प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजङ बस्नेतले कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक नगरे सडकमा ल्याएर नङ्ग्याउने चेतावनी दिएका छन्।
तरुण दलले कैलालीको धनगढीमा सोमबार गरेको विरोध प्रदर्शनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले निर्मलाका हत्यारा सरकारले पत्ता नलगाए आफूहरुले चाँडै सडकमा ल्याएर नङ्ग्याउने बताए।
बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादलका छोराको डिएनए परीक्षण गर्न समेत माग गरे। धनगढीको ट्राफिक चौराहबाट सुरु भएको सरकारविरुद्धको विरोध प्रदर्शन पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो।
‘कम्युनिष्ट सरकारको चमत्कार, महंगी र बलात्कार’ भन्ने नाराका साथ निकालिएको जुलुसमा डा. गोविन्द केसीका माग सम्बोधन गर्न, महंगी नियन्त्रण, शान्ति सुरक्षा कायम गर्न र निर्मला पन्तका हत्यारालाई कारबाही गरी न्याय दिन तरुण दलका कार्यकर्ताले माग गरेका थिए।
उनीहरुले कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई विघटनको प्रक्रियामा सरकारले लगेको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। सरकारविरुद्धको जुलुसमा सहभागी हुन ९ वटै जिल्लाबाट तरूण दललगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता धनगढी आएका थिए।