लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापनको परीक्षा आज (शुक्रबार) बाट देशभर सुरु हुँदै छ । साउनभर हुने परीक्षाका लागि केन्द्रको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
यसपटकदेखि परीक्षार्थीका लागि नियमहरु कडा ल्याइएको छ । परीक्षामा सहभागी हुनेले केन्द्रको गेटभित्र झोला, मोबाइल लैजान पाउने छैनन् । यसअघि परीक्षार्थीलाई परीक्षा कक्षाभित्रै झोला र मोबाइल लैजान दिइन्थ्यो । तर, ती झोला र मोबाइल निरीक्षकले तोकिदिएको स्थानमा राखेर मात्र परीक्षामा बस्न पाइन्थ्यो ।
तर, यसपटक गेटबाटै भित्र लैजान निषेध गरिएको हो । लोकसेवा आयोगले सूचना जारी गर्दै भनेको छ, ‘परीक्षालाई मर्यादित बनाउन परीक्षामा सामेल हुने परीक्षार्थीहरुले परीक्षा हलमा झोला, मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ । त्यस्ता सामाग्रीहरु परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने व्यहोरा सूचित गरिन्छ ।’
सरकारको आग्रहमा आयोगले स्थानीय तहका लागि ९ हजार १६१ सिटका लागि विज्ञापन खोलेको छ । ती पदका लागि ४ लाख ४१ हजार १४१ दरखास्त परेको छ । तर, यो विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति महासंघले आन्दोलन गर्दै आएको छ । आयोगको विज्ञापनविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । तर, सर्वोच्चले विज्ञापन रोक्न नपर्ने अन्तरिम आदेश दिएपछि परीक्षा लिन लागिएको हो ।