आज मङ्सिर १० गते। जनकपुर बम काण्डका अविस्मरणीय सहासिक योद्धा अरबिन्द कुमार ठाकुरको आज सातौ पुण्य तिथि। संसार छाडेको सात वर्ष भएता पनि लोकतान्त्रिक आन्दोलनमा गरेका सहासिक कदम तथा उनले पुर्याएका योगदान नेपालीका मन मस्तिष्क र नेपालको इतिहासमा सदा सुनौलो अक्षरले सजिएर रहनेछन्। २०१५ सालमा बिपी कोइरालाको नेतृत्वमा गठित जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै संसद विघटन गरी दलहरूमाथि प्रतिबन्ध लगाएर नेताहरूलाई नजर बन्द गर्दै निरंकुश तानाशाही पञ्चायती ब्यबस्था लाद्न पुगेका तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गर्ने साहस गरेका वीर योद्धा हुन अरबिन्द ठाकुर।
२०१८ साल माघ ९ गते राम जानकी बिवाह पञ्चमीका दिन राजा महेन्द्रको जनकपुर आगमनका क्रममा बम प्रहार गर्न भनेर आएका ठाकुर दुर्भाग्यवश बम सहित एयरपोर्टमा गिरफ्तारिमा पर्न गए। गिरफ्तारीपछि उनीमाथि निरन्तर रुपमा यातना शुरु भयो। थुना, कुटपिट, कोरा,तुरुङ,जेलनेल लगायतका विभिन्न यातना दिदै तत्कालीन सरकारबाट मृत्युदण्डको सजायँ समेत पाएका ठाकुरको मृत्युु दण्डको सजाय आजिवन कारावास परिणत भएको थियो। त्यसो नभएको भए उनले पनि दुर्गानन्द झाले झैं मृत्युुदण्ड भोग्नु पथ्र्यो।
कालको मुखवाट जोगिएता पनि यिनलाई आजीवन पीजडामा नेल लगाएर राखिएको थियो। जसले गर्दा ढाड नै बागों भएर निहुरेर हिड्न बाध्य थिए उनी।
भारतीय आन्दोलनका नायक भगत सिंह, चन्द्र शेखर आजादका जीवन गाथावाट अति प्रभावित यिनलाई तत्कालीन राजा महेन्द्रले गरेको कर्तुतबाट ज्यादै दुखित तुल्याएको थियो। भगत सिंहको जीवन गाथावाट प्रेरित भएका ठाकुर पनि नेपालमा लोकतन्त्र पुनः प्राप्तिका लागि जीवन उत्सर्ग गर्न तत्पर रहेका उनका जीवन गाथा संघर्षबाट प्रष्ट हुन्छ।
को हुन् अरबिन्द ठाकुर
यिनको जन्म बुवा श्यामसुन्दर ठाकुर र माता सीता देबिको गर्भवाट बि.स.२००६ साल फाल्गुनमा धनुषा जिल्लाको लोहनामा भएको थियो। आर्थिक रुपले सम्पन्न परिवारमा जन्मेका यिनको लालनपालनमा कुनै प्रकारको कमि थिएन गाउँमा ८ कक्षासम्मको अध्ययनपछि उनलाई भारतको बिहार राज्यको उमगाँउको हाईस्कुलमा ९ कक्षामा भर्ना गराइएको थियो। उनी उक्त विद्यालयको छात्रावासमा बसेर अध्ययन गरे। यसै समयमा राजा महेन्द्रले सैनिक बलमा २०१५ सालको आम निर्वाचनवाट दुई तिहाईको बहुमतबाट गठित बिपी कोइराला नेतृत्वको नेपाली काँग्रेसको जननिर्वाचित सरकारलाई अपदस्थ गरे। संसदलाई विघटन गरेर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउदै नेता एंव कार्यकर्ताहरुलाई जेलमा कोच्न थाले। यो समय थियो २०१७ साल पुस १ गते।
नेपाली काँग्रेसले पटना सम्मेलनवाट सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो। काँग्रेस नेता रामनारायण मिश्रको उमगाउँ स्थित घरमा सम्पर्क कार्यलय सञ्चालन भयो। पुर्णकालिन सदस्यता प्राप्त गरिसकेका यिनी दिनहुँ नेताहरूका सम्पर्क हुन्थे। सिमा क्षेत्रमा रहेका भन्सार, प्रहरी चौकीमा बारम्बार तोडफोड, आगजनी गर्ने कार्यहरू सञ्चालन हुन्थे। यस्ता क्रार्यक्रममा सरिक हुने गरेका यिनलाई यस प्रकारको गतिविधिले राजा महेन्द्रलाई केही फरक नपर्ने बिचारमा पुगे। यतिबेला उनी १० कक्षामा पुगिसकेका थिए। यसै क्रममा नेपाली काँग्रेसका युवा नेता रामचन्द्र सिंहसँग सम्पर्क हुन गएको थियो। एकदिन रामचन्द्र सिंहले भोलि बिहान जयनगर जानुछ भने। भोलिपल्ट बिहानै दुबै जना पैदल जयनगरमा भएका नेपाली काँग्रेसको कार्यलयमा पुगे। खाना खाएर दुबै जना त्यहीँ सुते।
भोलिपल्ट बिहान उनलाई तारले बाधेर बोक्न बनाइएको एउटा ठुलो पानको टिनको जर्दाको डब्बा दिदै साबधानीका साथ राम्रोसँग लगेर बिस्तारै भुइँमा राख्न लगाइएको थियो। उक्त डब्बा बोकेर साँझपख उमगाँउको पार्टी कार्यलयमा उनी पुगे। खाना खाइसकेपछि नेपाली काँग्रेसका नेताहरूसंगै त्यस क्षेत्रमा अध्ययनरत क्रान्तिकारी विद्यार्थीहरुको बसेको बैठकमा माघ ९ गते राजा महेन्द्र बिहान ९ बजे जनकपुर आउने कुरा चल्यो। नेताहरुले राजा महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए। उक्त योजना अनुसार राजा महेन्द्रमाथि जनकपुरको एयर्पोर्टमै पहिलो बम प्रहार गर्ने यदि कथन कदाचित बाँचिहाले भने दोस्रो बम श्री जानकी मन्दिरमा प्रहार गर्ने योजना थियो। सो योजना अनुसार को को जाने भन्दा प्रस्ताव गर्दा उमगाँउमा अध्ययनरत अरबिन्द कुमार ठाकुर र दुर्गा नन्द झा अग्रसर भए। भगत सिंहको बलिदानवाट प्रभाबित भएका यी युवा पुनः लोकतन्त्र प्राप्तिको नेपालको राजनीतिक इतिहासमा नयाँ मोड दिन अग्रसर भएका थिए।
अरबिन्द ठाकुरले जनकपुरको एयरपोर्टमा र दुर्गानन्द झाले जानकी मन्दिरमा राजा माथी बम प्रहार गर्ने निधो भएर बैठक समाप्त भयो। ठाकुर कार्यलयमै सुते भने अरुहरु सुत्न छात्रावास गए। भोलिपल्ट बिहानै उनलाई र दुर्गानन्द झालाई एकैपल्ट बम दिएर बेग्लाबेग्लै जान निर्देशन गरिएको थियोे। सँगसँगै जाँदा समातिने खतरा हुने भएकोले बेग्लाबेग्लै पठाइएको थियो। अरबिन्द एयरपोर्टका लागि प्रस्थान गरे भने दुर्गानन्द जानकी मन्दिरका लागि। एयरपोर्ट पुगेका अरबिन्दले भनेको जस्तो अनुकुल परिस्थिति देखेनन। जताततै मानिसहरू भरिएका थिए। एयरपोर्टभित्र बम लिएर पस्न त्यति सजिलो थिएन। भिडभित्र प्रवेश गर्दा बम ब्लास्ट भएर आम नागरिकको क्षतिहुने सम्भावना थियो। राजा नजिक पुग्ने अनुकुल परिस्थिति थिएन। राजामाथि मात्र लक्ष्य लिएर गएका उनी अन्त्यमा केही सीप नलागेर भीडमै प्रवेश गर्न खोज्दा गुप्तचरहरुको नजर पर्यो र उनी समातिन पुगे। र उनलाई एसपी कार्यलयको थुनुवा कोठामा उनको दुबै गोडामा तुरुङ्गमा राखेर ताल्चा लगाएको थियो। ऊनी बम सहित पक्राउ परेकाले बिहान ९ बजे आउने भनिएको राजा महेन्द्रको साढे तीन बजेतिर एयरपोर्टमा आगमन भयो। जानकी मन्दिरमा ल्याण्ड क्रुजर गाडीमा चढेर पुगेका राजामाथि दुर्गानन्दले बम प्रहार गरे। ठुलो अवाज भयो। गाडीमा क्षति भयो। राजा बाँच्न पुगे। दुर्गानन्द झा त्यहाँवाट सफलतापुर्वक उमक्न सफल भए। ठुलो अवाज भएको सुनेका अरबिन्द यतातिर कार्य सफल भएकोमा खुशी थिए। यतिकै बेला एसपी मानबहादुर दलबल सहित पुगेर अरबिन्द ठाकुरलाई लाठी बुट, बन्दुकका कुन्दाले हानेर थिलथिलो पारेर मरणासन्न बनाए तर उनले कसैको नाउँ बताएनन्। उनलाई परकौली ब्यारेक पुर्याइयो। राजाको सामुन्ने उनलाई उभ्याउदा राजा बाँचेको तब थाहा पाए। त्यहाँ सत्य तथ्य बताए छाडिदिने प्रस्ताव उनीमाथि तेर्स्याइयो। उनले केहि बोलेनन्। पछि जलेश्वर कारावास पठाइयो। जलेश्वर कारावासको केही दिनको बसाइपछि काठमाडौको हनुमानढोकाको खोरमा राखेर चरम यातना दिइयो।
यसैबीच दार्जिलिङबाट दल सिंह थापा र पर्सावाट दुःखा सहनीलाई पनि हनुमान ढोकाको खोरमा राखियो। त्यसको ५, ६ महिनापछि दुर्गानन्द झाले स्वेच्छाले गिरफ्तारी दिए। पछि उनलाई पनि हनुमान ढोकाको खोरमा राखियो। त्यसपश्चात न्यायाधीश पशुपति उपाध्यायको अध्यक्षतामा न्यायाधीश झपट सिंह रावल र गुणनाथ उपाध्यायको तीन सदस्यीय विशेष अदालत गठन भयो। त्यसपछि “राजकाज अपराध र सजाय एन २०१९ को तर्जुमा गरियो। त्यसमा राज्य विरुद्धको अपराध भनिएका कतिपय मुद्दामा मृत्युु दण्डको कठोर सजाय हुने ब्यबस्था गरियो। बिशेष अदालतले २०१९ भदौ १९ का दिन राजामाथि हातहतियार उठाएको अभियोगमा दुर्गानन्द झा, अरबिन्द कुमार ठाकुर र दल सिंह थापालाई मृत्युदण्ड दिने निर्णय गर्यो।
२०१९ फागुन २४ गते सर्बोच्च अदालतको न्यायाधीशद्धय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायको बेञ्चले झासहित अरबिन्द ठाकुर र दल सिंह थापालाई बिशेष अदालतले दिएको मृत्युदण्ड सजायलाई सदर ग¥यो। २०२० साल पुस ११ मा दुर्गानन्द झाको फासिलाई राजा महेन्द्रले स्वीकृति दिदै अरबिन्द ठाकुर र दल सिंह थापालाई आजीवन कारावासको सजाय दिने गरी सर्बोच्चका निर्णयलाई परिवर्तन गरिदिए। २०२० माघ १५ गते मध्यरातमा साथीहरूबाट छुटाई दुर्गानन्द झालाई क्रुर अमानवीय तरिकाले दुइ दुई पटक झुण्ड्याउँदा पनि मृत्यु नभएपछि गोली हानी हत्या गरियो। अरबिन्दलाई केन्दल्रीय कारागारमा घाँटीमा हात र खुट्टामा नेल लगाउदै चरम यातना दिदै गोल घरमा राखियो। त्यसपछि राजा बिरेन्द्रको शासन कालमा जिल्ला कार्यलय कारागार शाखा भरतपुरको मिति २०३४ असोज ६ को छुटकारा पत्र दिएर उनलाई छुटकारा गरियो। उक्त पत्रमा बिषयमा छुटकारा पत्र र श्री अरबिन्द कुमार ठाकुर महोत्तरी भनेर सम्बोधन गर्दै पेटेबोलिमा “ श्री ५ महाराजाधिराजबाट पहिले अराष्टिय तत्वमा लागेको ब्यक्तिहरुलाइ देशमा ज्ञानिपूर्वक रहन बस्न पाउने गरी कैद र जरिवानाको सजाय समेत माफिं गरिबक्सेकोले छाडी दिनु भनी बागमती अञ्चल कार्यालयबाट लेखी आएकोले सो अनुसार गरि यस कार्यलयलाई जानकारी दिनुहोला भन्ने जिल्ला कार्यालय ललितपुरको २०३४ असोज ६ को पत्र प्राप्त भएकोले तपाईंलाई यस कारागारवाट छुटकारा गरि यो छुट्या पत्र दिएको छ भनेर कार्यलय प्रमुखको हस्ताक्षरित पत्रमा उल्लेख गर्दै उनलाई बुझाएर छोडिएको थियो।
लामो समयसम्म जीवनका अमुल्य समयहरु कठोर यातना भोगेर आएता पनि उनी लोकतान्त्रिक आन्दोलनमा सरिक हुदै रहे। २०३६ एंव २०४६को आन्दोलनमा समेत सकृय रहेका यिनलाई ०४६ को आन्दोलन पश्चात् गणेशमान सिंहले जिउँदो शहिदको उपाधिले सम्मान गरेका थिए। २०४६ आन्दोलनको सफलतापछि जनकपुर चुरोट कारखानाका एवं नेपाल शाही औषधि लिमिटेडका प्रमुख समेत भएका थिए। २०५४ सालमा राष्ट्रिय सभाका सदस्य समेत बनेका यिनलाई बिपी संग्रहालयले २०७० भदौ २४ गते ९९ औं बीपी जयन्तीको अवसर पारेर बीपी राजनीतिक पुरस्कारबाट सम्मान गरेको थियो।
लामो जेल जीवनमा कठोर यातनावाट गुज्रिएका यिनी विभिन्न रोगबाट ग्रसित भएर २०७० मङ्सिर १० गते सधैका लागि बिदा भएर नेपाल र नेपालीको माझ अमिट छाप छोडेर गएका हुन्। आज उनको सातौ पुण्य स्मृतिमा हार्दिक श्रद्धा सुमन !