कर्णाली प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रको तस्विर बेचेरै यहाँका एक युवा चित्रकारले लाखौं आम्दानी गर्न सफल भएका छन् । वीरेन्द्रनगरका युवा चित्रकार सुभास शाक्यले यहाँका पर्यटकीय क्षेत्रको पेन्टिङबाट लाखौं आम्दानी गर्न सफल भएका हुन् ।
शाक्यले मुगुको रारा ताल, सुर्खेतको बुलबुले ताल, देउती बज्यै, काँक्रेविहार, दैलेखको ज्वालालगायतका महत्वपूर्ण पर्यटकीय क्षेत्रको चित्रहरु बनाउँदै विक्री गरेका छन् । न्यूनतम पाँच हजारदेखि १५ हजारसम्ममा उनले ती चित्र विक्री गरेका छन् । गत फागुन महिनामा प्रदेश सरकारले प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर सुर्खेत तोकेसंगै पर्यटकीय क्षेत्रको चित्रको माग बढेको उनले बताए । बैशाख महिनादेखि दसैंतिहारसम्म उनले चार लाख बढी मूल्यका झण्डै ६५ वटा चित्र बनाएर बिक्री गरेका छन् । ती चित्र धेरैजसो पर्यटकीय स्थलका छन् ।
तैलचित्र, पानी चित्र र एक्रेलिक चित्रबाट ती क्षेत्रको पेन्टिङ गर्ने गरिएको छ । कर्णाली प्रदेशमा मुलुककै सवैभन्दा राम्रा र महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकोले आफूले त्यसको पेन्टिङ गर्न सुरु गरेको उनले बताए । अझै पनि त्यस्ता चित्रको माग रहेको भन्दै उनले बनाउने काम पनि जारी राखेको उल्लेख गरे । सरकारी तथा गैरसरकारी संघसंस्था, होटलहरुले यस्ता चित्रहरुको माग बढी गर्ने गरेका छन् ।
पर्यटकीय क्ष्ोत्रका साथसाथै दिवंगत आफन्तको व्यक्ति चित्र, वातावरणीय सचेतना र विद्यार्थीलाई अध्ययनमा रुची जगाउने चित्रको पनि माग बढेको शाक्यले बताए । फ्लेक्स प्रिन्टको बाढी आएपनि यस्ता चित्र रङ उड्ने, टिकाउ नहुने हुँदा चित्रप्रेमीहरु पेन्टिङमै आकर्षित भएको आपूmले पाएको उनले जनाए । अझै घरका भित्ता सजाउने काम पनि पेन्टिङबाटै गर्ने कामको सुरुवात पनि सुर्खेतमा भइसकेको छ । विगतमा पेन्टिङमा बेवास्ता गरिएकोमा अहिले भने यसतर्फ सवैको आकर्षण बढेको शाक्यले बताए ।
त्यसो त सुर्खेतमा पेन्टिङ गर्नेको संख्या औंलामा गन्नसक्ने मात्रै छन् । शाक्यलाई शहीदहरुको तस्वीर बनाउन मन छ । विशेषगरी कर्णाली प्रदेश प्राप्तिको लडाईमा ज्यान गुमाएका चार शहीदको तस्वीर बनाउने तयारी गरिरहेको उनले बताए । २०४७ सालदेखि नेपालगन्ज र २०५२ सालदेखि सुर्खेतमा पेन्टिङ गर्न सुरु गरेका शाक्यले २०६० देखि २०६४ सम्म काठमाडौंमा बसेर चित्रकलाबारे थप सीप सिके । अहिले सुर्खेतमा धमाधम चित्र बनाइरहेका छन् ।