भारतको माथिल्लो सदनबाट नागरिकता संशोधन विधेयक पारित भएपछि त्यसको विरोधमा भारतभर आन्दोलन चर्किएको छ । विशेषगरी पूर्वोत्तर राज्य असममा हिंसात्मक प्रदर्शन भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार असमको स्थिति बिग्रँदै गएपछि हिंसा भड्किएको छ । केही क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्तसमेत भएको छ । यसरी हिंसा भड्किँदा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
डिब्रुगढमा कर्फ्युको बेवास्ता गर्दै सडकमा प्रदर्शन भएपछि प्रहरीले गोली प्रहार गरेको थियो । प्रदर्शनकारीले उग्र बन्दै प्रहरीमाथि हमला भएपछि गोली प्रहार गरिएको डिब्रुगढका प्रहरी गौतम बोराले बीबीसीलाई जनाएका छन् । प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुलाई नजिकैका विभिन्न अस्पतालहरुमा उपचारका लागि लगिएको छ ।
यता गुवाहटी राज्यका धेरैजसो ठाउँमा स्थानीय प्रशासनले इन्टरनेट सेवासमेत बन्द गरेको छ । असममा पनि बिहीबार राति ७ बजेसम्मका लागि इन्टरेनट सेवा बन्द गरिएको छ । मुलुकभर प्रदर्शन चर्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ट्विट गर्दै नागरिकता विधेयकबाट कोही पनि चिन्तित हुन नपर्ने बताएका छन् । ‘कुनै पनि तपाईंको अधिकार, तपाईंको विशेष पहिचान र संस्कृति कसैले पनि खोस्न सक्दैन । म असमका भाइ-बहिनीलाई नागरिक विधेयकबाट चिन्तित हुनु पर्दैन भन्ने विश्वास दिलाउन चाहन्छु,’ मोदीले भनेका छन् ।
गुवाहटीमा कर्फ्यु लगाइए पनि अत्यावश्यक सेवामा प्रतिबन्ध नलगाइएको बीबीसीले समाचारमा जनाएको छ । एम्बुलेन्स, मिडिया र विशेष आवश्यकता परी घरबाट बाहिर निस्कँदा पासको व्यवस्था गरिएको छ । यता डिब्रुगढमा पनि कर्फ्यु लगाइएको छ । असम जाने केही रेलसेवा पनि बन्द गरिएका छन् । केहीको भने रुट परिवर्तन गरिएको छ । बुधबार राति भएको प्रदर्शनमा प्रदर्शनकारीले डिब्रुगढ जिल्लाको चाबुआस्थित रेल्वे स्टेसनमा आगजनी गरेका थिए ।