नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य आनन्द पोखरेलले वर्तमान सरकारलाई कांग्रेसको पनि समर्थन रहेको बताएका छन्। कांग्रेसको पनि समर्थन रहेकाले वर्तमान सरकारलाई अनावश्यक ढंगले आलोचना गर्नुको कुनै अर्थ नरहेको उनले बताए।
नेकपा रामेछापले मन्थलीमा सोमबार आयोजना गरेको पार्टी कार्यालय उद्घाटन तथा दीपावली, छठ र नेपाल सम्बतका अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व पर्यटनमन्त्रीसमेत रहेका पोखरेलले मुलुकको समृद्धिका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताए।
उनले दुईतिहाई बहुमतका साथ जनमतको आडमा बनेको वर्तमान सरकारले आफ्नो पार्टीको घोषणा पत्रमा गरेका प्रतिबद्धता अनुसार नै काम गर्ने र त्यसको परिणाम केही समय पछि प्राप्त हुने कुरामा आशावादी हुन आग्रह गरे।
पोखरेलले तत्कालीन अवस्थामा देशीविदेशी प्रतिक्रियावादीहरुले अध्यक्ष केपी ओलीलाई जेलमा सडाउने र प्रचण्डलाई हत्या गर्ने प्रयास गरेको आरोप समेत लगाए।