लमजुङको व्होलासोथर गाउँपालिका–९ छापागाउँस्थित एक पसलबाट पैसाको बाकस चोरेर भाग्दै गर्दा भीरबाट लडेर दुर्इजनाकाे मृत्यु भएको छ।
छापागाउँस्थित मरिचमान गुरुङको पसलबाट पैसा चोरेर भाग्दै गर्दा मध्यनेपाल नगरपालिका–८ करापु भीरबाट लडेर पर्वतका अन्दाजी २२ वर्षीय चन्दन सुनारकाे मृत्यु भएकाे हाे। अर्का मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। उनीहरु भीरबाट करिब दुई सय मिटर तल खसेका थिए।
घटना शुक्रबार राति २ बजे घटेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। चोरीमा संलग्नमध्ये छापागाउँकै ३० वर्षीय बुद्धिबहादुर गुरुङलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।