मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ। यो समस्या कमसल खानाले गर्दा बढेको हो। ‘विश्वका बालबालिकाको अवस्था २०१९– बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ।
नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ। प्रतिवेदनअनुसार बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ। सम्पन्न र सहरियाहरूमा मोटोपना हुने सम्भावना बढी रहेको छ। नेपालमा करिब ३६ हजार बालबालिका मोटापनाको समस्या छ।
एकातर्फ मुलुकमा मोटोपना बढ्दै गएको छ भने अर्कोतर्फ अझै ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन्। अझ करिब २ लाख ९० हजार बालबालिका ख्याउटे हुनुका साथै १३ लाख बालबालिकामा भिटामिन ‘ए’, आइरनजस्ता आवश्यक पोषक तत्त्वको कमी रहेको प्रतिवेदनले औंल्याएको छ।
मुलुकमा ६ महिनादेखि २ वर्षसम्मका करिब ४५ प्रतिशत बालबालिकाले मात्र ८ खालका खाना समूहमध्ये कम्तीमा ५ समूहको खाना खाइरहेको प्रतिवेदनमा छ। यो उमेर समूहका धेरैजसो बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन्। अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र छ। मुलुकका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षको समयमा कुनै फलफूल वा तरकारी खान पाउँदैनन्।
नेपालमा बालबालिकाको खानपानबारे गरिएको एउटा अध्ययनसमेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसअनुसार २ वर्षमुनिका बालबालिकाले औसत रूपमा एक चौथाइ बिस्कुट, तयारी चाउचाउ र पेय पदार्थबाट मात्र प्राप्त गरिरहेका छन्। यसले गर्दा आवश्यक भिटामिन र खनिज पदार्थको सेवनमा कमी भएको छ। यस्ता खाजा र पेय पदार्थ खाने बालबालिका आफ्नो साथीभन्दा सानो रहेको समेत अध्ययनमा उल्लेख छ। प्रतिवेदनअनुसार हाल न्यून उत्पादन मूल्य, लामो समयसम्म उपयोग गर्न सकिने र उच्च खुद्रा मूल्यका कारण ‘अल्ट्रा प्रोसेस्ड’, खाना अत्यधिक लाभदायक व्यवसाय भएको छ। यसले गर्दा यस्तो खाद्य पदार्थ सर्वव्यापी भएको छ। यस्ता खाद्य पदार्थ सब्जी, फलफूल, माछाको विकल्प नभएको समेत अध्ययनमा उल्लेख छ।
प्रतिवेदनअनुसार अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थ चिल्लो, चिनी र नुन बढी भएका तर फाइवर र सूक्ष्म पोषक तत्त्व कम भएका बर्गर, नुगट, कुकिज र मीठो पेय पदार्थ जस्ता हुन्। तर यस्ता अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थलाई त्याग्न सजिलो छैन। यस्ता खाद्य पदार्थ मध्यम खपतका लागि डिजाइन गरिएको होइन। कान्तिपुरमा खबर छ।