पछिल्लो समय रेष्टुरेष्ट, होटल, होमस्टेहरुमा निकै चर्चित महङ्गो खाना हो ढिँडो र गुन्द्रुक। बाह्यमात्र होइन, आन्तरिक पर्यटकले समेत खोजीखोजी ढिँडो खाने गरेका छन्।
तर पनि जहाँतहीँ ढिँडो भने पाइदैन। विशेषगरी गुरुङ, तामाङ, मगर लगायतका जातिको बसोबास रहेका गाउँमा ढिँडो पाइन्छ। पछिल्लो समय कतिपय तारे होटलमा पनि यो खाना महंगोमा विक्री हुन्छ। जसले गर्दा ढिँडोे ‘सेलिब्रेटी’ खाना बन्दै गएको छ। स्वास्थ्यका लागि समेत राम्रो मानिने ढिँडोे नेपाली परिकार हो। गाउँदेखि शहरमा यसले उच्चस्तरको सम्मान पाउँदै गएको महसुस हुन थालेको छ।
नेपालमा करिब १० बर्षअघि ढिँडो र गुन्द्रुक खाने परिवार गरीवमा दर्ज हुन्थे। अर्थात् यो हेपिएको परिकार मानिन्थ्यो। तर अहिले विस्तारै शहरका धनीवर्गको रोजाइमा समेत पर्न थालेको छ, ढिँडो। घरमा पाहुुना आउँदा ढिँडो लुकाएर चामलको भात देखाउने चलन थियो। तर अहिले ठीक उल्टो भएको छ। महंगो पैसा तिर्दा पनि ढिँडो पाउन गाह्रो भएको दुधपोखरी गाउँपालिका– ६ कालीमाटीका जितबहादुर गुरुङले बताए। उनले भने ‘गाउँमा धानको खेती भए पनि विहान बेलुकी ढिँडोकै भरपर्ने थियो। पहिले गाउँमा त्यै ढिँडो लत्याइयो, अहिले मीठो मानी महंगोमा किनेर खानुपर्ने अवस्था छ।’
कोदो र फापर वढी मात्रामा पहाडी भूभागमा उब्जनी हुन्छ। विशेषगरी कोदो, फापर, मकै र गहुँको पिठोबाट बनाइने ढिँडो आफ्नो इच्छा अनुसारको तरकारीसँग खाने चलन छ। लमजुङका पर्यटकीय गाउँ ढिँडोेको लागि प्रख्यात मानिन्छ। विदेशी र स्वदेशी पर्यटकको पहिलो रोजाई नै ढिँडो, लोकल कुखुराको मासु, गुन्द्रुक भएको मस्र्याङ्दी गापा– ३ सिउँरुङका होमस्टे सञ्चालक बनमाया गुरुङले बताइन्। उनी भन्छन् ‘पछिल्लो समय युवाहरु सबै विदेश पालायन भएसँगै कोदोको खेती गर्न पनि छाडिन थालेको छ, अवको केही समयपछि ढिँडो लोप हुदैँ जानेछ।’
मधुमेह, उच्च रक्तचाप तथा युरिक एसिडका विरामीले ढिँडो खादा स्वास्थ्यमा फाइदा पुुग्ने विज्ञहरु बताउँछन्। धानको भात खानालाई कुनै चाडपर्व एवं भोजभतेर कुर्नु पथ्र्या, अहिल भने ढिँडो खोज्न होमस्टे, महङ्गा होटल जानुपर्ने अवस्था आएको छ। पहिले बाध्यता थियो अहिले रहर भएको बेसीशहर नपा–१० देउजनथोकका मैना कुमारी गुरुङले बताइन्।
पानी उमालेर विस्तारै हालिएको पिठोलाई राम्रोसँग चलाएर त्यहाँ भएको डल्ला फुटाएपछि ढिँडो पाक्छ। पकाउन खासै झन्झट पनि छैन। कुनै बेला किसानले गाउँमा पेट भर्न ढिँडोको भर पर्नुपथ्र्यो। विस्तारै चामल पुग्न थालेपछि गाउँबाट ढिँडो विस्थापित हुन थालेको हो।