ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो।
कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ। मंगलबार बुझाएको प्रतिवेदनमा साना विश्वविद्यालयसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सिफारिस गरेको छ। सबै विश्वविद्यालयको समन्वयका लागि सहकुलपतिमा शिक्षामन्त्री नै हुनुपर्ने कार्यदलले सिफारिस गरेको छ।
कार्यदलको सिफारिस कार्यान्वयन गर्न विश्वविद्यालयका ऐन तथा नियम संशोधन गर्नुपर्ने मन्त्रालयका अधिकारीको भनाई छ। प्रधानमन्त्री व्यस्त हुने र सबै विश्वविद्यालयलाई समय दिन कठिन हुने भएकाले कुलपतिमा राष्ट्रपति र उपराष्ट्रपति सिफारिस गरेको कार्यदलका एक सदस्यले बताए। शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोगकत्वमा मन्त्रालयले कार्यदल गठन गरेको थियो।
कार्यदलले कुलपति, सहकुलपति, सेवा आयोगका अध्यक्ष, रेक्टर, रजिस्ट्रार, डिन र कार्यकारी निर्देशकलाई पदाधिकारी मानेर नियुक्तको मापदण्ड र आधार सिफारिस गरेको छ। प्रतिवेदनमा भनिएको छ, ‘सिफारिस गरेको मापदण्ड कार्यान्वयन भएमा प्रतिस्पर्धामा आधारित नियुक्ति हुने र योग्य व्यक्ति आउनुका साथै पारदर्शिता कायम हुनेछ।’
कार्यदलले उपकुलपति छनोटका लागि विस्तृत मापदण्ड तयार पारेको छ। उपकुलपतिका लागि तीन चरणको प्रक्रिया पूरा गर्नुपर्ने मापदण्ड तय भएको छ। विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन उपकुलपति नियुका लागि न्यूनतम योग्यता, अनुभव र मापदण्ड तथा त्यसबापत प्राप्त हुने अंक भारसमेत कार्यदलले प्रस्ताव गरेकोे छ।
उपकुलपतिमा नियुक्तिको सिफारिस गर्न बहालवाला उपकुलपतिको कार्यकाल समाप्त हुनुभन्दा कम्तीमा ६ महिनाअगावै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सात सदस्यीय सर्च कमिटी गठन गर्न सिफारिस गरेको छ। उपकुलपति पदका लागि सम्भाव्य उम्मेदवारले पेस गरेको कार्ययोजना मूल्यांकनका लागि छुट्टै विज्ञ समिति गठन गर्नसमेत प्रस्ताव गरिएको छ। नयाँ पत्रिकामा खबर छ।