पूर्वराष्ट्रपति डा. रामवरण यादवले लामो संघर्ष र आन्दोलनबाट नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम पनि छिटो पूरा गर्नुपर्ने बताएका छन् । साथै उनले सत्य निरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अब ढिला गर्न नहुनेमा जाेड दिए ।
नेपाल प्रेस युनियनले शुक्रवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ संबिधान जारी भई तीनै तहको निर्वाचन पश्चात मुलुक स्थायीत्वमा अघि बढेको भन्दै यही संबिधान मार्फत सबैका समस्या समाधान गर्न सकिने समेत बताए।
नेपालले धेरै अन्तरराष्टिय शान्ति संझौतामा हस्ताक्षर गरेकाले अन्तराष्टिय क्षेत्रमा लगेर कसैले दुख नदियोस भन्नका लागि शान्ति प्रक्रियाका काम टुग्याउन सरकारले बिशेष ध्यान दिनु पर्ने बताए । पूर्वराष्ट्रपति डा. यादवले प्राकृतिक श्रोत र पर्यावरणलाई जोगाउन सबै नेपाली सचेत भएर लाग्नु पर्ने बताए । उनले लोकतान्त्रीक गणतन्त्रका लागि नेपाली प्रेसको निकै ठुलो योगदान रहेको स्मरण गर्दै शान्ति प्रक्रियाका वाँकी काम सम्पन्न गर्नका लागि पनि दवाव श्रृजना गर्न आग्रह गरे ।
उनले संविधान मुल राजमार्ग भएको भन्दै राजमार्गका खाल्टा पुर्नेकाममा सरकारको ध्यानाकर्षण आवश्यक रहेको बताए । उनले अधिकारका लागि अव कुनै खालको संर्घष हुन नहुने पनि बताए । युनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र सहसचव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश बिष्ट,पूर्व केन्द्रिय सदस्य हरी लम्साल काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खंँण लगायतको उपस्थिति रहेको थियो ।