गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार अर्थात (नयाँ वर्ष) धुमधामका साथ मनाइएको छ । बौद्ध एवंम बोन धर्म अन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्वको रुपमा लिइने ल्होसार लमजुङका गुरुङ बस्ती भएका विभिन्न गाउँमा विशेष रौनकका साथ मनाइएकाे छ।
गुरुङ समुदायले मान्दै आएको पात्रो अनुसार खि ल्हो अर्थात (कुकुर वर्ग) लाई बिदाइ गरी फो ल्हो अर्थात (मृग वर्ग)लाई स्वागत गर्दै यस वर्षको तमु ल्होसार मनाइयाे। ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ। प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरि ल्होसार मनाउने गरिएको तमू ह्युला छोज धिँ जिल्ला कार्य समिति लमजुङका संगठन सचिव गणेश गुरुङले बताए।
ल्होसारको अवसरमा जिल्लाका विभिन्न गाउँमा विविध साँस्कृतिक कार्यक्रम र प्रतियोगिता, शुभकामना तथा स्योकै खाने कार्यक्रम आयोजना गरिएका छन् । सदरमुकाम बेसीशहर सहित जिल्लाका भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ, सिउरुङ, ढंगै, राइनास, पाचोक, इलमपोखरी, सुन्दरबजार लगायतका गाउँमा धुमधामका साथ ल्होसार मनाउने गरिन्छ।
ल्होसारको अवसरमा रोधी बस्ने, परम्परागत संस्कृति प्रदर्शन गर्ने तथा एकसाथ भोज खाने (स्योकैँ) गर्ने गर्दछन्। ल्होसार मनाउन घर बाहिर रहेकाहरु पनि आफ्नो गाउँघर फर्किएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङमा पहिले पहिले गाउँघर तिर मात्र ल्होसार मनाउने गरिन्थ्यो, भने पछिल्लो समय बजार तिर पनि केन्द्रित हुन थालेको तमु ह्युला छोज धिँ गण्डकी प्रदेशका सचिव पद्मा गुरुङले बताइन्।
प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गाई , बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र मृगको प्रतीकका रूपमा लिइन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोग(भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाउने तमू प्ये ल्हु संघ युवा समिति लमजुङका अध्यक्ष शेष गुरुङले बताए।
ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन्। नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिले मनाउने गर्छन्।