कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा पठाउने सामान (कार्गो) प्रशस्त पाउन थालेपछि सुर्खेत विमानस्थलमा यतिबेला जहाजको चहलपहल बढेको छ।
यात्रुभन्दा कार्गो बढी पाउन थालेपछि जहाजहरुले धमाधम कार्गो बोक्न थालेका छन्। जहाजहरुले अहिले कार्गोसहित दैनिक करिब दुई दर्जन उडान गर्ने गरेका छन्। यही पुसदेखि दैनिक दुई दर्जन उडान गरिरहेको सुर्खेत नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ।
प्राधिकरण प्रमुख विनोदकुमार पन्तले सीता, समीट, तारा र मकालु एयरका १० वटा जहाजले दैनिक हिमाली जिल्लाहरुमा नियमित उडान गरिरहेको जानकारी दिए। उनका अनुसार विमानले दैनिक १० हजार केजीदेखि १७ हजार केजीसम्म कार्गो ढुवानी गरिरहेका छन्। कार्गोमा धेरैजसो विकास निर्माणका सामान छन्। दैनिक दुई दर्जन उडानले यतिबेला सुर्खेत विमानस्थललाई भ्याइनभ्याई छ।
तराईमा लाग्ने बाक्लो हुस्सुले उडान अवरुद्ध हुन थालेको छ । तर सुर्खेत विमानस्थल भने त्यसबाट मुक्त छ। नेपालगन्ज र धनगढी विमानस्थलमा बाक्लो हुस्सु र शीतलहरले उडान प्रभावित भइरहने तर सुर्खेत विमानस्थलमा त्यो समस्या नरहेको प्राधिकरण प्रमुख विनोदकुमार पन्तले जनाए। उनले सुर्खेतमा मौसमले पनि साथ दिने हुँदा अव हिउँदको महिनामा सुर्खेत विमानस्थलमा चाप अझ बढ्न सक्ने अनुमान गरे।