गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले मुलुकमा प्रेस स्वतन्त्रता रक्षा गर्नु पत्रकारहरुको धर्म भएको बताएका छन् ।
पाल्पामा आजदेखि सुरु भएको दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै विषय भएको बताएका छन् ।
धेरै ठूलो संघर्षबाट संविधान जारी भएकाे प्रसंग उल्लेख गर्दै उनले नेपालीहरुमा सामूहिक भावनाको विकास हुँदै गएको र सबैले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई संविधानले प्रत्याभूति गरेको समेत बताए ।
संविधानमा जातिय छुवाछुत र भेदभाव अन्त्य भएको बताईरहँदा अझै पनि समाजमा भेदभाव अन्त्य नभएकोले यो संम्मेलनबाट भेदभाव अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सञ्चार विद्येयक संसदबाट फिर्ता हुनै पर्ने भन्दै प्रेस स्वतन्त्रता विनाको लोकतन्त्र सफल नहुने बताए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले विभेद सधैंका लागि अन्त्य गर्नुपर्ने बताए । नेपाल प्रेस यूनियनका सभापति बद्रि सिग्देलले प्रेसलाई मुख थुन्ने गरी सरकारले बन्देज गराउन खोजेको भन्दै आपत्ति जनाए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलिले दलित समुदायको सवाललाइ मिडियाले प्राथमिकता दिएर राज्यको ध्यानआकृष्ट गर्ने काममा लाग्न आग्रह गरे ।
२ दिनसम्म चल्ने सम्मेलनमा देशभरका ७७ जिल्लाबाट करीब १ सय ५० जना दलित पत्रकारहरुको सहभागीता रहेको छ । दलित समुदायका पत्रकारहरुको भेलाबाट दलित पत्रकारहरुको मुद्दाका विषयमा पाल्पा घोषणापत्र जारी हुने आयोजकले जनाएका छन् ।