रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना भएर बग्ने लिखुखोलामा निर्माणाधिन तीन वटा जलविद्युत आयोजना रहेका छन्। १७० मेगावाटको लिखु, २५५ मेगावाटको लिखु २ र ५१ मेगावाटको लिखु ए निर्माणाधिन चरणमा छन्।
ती छुट्टा छुट्टै आयोजनाहरु हिमालय इनर्जी प्रा.लि., ग्लोबल हाइड्रोपावर एशोसिएट प्रा.लि. र नुम्बु र हिमालय हाइड्रोपावर प्रा.लि.को संयुक्त लगानीमा एम.भी. दुगर्ड समूहद्वारा निर्माण शुरु गरिएको हो।
तर आयोजनाको काम शुरु भएसँगै आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बेवास्ता गरेको गुनासो बढ्न थालेको छ।
आयोजनाले पीडितका गुनासोलाई सम्बोधन नै नगरी मनोमानी ढंगले काम अघि बढाएको भन्दै स्थानीयले आयोजना र कर्मचारीहरुको आलोचना गर्दै आफ्ना गुनासाहरु सम्बोधन गर्न माग गरेका छन्। अब पनि आफूहरुका माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिइएको छ।
मंगलबार रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलमा आयोजनाको तर्फबाट सञ्चालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका अधिकांश प्रभावितहरुले आयोजनाका काम र व्यवहार प्रति आलोचना गर्दै यस अघिका कृयाकलाप तत्काल सच्याएर अघि बढन आग्रह गरेका थिए।
उमाकुण्ड गाँउ पालिका र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउपालिका अधिकांश आयोजना बाट पिडितले मौखिक र लिखित रुपमा गुनासो राखेका छन्। दुबै जिल्लाका सांसद पूर्व सभासदहरु, राजनीतिक दलका नेता, समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधी सहितको सार्बजनिक सुनुवाई कार्यक्रममा अधिकांश पिडितले आयोजनाको कामको खुलेर आलोचना गरेका थिए।
कतिपयले मौखिक रुपमा गुनासो राखेका थिए भने कतिपयले गुनासो दर्ता डेस्कमा लिखित रुपमा गुनासो दर्ता गराएका थिए। पिडितहरुले आफ्नो पीडितलाई स्थानीय जनप्रनिधिले खुलेर नबोल्दिएको भन्दै आफ्ना पक्षमा बोल्ने मान्छे कोही नभएकोमा दुःख समेत व्यक्त गरेका थिए।
परियोजनाले ठूलालाई चाकडी गर्ने र पैखा खुवाउने र साना तथा निमुखा बर्गलाई वेवास्ता गर्ने गरेको सोलुखुम्बु चौलाखर्कका डवल बहादुर कार्कीले आरोप लगाए। पीडितहरुका तर्फबाट लिखु पिके गाउपालिकाका शुभराम बस्नेतले विस्तृत परियोजना प्रतिबेदन अनुसार–सडक निर्माण गरिनु पर्ने, आयोजनाका कारण जोखिममा परेका बस्तीलाई सुरक्षित गरिनु पर्ने, त्यहाँ काम गर्ने कर्मचारीहरुको व्यवहार र बोलीचाली सभ्य हुनुपर्नेे, इजाजत नभएका विदेशी कामदार हटाइनु पर्ने, स्थानीयलाई काममा प्राथमिकता दिनु पर्ने र स्थानीय क बर्गका ठेकेदारलाई वेवास्ता गरि त्यस भन्दा तल्लो बर्गको ठेकेदारलाई काम दिएको आरोप लगाउदै २२ बुदे माग सहित सम्बोधन गर्न आयोजनासँग लिखित पत्र पेश गरेका छन्।
नेपाली कांग्रेस लिखुपिके गाउपालिकाका उद्धबप्रसाद सुवेदीले समेत आयोजनामा लिखित रुपमा १४ बुदे ध्यानाकर्षण पत्र बुझाएका थिए। यता आयोजनाका सल्लाहकार अध्यक्ष डिल्लीराम गिरीले आयोजना संचालनका दौरानमा गल्ती तथ कमीकमजोरीहरु भए पनि आगामी दिनमा सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने–“आयोजना निर्माण का क्रममा देखा परेका समस्या समाधानका लागि हामी जतिखेर पनि तयार छौ। उनले प्रमाण सहित आउन र कानुनी रुपमा अघि बढन सबैमा आग्रह गर्दछु। प्रभावितबाट आएका गुनासाहरु सम्बोधन हुने छ।”
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले आयोजना प्रभावित स्थानीयहरुबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न तत्कालै जिल्ला तहबाट आवश्यक छानविन गरी निकास दिने बताए।