हिमपातले डेढ महिनादेखि अवरुद्ध विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । पदमार्ग खुलेसँगै बाह्य पर्यटकहरु बढ्न थालेपछि यातायात व्यवसायी र होटल व्यवसायीहरुले राहत महसुश गर्न थालेका छन् ।
लामो समयको अन्तरालपछि विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रिन थालेका छन् । डेढ महिनादेखि पर्यटक आगमन शून्य जस्तै देखिएको पदमार्गको बाटो खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।
गत माघ ९ गतेदेखि परेको हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गको मनाङस्थित दानाक्युदेखि मुस्ताङको मुक्तिनाथसम्म बाटो अवरुद्ध थियो । अबरुद्ध बाटो खुलेसँगै यातायात व्यवसायी र पदमार्ग अन्तर्गतका होटल व्यवसायीहरुले राहत महशुस गर्न थालेका छन् । बेसीशहर नपा–७ का होटल व्यवसायी तथा यातयात व्यवसायी किशोर कुमार बस्नेत बताए ।
हिमपातले अबरुद्ध बाटो खुलेसँगै अहिले मनाङबाट थोराङला (५,४१६ मि. उचाई) पास गरेर पर्यटक जान थालेका छन् । हिमपातका कारण डेढ महिनासम्म पर्यटकले थोराङला पास गरेका थिएनन् । पदमार्गमा पर्यटक नआउँदा होटल व्यवसायी र यातायात व्यवसायीहरुलाई ठूलो मार परेको थियो । हिमपात रोकिएको र पर्यटकीय सिजन शुरु भएकाले अहिले पदमार्गमा दैनिक ५० देखी ६० जनासम्म बाह्य पर्यटक भित्र्ने गरेको र पर्यटक बढ्ने क्रम जारी रहेको पर्यटक चेकजाँच केन्द्र टिम्स चेकपोष्टरका कर्मचारी मिना गुरुङ बताइन् ।
विगतमा हिमापातका कारण पदमार्गमा ७ फीटसम्म हिउँ जमेकाले सयौं पर्यटक बिच बाटोबाटै फर्किएका थिए । पछिल्लो एकसाताको अवधिमा मात्रै ५ सय बढी पर्यटक पर्यटक मनाङ भित्रिएको चेकपोष्टको तथ्याङ्कले देखाएको छ । लमजुङको बेसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुंग्याउने गरेका छन् ।