमा कांग्रेसले लाग्ने बताए। उनले प्रजातन्त्र प्राप्तीका लागि शहिद टीकाराज आरणको योगदान अतुलनीय रहेको भन्दै शहिदको सपना पूूरा गराउनको लागि कांग्रेस सधै लागिपर्ने बताए।
२०५७ साल फागुन १६ गते तत्कालीन विद्रोही नेकपा माओवादीले अपहरण गरी उनको हत्या भएको थियो। आरणलाई सरकारले २०६७ असार ९ गते शहिद घोषणा गरेको थियो। आरणको सम्झनामा उनका छोरा ज्ञानेन्द्रराज आरणको सक्रियतामा सालिक निर्माण गरिएको हो।
शहिद टीकाराज आरण स्मृति प्रतिष्ठानको आयोजनामा भएको शालीक अनावरण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, जिल्ला सभापति लवश्री न्यौपाने, पुर्व पार्टी सभापति रामचन्द्र खड्का, नेता कान्छाराम तामाङ्ग लगायतले नेपालको प्रजातान्त्रिक ईतिहासमा टीकाराज आरणले खेल्नु भएको भुमिकाको प्रशंसा गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष अशोक पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शहिद आरण परिवार, स्थानीय तथा कांगेसका जिल्ला नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।