कैलालीको लम्की चुहानगरपालिका ८ गप्काकी २५ वर्षीया रामजानकी चौधरी ४० दिनदेखि अर्धचेत अवस्थामा छन्। जग्गाको सिमाना मिचिएको आरोपमा छिमेकी यमबहादुर चौधरीको परिवारले बेहोस हुने गरी गत असार १७ गते उनलाई कुटपिट गरेका थिए। यमबहादुरसहित आमा राजदेवी र दिदी लक्ष्मीले बेहोस हुने गरी पिटेको रामजानकीका पति तीर्थ चौधरीले बताए।
छिमेकीबाट बेहिस हुने गरी कुटिएकी चौधरीले ४० दिन बितिसक्दा पनि न उपचार पाएकी छन् न त न्याय। गरिवीका कारण उपचार गर्न नसकेर घरमै राखिएकी रामजानकीलाई छिमकेी मनमाया तामाङ र टेक देउवाको पहलमा आइतबार बल्ल धनगढीस्थित सेती अञ्चल अस्पताल पु¥याएका छन्। यमबहादुरको परिवार जमिन्दार हने भने तीर्थको परिवार साढे दुईकट्ठा ऐलानी जग्गामा बस्दै आएको छ।
पत्नीको न्यायका लागि आफू प्रहरीमा पटक पकट गए पनि न्याय नपाएको तीर्थले गुनासो गरे। ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक जनक सिंहले रामजानकीको नेपालगञ्ज र स्थानीय अस्पतालमा लैजादा बाहिरी घाउ नदेखिएकोले मुद्दा चलाउन नसकिएको र अदालत जान भनेको सुनाए।
यमबहादुरका बाबु मार्कन्डे पुर्व प्रधानपञ्चसमेत हुन्। गाउँको शक्तिशाली परिवार भएकाले सबैलाई प्रभावमा पारेर रामजानकीप्रति बेवास्वा गरेको स्थानीयको आरोप छ।
कुटपिटमा संलग्न यमले रामजानकीमाथि कुटपिट नगरेको दाबी गरेका छन्। तर परिवारका सदस्यका अनुसार अर्धचेत अवस्थामा रहेका रामजानकी जुस र झोलिलो पदार्थवाहेक खान सक्दिनन्। बाहिरी चोट नभए पनि भित्र गम्भीर चोट लागेको हुन सक्ने छिमेकी मनमाया तामाङले आशंका गरिन्। पीडित चौधरीले पाठेघरमा चोट लागेको बताउने गरेको तामाङले बताइन्।
रामजानकीको न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगमा निबेदन दिएको बताउँदै मनमायाले अदालतजाने तयारी भइरहेको बताइन्।