लमजुङको दोर्दीखोला करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाविरुद्ध स्थानीय आन्दोलित भएका छन्। निर्माणाधीन जलविद्युत आयोजनाहरु नियम विपरित सञ्चालन भएको भन्दै दोर्दी गाउँपालिकाभित्रका स्थानीयले आन्दोलन सुरु गरेका छन्।
जलविद्युत आयोजनाहरुले प्रष्ट रुपमा सार्वजनिक सुनुवाइ नगरेको, छरछिमेक कार्यक्रमको बजेट प्रभावित क्षेत्रमा खर्च नगरेको, कच्ची सडकमा क्षमताभन्दा बढी सवारी साधन आवातजवातका कारण धुलोधुवाँले स्थानीय दिनहुँ रोगी हुँदै गएको सरकारका प्रचलित नियम कानुन र अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धि विपरित सञ्चालन गर्दा स्थानीय जनताको अधिकार लुटिएको भन्दै दोर्दी गाउँपालिकाको केन्द्र नौथरको शेराबजारमा शनिबार दिनभर हाइड्रोका सवारी साधन बन्द गरिएको थियो।
दैनिक ८०-९० वटा मालवहाक ट्रक, ट्रिपर, ट्याक्टर, जीप लगायतका सवारी साधन आवाजवातले धुलो धुवाँ घरभित्र सिधै आउने हुँदा दैनिक खानपानमा प्रत्यक्ष असर परेको छ। स्कुले बालबालिका स्कुल जान आउन निकै कठिन भएको दोर्दी गाउँपालिका–४ का स्थानीय बखनसिंह गुरुङले बताए। उनले भने,‘हाइड्रो बनाऊ, जनतालाई रोगी नबाऊ।’
जलविद्युत आयोजनासँग पटक–पटक माग गरेपनि कुनै सम्बोधन हुन सकेको छैन। दोर्दी गाउँपालिका प्रत्यक्ष प्रभावित क्षेत्र भएपनि हालसम्म छरछिमेक बजेट नदिएको दोर्दी गाउँपालिका–४ का स्थानीय जीवनराज पाण्डेले बताए। जलविद्युत आयोजनावाट प्रत्यक्ष प्रभावित क्षेत्रको मागलाई बेवास्था गरे दोर्दी करिडोरमा निर्माणधीन जलविद्युत आयोजनालाई बन्द गर्न बाध्य हुने स्थानीयहरु बताउँछन्।
नियमित रुपमा सडकमा पानी हाल्ने, छरछिमेक बजेट आउँदो १५ गते मंगलबार स्थानीय, जनप्रतिनिधि, सरोकार समितिसँग बैठक बसी सार्वजनिक गरिने हाइड्रो सञ्चालकहरु बताउँछन्। सुपर दोर्दी ‘ख’ ५४ मेगावाट, दोर्दी खोला जलविद्युत आयोजना २५ मेगावाट, हिमालयन पावर पार्टनर २७ मेगावाट र दोर्दी एक १२ मेगावाट गरी दोर्दी करिडोरमा चार वटा जलविद्युत आयोजना निर्माणधीन अवस्थामा रहेका छन्।