पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँको डुम्रे र लमजुङको बेसीशहर पुग्ने सडकखण्ड ४२ किलोमिटर मात्र छ। राजमार्गबाट लमजुङ हुँदै मनाङ जोड्ने एकमात्र कालोपत्रे सडक मार्ग पनि हो।
डुम्रे–बेसिशहर सडकखण्डमा दैनिक ५ सयको हारहारीमा सवारी साधनहरु ओहोरदोहोर गर्दछन्। तर, सडकको उचित मर्मत र विस्तार नहुँदा यात्रुहरु निकै जोखिमपूूर्ण यात्रा गर्न बाध्य छन्। एक लेनको यो सडक ठाउँ–ठाउँमा भत्किएको छ भने खाल्डाखुल्डीका कारण सवारी चलाउन समस्या भएको पोखरा–बेसिशहर माइक्रो चलाउने चालक राजेश श्रेष्ठले बताए।
सदरमुकाम बेसीशहर, उदिपुर, भोटेओडार, पाउँदी लगायतका विभिन्न स्थानमा सडकको अवस्था निकै दयनीय बनेको छ। सडक मर्मत तथा स्तरोन्नतिका लागि कुनै कदम नचालेको प्रति स्थानीय आक्रोशित बनेका छन्।
कालोपत्रे उप्किएर सडकको बीच भागमा खाल्डाखुल्डी पर्दै गएका छन्। सम्बन्धित निकायले समयमै चासो नदेखाउँदा सडक जीर्ण हुँदै गएको छ। सडकको विच भागमा भएको खाल्डा खुल्डीमा माटो हाल्दै सवारी साधन गुडाउन बाध्य भएको लाली गुराँस बोर्डिङ स्कुल सुन्दर बजारका स्कुल बस चालक प्रकाशले बताए।
अन्नपूर्ण पदमार्ग प्रवेश द्वारसमेत रहेको यस जिल्लामा दैनिक रुपमा आउने पर्यटकले निकै सास्ती खेप्नु परेको छ। सडक मर्मतका लागि गत वर्षमा नयाँ बाटो निर्माण सेवा पोखरासँग सझौता गरी ठेकदारलाई जिम्मा दिएपनि सझौता अनुसार काम हुन सकेको छैन। सवारी साधनको बढ्दो चापसँगै धेरै लोड भएका हाईड्रो कम्पनीका सावारी साधनले गर्दा सडक छिटै बिग्रिएको सडक डिभिजन दमौलीका इन्जिनियर गौतम श्रेष्ठले बताए।
पहाडी जिल्ला लमजुङलाई विश्व प्रसिद्ध चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मानिन्छ। यही जिल्ला हुँदै दैनिक सयौंको संख्यामा विदेशी पर्यटकहरु पदमार्गमा निस्कन्छन्। पर्यटकीय क्षेत्रका रुपमा विख्यात लमजुङलाई सडक मार्गले भने ओझेलमा पारेको छ। यतिबेला जिल्ला भित्रिने एकमात्र डुम्रे–बेसीशहर सडकखण्ड पनि क्षतविक्षत अवस्थामा पुगेको छ। तर, यसको स्तरोन्नतिमा कुनै निकायले चासो दिएका छैनन्।