छ विश्वविद्यालय तीन महिनादेखि कायममुकायम उपकुलपतिका भरमा चलिरहेका छन्। पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन्। रिक्त पदाधिकारीमा नियुक्तिका लागि नाम सिफारिस हुन नसक्दा ती विश्वविद्यालय उपकुलपतिविहीन बनेका हुन्।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित उपकुलपतिको नाम सिफारिस समितिले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्भावित उपकुलपतिहरूको नाम सिफारिस गर्न नसकेको हो। विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि सूची तयार पार्न सिफारिस समितिले सार्वजनिक रूपमा आवेदन माग गरेको थियो। आवेदन दिने म्याद सकिएको एक महिना बितिसक्दा पनि आवेदकको सूचीसमेत सार्वजनिक गरिएको छैन।
उपकुलपति रिक्त सात विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरिएको थियो। समितिको सिफारिसमा कुलपतिले त्रिभुवन विश्वविद्यालयमा एक महिनाअघि उपकुलपति नियुक्त गरेका थिए। शिक्षामन्त्री पोखरेल र शिक्षा सचिव महेशप्रसाद दाहाल युनेस्कोको बैठकमा सहभागी हुन दुई साताको विदेश भ्रमणमा रहेकाले अन्य विश्वविद्यालयमा सिफारिस गर्न ढिलाइ भएको जानकारी मन्त्रालय स्रोतले दिएको छ।
उनीहरू मंसिर पहिलो साता स्वेदश फर्किसकेका छन्। त्यसपछि समितिको बैठक बसे पनि नाम सिफारिस गर्न सकेको छैन। उपकुलपति बन्नका लागि प्रत्येक विश्वविद्यालयमा १० जनाभन्दा बढीले इच्छा देखाएकाले तीमध्ये योग्य र सक्षम व्यक्तिको खोजी गरिरहेको सिफारिस समितिका एक सदस्यले बताए।