कैलालीको बर्दगोरीया गाउँपालिका–६ घैलाखोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
गएराति से १ प ७३६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दगोरीया गाउँपालिका–५ बेलुवाका ३५ वर्षीय चेतराम डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि बसेकी उनकी श्रीमती ३४ वर्षीय सोनिया डगौरा भने घाइते भएकी छिन्।
चेतरामको शव पोस्टमार्टमका लागि टिकापुर पठाइएको छ। घाइते भएकी सोनियालाई बर्दगोरीया अस्पताल प्रालिमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी निरीक्षक ध्रुबबहादुर विष्टले जानकारी दिए।