आज माघ १५ गते। दुर्गानन्द झाको बलिदानी दिवस। जब माघ महिना आउँछ, राजा महेन्द्रमाथि भएको बम प्रहारको चर्चा हुन थाल्छ। बि.सं.२०१८ माघ ९ गते जनकपुर धामको जानकी मन्दिरको प्राङ्गणमा तत्कालीन राजा महेन्द्रमाथि बम प्रहारको अभियोगमा २०२० माघ १५ गते दुर्गानन्द झालाई मृत्युदण्ड दिइएको थियो। प्रचलित मुलुकी ऐन, १९१० अनुसार ब्राह्मणलाई मृत्यु ण्ड दिने बयबस्था थिएन। तर बाहुन झालाई मृत्युदण्ड दिनका लागि तत्कालीन शासकहरुलाई मुलुकी ऐन, १९१० लाई समेत संशोधन गर्नु पर्यो। संशोधन गरिएको ऐन अनुसार उनलाई मृत्युदण्ड दिइएको थियोे ।
बि.स. १९९९ बैशाख १४ गते धनुषाको जटही गाउँमा बुवा देवनारायण झा एवं आमा सुकुमारी देवीको कोखवाट उनी जन्मिएका थिए। राणाकालिन निरकुंश जहाँनिया शासनको अवस्थामा गाउँको वरिपरि विद्यालयहरु थिएनन्। भारतीय सिमामा रहेको उमगाँउमा रहेको माध्यमिक विद्यायमा उनको प्रारम्भिक शिक्षा भएको भएको थियो।
कुशाग्र बुद्धिका उनी खेलकुदमा पनि निपुण थिए। २०१५ सालमा भएको आम निर्वाचनमा तत्कालीन महोत्तरीका निर्वाचन क्षेत्र ४३ र ४४ बाट नेपाली काँग्रेसका लोकप्रिय नेता महेन्द्र नारायण निधि र रामनारायण मिश्रको निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा सक्रिय भएका थिए। बि.सं.२०१७ पुष १ गते राजा महेन्द्रद्वारा बिश्वेश्वर प्रसाद कोइरालाको जननिर्वाचित सरकारलाई सैनिक बलका भरमा अपदस्थ गरेर सबैलाई बन्दी बनाए। यी घटनाले गर्दा उनी आक्रोशित भए। त्यसबेला चालिएको क्रुर दमनमा कतिपय नेताहरु गिरफ्तारीमा परे भने कतिपय निर्वासित भएर भारतका जयनगर, छतौनी, हरलाखी, उमगाँउमा रहन थाल। ती ठाउँहरुमा क्याम्प सञ्चालन हुन थाले । उमगाँउमा रामनारायण मिश्रको कचहरी थियो। कचहरिमा क्याम्प सञ्चालन भैरहेको थियो। उनी निर्वासित रहेका नेपाली काँग्रेसका नेताहरुको सम्पर्कमा रहन थाले।
बि.सं.२०१८ माघ ९ गते बिबाह पञ्चमी महोत्सवमा राजा महेन्द्रको जानकी मन्दिर दर्शन गरेर र रंगभुमीमा अभिनन्दन गर्ने कार्यक्रम थियो। उक्त कुरा सिमा क्षेत्रमा व्यापक रुपले चर्चाको बिषय बन्यो। राजाले शासन आफ्नो हातमा लिएपछि राजधानी भन्दा बाहिर उनको पहिलो भ्रमण थियो। उमगाउँ क्याम्पमा राजा महेन्द्रमाथि बम हान्ने कुरा चल्यो। भारतका क्रान्तिकारी योद्धा भगतसिंह र चन्द्रशेखर, आजाद, राज गुरुहरुबाट प्रभाबित दुर्गानन्द झाले प्रजातन्त्रका हत्यारा राजा महेन्द्रलाई सिध्याउने दृढ़ मनसुवा बनाइसकेका थिए। यसै समयमा उनी नेपाली काँग्रेसका युवा नेता सरोजप्रसाद कोइरालाको सम्पर्कमा पुगे। राजामाथि बम प्रहार गर्ने योजना बन्यो। उमगाउँमा विद्यार्थी लगायत नेताहरूको बैठक बस्यो। बम प्रहार गर्न दुर्गानन्द झा र अरबिन्द ठाकुर तयार भए।
उम गाउँबाट अरबिन्द ठाकुर जनकपुरधाम बिमानस्थलका लागि र दुर्गानन्द झा जानकी मन्दिरका लागि अलगअलग ग्रीनेड बम बोकेर राजा महेन्द्रमाथि बम प्रहार गर्न भनेर प्रस्थान गरे। बिमानस्थलमा योजना बिफल भए, जानकी मन्दिरमा बम प्रहार गर्ने योजना थियो। तर अरबिन्द ठाकुर बिमानस्थलमा व्यापक रूपमा परिचालन गरिएका प्रहरी प्रशासन एंव गुप्तचरहरुको व्यापक सजगताले गर्दा उनी ग्रीनेड बमसहित समातिए। विमानस्थलमा हलचल मच्यो। निरधारित समय बिहान ९ बजेमा आगमन हुने राजाको समय तालिका परिवर्तित भयो।
पुर्ण सुरक्षाका साथ दलबलसहित राजा महेन्द्र लैण्डरोभर गाडीमा जानकी मन्दिरका लािग प्रस्थान गरे। जानकी मन्दिर प्रहरी प्रशासन गुप्तचर, सैनिक भरिभराउ थियो। राजाको गाडी जानकी मन्दिरको पुर्वपट्टिको ढोकामा पुग्यो। गाडी रोक्नासाथ ठूलो धमाका भयो। धमाका दुर्गानन्दले प्रहार गरेको बमको थियो। बम कम शक्तिशाली थियो। राजा बाँच्न सफल भए। बम गाडीको छेउमा लागेको थियो। गाडीका शिसाहरु फुटे। गाडीको छेउको केही भाग क्षति भयो।
प्रहरी प्रशासन सैनिकको व्यापक मात्रामा रहेको भिडबाट बम प्रहार गरेर झा उम्क्न सफल भए। त्यहाँबाट मुनि बाबाको कुटिमा अध्ययन गर्न बसेका आफ्ना गाउँका विद्यार्थी हेमचन्द्र चौधरीको डेरामा राती बास बस्न पुगे। भोलिपल्ट एकाबिहानै भारतीय सिमा क्षेत्रमा सकुशल प्रवेश गरे। यता व्यापक रूपमा प्रहरी दमन हुन थाल्यो। अनुसन्धानका नाउँमा व्यापक रुपमा धरपकड शुरु भयो। पकडिएकाहरुलाई निर्मम तरिकाबाट कुटपिट एवं चरम यातना दिइन थालियो। छानबिनका नाउँमा निर्दोष ब्यक्तिहरुलाई महिनौंसम्म अनावश्यक रुपमा दुःख दिइनै रहे। जनकपुरवासी त्राहिमाम त्राहिमाम थिए।
यो खवर दुर्गानन्दसम्म पुग्यो। यो खवरले उनी बिचलित भए। आफ्नो कारणबाट निर्दोषहरुले दुःख पाइरहेको खवरले मर्माहत भए। यसले गर्दा उनले गिरफ्तारी दिने मनशाय बनाए। मृत्युदण्ड हुन्छ भन्ने जान्दा जान्दै पनि तीन महिनापछि गिरफ्तारी दिन भनी जयनगरबाट रेल समातेर जनकपुर फर्कदा प्रवाह रेल्वे स्टेसनमा नै उनलाई गिरफ्तार गरेर जलेश्वर कारावास पुर्याइयो। यसको भोलिपल्ट परकौलिमा रहेको सैनिक बयारेकमा पुर्याएर हेलिकप्टरद्वारा काठमाडौ लगियो। सुनधारा स्थित सेन्ट्रल जेलमा राखियो।
नेपाल सरकारद्वारा बिशेष अदालत गठन भयो। बि.सं.२०१९ भाद्र १९ गतेका दिन बिशेष अदालतका न्यायाधीश पशुपती प्रसाद उपाध्यायको अध्यक्षतामा न्यायाधीसद्वय झपटसिंह रावल र गुणनाथ उपाध्याय सहितको इजलासले कुनै सुनवाइ नै नगरी राजामाथि हात हतियार उठाएको अभियोगमा दुर्गानन्द झा, अरबिन्द ठाकुर र बीरगंजबाट समातिएका दल सिह थापालाई मृत्युदण्ड दिने निर्णय गर्यो।
यसै निर्णयलाई बि.स.२०२० फागुन २० गते सर्बोच्च अदालतका न्यायाधीसद्धय दुर्गादत्त उपाध्याय र भैरव प्रसाद उपाध्यायको इजलासले सदर गर्यो। तर २०२० पुस १० गतेको राजदरबारको पत्रानुसार अरबिन्द ठाकुर र दल सिंह थापाको मृत्युदण्डलाई उमेर नपुगेकाले आजिवन कारावासमा र दुर्गानन्द झालाई मारिकाटी दिने भनेर परिवर्तन गरेको थियोे। बि.सं. २०२० माघ २० गते मध्यरातमा सुन्धारा स्थित केन्द्रीय कारागारमा २१ वर्ष ९ महिनाको अवस्थामा गोलि हानी दुर्गानन्द झालाई मृत्युदण्ड दिइयो।
नेपालको प्रजातान्त्रिक आन्दोलनका इतिहासमा बाहुनलाई मृत्युदण्ड दिनका लागि नै तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन, १९१० लाई परिवर्तन गराउदै न्यायपालिकाको फैसलाद्वारा दुर्गानन्द झालाई मृत्युदण्ड दिलाउन पुगे। ऐन कानुनको माध्यमबाट बिना कुनै सुनवाइको बिशेष अदालतले गरेको फैसलालाई सर्बोच्च अदालतद्वारा सदर गराउदै राजदरबारको पत्र अनुसार मृत्यु प्राप्त गर्न पुगेका प्रथम गणटन्त्रवादी सहिद दुर्गानन्द झा प्रति कोटि कोटि नमन। जसले क्रुर निरकुशं पञ्चायती ब्यबस्थाको निर्णयलाई हाँसीहाँसी स्वीकार्दैं गणतन्त्रको मार्ग खोल्दै मृत्युवरण गर्न पुगेका अमर सहिद दुर्गानन्द झा प्रति भावपुर्ण श्रद्धाञ्जली ।