गएको दशकमा धूमपानलाई सीमान्तकृत र कलङ्कित बनाइएको छ । ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्य खोल राख्नुपर्ने बाध्यकारी व्यवस्था गरियो । त्यो सबै मानिसहरूलाई चुरोट खानबाट निरुत्साहित गर्न गरिएको हो ।
र, चिनी पनि चुरोटकै बाटो लागिरहेको देखिन्छ । ब्रिटेनमा गुलियो पेय पदार्थमाथि कर लगाइएको छ । र अहिले अग्रणी थिङ्क ट्याङ्कले गुलिया पदार्थको आवश्यकता भन्दा बढी खपतका कारण चिनी प्रयोग हुने सबै खाद्यपदार्थहरूलाई आकर्षक नबनाइयोस भनेर साधारण खोल राखेर बेच्नुपर्ने व्यवस्था गर्न माग गरिएको छ ।
उक्त माग इन्स्टिट्यूट फर पब्लिक पोलिसी रिसर्च (आइपिपिआर) ले आफ्नो नयाँ प्रतिवेदनमा गरेको छ ।
सामान छान्न उपयोगी
आइपिपिआरका निर्देशक टम किबासी यसले साँच्चै फरक पार्ने विश्वास गर्छन् । 'साधारण खोलले हामीलाई राम्रो सामान छान्न मद्दत गर्छ र व्यस्त अभिभावकलाई सामान किनिदिन कर गर्ने बच्चाले गर्ने पिरलोमा कमी ल्याउँछ,' उनले भने ।
यसको साथै तयारी खानेकुराहरूको विज्ञापनमा पनि प्रतिबन्ध लगाउने लगायतका अरू उपायहरू अपनाइएको उनी हेर्न चाहन्छन् । त्यसबारे पहिल्यै मन्त्रीहरूले सोचिसकेका छन् । तर के साधारण खोल हाल्ने कदम सफल होला ?
कदमविरुद्ध उद्योग
उद्योगहरूले यसबारे आपत्ति जनाइसकेका छन् । खाद्यान्न र पेय पदार्थसम्बन्धी महासङ्घले सामानको ब्रान्डिङ गर्न पाउनु आफ्नो 'आधारभूत व्यवसायिक स्वतन्त्रता' र 'प्रतिस्पर्धा विपरित' भएको दाबी गरेका छन् ।
त्यस्तै खालको तर्क चुरोट उद्योगहरू पनि अघि सारेका थिए । तर एकपछि अर्को सरकारले त्यसपछि कडा अडान राख्दै आएका छन् । तर गुलिया खानेकुराहरूमा साधारण खोल हाल्ने कुरालाई भने सरकारले निर्देशन दिइसकेको छैन ।
बरु, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी मन्त्रालय डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केअरले इङ्गल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक डेम स्याली डेभिसले के भन्छिन् त्यो सुन्न पर्खिरहेको जनाएको छ ।
किन ? किनभने सन् २०३० सम्ममा बालबालिकामा देखा पर्ने मोटोपनाको समस्या आधा कम गर्ने लक्ष्य पूरा गर्न साहसिक कदम चाल्न आवश्यक छ । त्यसका लागि कुनै पनि कसर बाँकी नराखिएको सुनिश्चित गर्नका लागि डेम स्यालीलाई त्यस्ता कदमहरूको समीक्षा गर्न भनिएको छ ।
खासमा, उनले आइपिपिआरले अघि सारेको अर्को उपाय अपनाउन पनि सुझाव दिइसकेकी छन् । त्यो उपाय भनेको चाहिँ गुलियो पेय पदार्थदेखि अन्य अस्वस्थकर खानेकुरासम्म कर बढाउनु एउटा सहि विकल्प हुने उनको सुझाव छ । र, उनी साधारण खोलको उपायबारे पनि खुला छिन् जुन अझै कडा कदम हुने पक्का छ । बितेको दशकबाट के स्पष्ट भएको छ भने जे सम्भव छैन भन्ने देखिएको थियो त्यो छिट्टै सम्भव हुनसक्छ ।
सन् नब्बेको दशकको सुरुमा स्वास्थ्य अभियानकर्मी र प्राज्ञिक निकायहरूले सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध लगाउनुपर्नेमा निरन्तर दबाब दिइरहेका थिए ।
सरकारले एकपछि अर्को गर्दै उक्त कदमलाई निरूत्साहित गर्यो । तर पेट्रिसिया हेविट स्वास्थ्यमन्त्री भएपछि अवस्था विस्तारै परिवर्तन हुनथाल्यो एकपछि अर्का कडा उपायहरू अवलम्बन गरियो ।
उनको त्यस्तो प्रयासले काम गरेको देखिन्छ किनकि विगत १० वर्षमा चुरोट पिउनेको दरमा एक-तिहाईले कमी आएको छ । चुरोटको विकल्पमा विद्युतीय उपकरण मार्फत निकोटिन मिश्रित वाफ तान्ने र फाल्ने 'भ्यापिङ' को वृद्धिका कारण पनि चुरोट पिउनेको सङ्ख्यामा कमी आएको हो ।
तर जनस्वास्थ्यबारे चालिएका कडा नियमहरूको पनि त्यसमा भूमिका रहेकोमा कुनै शङ्का छैन । सुर्तीजन्य उत्पादनमा सादा खोल हाल्नुपर्ने नियम पहिलोपटक लगाउने अस्ट्रेलियाकै उदाहरण हेर्ने हो भने पनि त्यस्तो कदमले धूमपान दरमा कमी ल्याउन उल्लेख्य भूमिका खेल्ने देखाएको निक ट्रिगलले बीबीसीमा लेखेका छन् । मोटोपनाबारे बहस तीब्र रुपमा बढिरहँदा चिनीमाथि चालिने कडा कदमहरूको पक्षमा धेरै कुरा सुन्न पाइने अपेक्षा गर्नुहोस् ।