रुपन्देहीमा आमाले विवाह गर्न नमानेपछि छ वर्षीया छोरी अपहरण गरेको घटना सार्वजनिक भएको छ। रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी बालिकाको प्रहरीले दुई दिनपछि उद्धार गरेको हो। वीरगञ्जका जयराम दासको अपहरणमा परेकी नावालिकालाई प्रहरीले बुटवलको एक होटेलबाट उद्धार गरेको हो।
प्रहरीका अनुसार दासले रुपन्देही तिलोत्तमाकी एक महिलालाई विवाह प्रस्ताव गरेकोमा महिलाले प्रस्ताव अस्वीकार गरेपछि उनकी छोरी अपहरण गरेको प्रहरी स्रोतको दावी छ।
असार ९ गते अपहरणमा परेकी वालिकालाई प्रहरीले बुधबार बिहान उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असार ९ गते साँझ करिब ८ बजे तिलोत्तमा नगरपालिकाबाट ६ वर्षकी बालिकलाई वीरगञ्ज २७ का ३८ बर्षीय जयराम दासले अपहरण गरेका थिए।
जयराम दास बिगत नौ महिनादेखि तिलोत्तमा रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका छन्। सोही क्रममा उनको ती वालिकाको आमासँग चिनजान भएको थियो। दासले राखेको बिबाह प्रस्ताब महिलाले नमानेपछि अपहरण गरेको प्रहरीको भनाई छ।
घरमा श्रीमान् नभएको र आमा र छोरी मात्र भएको बेला दासले अपहरण गरेका हुन्। बुटवल उपमहानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा अपहरित बालिकालाई प्रहरीले फेला पारी उद्धार गरेको हो। अपहरणकारी दासलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।